१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता जिल्लातिर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय नेता स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन जिल्लामा खटिएका छन्। आइतबार हुने निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समितिको निर्णयअनुसार सबै केन्द्रीय सदस्य पहिलो चरणको निर्वाचन हुने ३४ जिल्लामा पुगेका हुन्। उनीहरुलाई चुनाव सम्पन्न नहुन्जेल सम्बन्धित जिल्लामै रहेर सहयोग गर्न पार्टीले निर्देशन दिएका छन्। पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लामा ३५ नेतालाई खटाएको कांग्रेसले काठमाडौंबाहेकका जिल्लामा एकएक केन्द्रीय सदस्य खटाएको छ।

कांग्रेसले पहिलो चरणमा निर्वाचनमा पार्टीको पक्षमा चुनावी लहर आएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले पार्टीले चुनाव जित्ने दाबी गरे। 'कांग्रेसका सबै तहका नेता अत्यन्त क्रियाशीलतापूर्वक निर्वाचनमा खटिइरहेका छन्,' लेखकले भने, 'पार्टी तलदेखि माथिसम्म एक ढिक्का भएर लागेको छ।'

कांग्रेसले संविधानसभाबाट जारी भएको नयाँ संविधानप्रति सबैको स्वामित्व स्थापित गराउन सरकार र सत्तारुढ दल सक्रिय रहेको जनाएको छ। संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजान कांग्रेसले सुरुदेखि नै पहल गरेको दाबी गर्दै लेखकले भने, 'तराई–मधेस, पहाड, हिमालसहित देशको सबै भागमा बस्नेको भावना समेट्न सकियोस् भनेर नै संशोधनद्वारा सुधार गर्न खोजेका हौं। हामी त्यसका लागि सक्रिय छौं।'

असन्तुष्ट पक्षलाई समेटर सबैको स्वामित्व स्थापित गर्दै संविधान कार्यान्वयनका लागि संशोधनलाई छिटो टुंगोमा पुर्‍याउने लेखकले दाबी गरे।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा विचाराधीन महाभियोगका विषयमा पहिलो चरणको निर्वाचनपछि टुंगोमा पुग्ने उनले बताए। 'अहिले हाम्रो सम्पूर्ण ध्यान र बल निर्वाचनमा केन्द्रित छ,' लेखकले भने, 'निर्वाचनपछि संविधानसम्मत ढंगले निष्कर्षमा पुग्नेछौं।'

कांग्रेस विधिको शासन र कानुनी राज्यको पक्षमा दृढ रहेको दाबी गर्दै उनले भने, 'सर्वोच्चका केही फैसला र आदेशले कार्यपालिका र व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको हामीले महसुस गरेका छौं।'

प्रकाशित: २६ वैशाख २०७४ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App