८ वैशाख २०८१ शनिबार
राजनीति

गोकर्णेश्वर र शंखरापुरमा मेयरका अजेन्डा

काठमाडौं- राजधानीमै भएर पनि विकासका हिसाबले पछाडि परेका नगरपालिका हुन् गोकर्णेश्वर र शंखरापुर। स्थानीय चुनावमा मेयरका उम्मेदवारहरूले नगरवासीले भोग्दै आएका समस्या र नगरको विकासलाई प्रमुख अजेन्डा बनाएका छन्। उनीहरूले नगरको समृद्धि, रोजगारी, पर्यटन विकास, सुशासन, शिक्षा, स्वास्थ्य लगायतलाई आफ्नो अजेन्डामा समेटेका छन्।

यी नगरपालिकामा चार ठूला पार्टीका मेयरका उम्मेदवारका अजेन्डा उनीहरूकै शब्दमा : 

गोकर्णेश्वर नगरपालिका

पर्यटन र पूर्वाधार विकास

सन्तोष चालिसे, कांग्रेस

नगरपालिकाभित्र शान्तिसुरक्षा कायम गर्नु मेरो पहिलो अजेन्डा हो। फोहोरमैला व्यवस्थापन गरी र नगरको वातावरण सुधार गर्ने, घरघरमा रोजगारी, महिलाका लागि आयमूलक र सीपमूलक कार्यक्रम ल्याउनेछु। शिवपुरी तारेभीर, गोकर्णेश्वर, उत्तरबाहिनी, सुन्दरीजललगायत क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी पर्यटन विस्तार गर्ने अर्को प्रमुख योजना बनाएको छु। पर्यटन विकासबाट यस क्षेत्रको जीवनस्तरमा स्वतः सुधार हुनेछ। त्यस्तै, ढल, ग्रामीण क्षेत्रमा सडक निर्माण र भएका सडकको सुधार, बागमतीको सुधार, पार्कहरू निर्माणलगायत योजना पनि छन्।

मेरा यी अजेन्डा कार्यान्वयन गर्न कठिन छैन। म तत्कालीन गाविस उपाध्यक्ष र दुईचोटि वडा अध्यक्ष भएर काम गरिसकेकाले समस्याबारे धेरै जानकार छु। राजनीतिक, सामाजिक र विकास निर्माण कार्यमा ३५ वर्षदेखि सक्रिय भएकाले र जनताले पुनः विश्वास गर्नेमा विश्वस्त छु।

 

देशकै नमुना नगर बनाउँछु 

पुण्यप्रसाद चौलागार्इं, एमाले

जैविक विविधताले भरिपूर्ण गोकर्णेश्वरलाई पाँच वर्षमा देशकै नमुना नगरपालिकाका रूपमा विकास गर्ने योजना छ। पाँच वर्षभित्र नगरलाई समृद्ध बनाउने योजना बनाएको छु। यो नगरलाई भौतिक, वातावरणीय र पूर्वाधारका हिसाबले विकसित बनाउनेछु। हाम्रो पार्टी नेतृत्वको सरकारले सुरु गरेको बागमती वारिपरिका बस्तीलाई स्याटलाइट बस्तीका रूपमा विकास गर्ने अभियान पूरा गर्नेछु। सडक विस्तार, बस्ती विकास, खेलकुद संरचनाहरूको विकास गर्ने, सुन्दरीजललाई पर्यटकीय क्षेत्र बनाउने, तारेभीरमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरी लागू गर्ने योजनालाई पनि प्राथमिकतामा राखेको छु। जनमुखी प्रशासन र सुशासन कायम गर्नेछु। चुनाव जिते नगरको विकास र जनताको समस्या सम्बोधन गर्न दृढतासाथ लाग्नेछु। 

रेलमार्ग र केबुलकार सञ्चालन

टिआर नेपाल, माओवादी केन्द्र

हाम्रो पार्टीले विकास र रोजगारलाई मुख्य अजेन्डा बनाएको छ। नगरपालिकामा हुनुपर्ने विकासका पूर्वाधार सडक, बत्ती, ढल, खानेपानी, स्वास्थ्य संस्थालगायतको अभाव छ। नगर र नगरवासीको आर्थिक स्तर कमजोर छ। यी समस्या सम्बोधन गर्ने योजना बनाएको छु।

पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रशस्त सम्भावना भएर पनि ओझेलमा पर्दै आएको गोकर्णेश्वरलाई पर्यटकीय नगर बनाउने मेरो योजना छ। यसका लागि शिवपुरीमा भ्युटावर निर्माण, तारेभीरमा शिव र बुद्धको मूर्ति स्थापना, सुन्दरीजल–मुलखर्क केबुलकार बनाउने र सहिदपार्कबाट नगरकोटी बस्ती, बालुवाघट्ट, तारेभीर हुँदै सुन्दरीजलसम्म रेलमार्गको अध्ययन गरी कार्यान्वयन गर्नेछु। होमस्टे, क्लाइम्बिङ लगायतबाट जनताको आय आर्जन बढाउनेछु। अव्यवस्थित बस्ती व्यवस्थापन, आधुनिक कृषि प्रविधिको विकास गर्ने र नगरमा आधुनिक अस्पताल स्थापना गर्ने  योजनामा समेटेको छु।

सामाजिक र विकास निर्माण क्षेत्रमा गर्दै आएको सहयोगका कारण मैले नगरवासीको विश्वास जितेको छु।

भ्रष्टाचारमुक्त समाज निर्माण

श्याम श्रेष्ठ, राप्रपा

भ्रष्टाचार, आर्थिक–प्रशासनिक अनियमितता र घूसतन्त्र नियन्त्रण गरेर सुशासन कायम गर्ने मेरो मुख्य अजेन्डा छ। रोजगारीको अवसर सिर्जना गर्न ठूला लगानी र कम्तीमा १० जनाभन्दा बढीलाई रोजगारी दिने कम्पनीलाई १० वर्षसम्म कर छुट दिने व्यवस्था गर्नेछु। सडकलगायत विकासका पूर्वाधार निर्माण, कृषि, पर्यटन प्रवर्द्धन र सामाजिक न्यायका लागि समेत विशेष योजना बनाएर कार्यान्वयन गर्नेछु। यसपटक हाम्रो पार्टीको नीतिअनुसार घरदैलो अभियान गर्दैनौं, सडकबाटै चुनावी प्रचार गर्छौं। चुनावका लागि मात्र घरघरमा पुग्ने तर चुनावपछि फर्केर नजाने संस्कारको अन्त्य गर्न यस्तो नीति लिइएको हो। हामी भोटको लागि मात्र हैन साँच्चिकै विकास लिएर जनतामा जान्छौं। हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्स्थाना गर्ने हाम्रो पार्टीको अजेन्डा स्थापित गर्न र यस क्षेत्रमा परिचित भएकाले पनि म चुनाव जित्नेमा विश्वस्त छु।

 

शंखरापुर नगरपालिका

युवा पलायन रोक्न स्वरोजगार

शंकर तिवारी, कांग्रेस

म युवाका मुद्दा लिएर आएको छु। युवाको प्रतिनिधित्व अरू कुनै दलले गर्न सकेका छैनन् । युवा स्वरोजगार र आय आर्जनका कार्यक्रम ल्याई विदेश पलायन रोक्ने मेरो मुख्य योजना छ। त्यससँगै भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक एवं पौराणिक सहरका रूपमा परिचित साँखुको पुनर्निर्माण गर्ने, कलात्मक घर, मठमन्दिर जगेर्ना गरी सम्पदा सहरका रूपमा विकास गर्ने योजना छ। विकट बस्तीमा खानेपानी, बाटोघाटो र भौतिक पूर्वाधार विकास गर्ने, पकेट क्षेत्र विकास गर्ने, नाङ्लेभारेमा व्यावसायिक खेती र पशुपालनको विकास गर्नेलगायत योजनालाई प्राथमिकतामा राखेको छु।

जर्सिङपौवालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न ट्रेकिङ रुट बनाउने छु। गणेशमान स्मृति पार्कलाई मेरै नेतृत्वमा गुरुयोजना बनाएर विकास गर्ने काम भइरहेको छ। सालीनदी, बज्रयोगिनीलगायत देवस्थललाई जोड्ने सडक निर्माण गरी धार्मिक र कृषि पर्यटनको विकास गर्नेछु। यिनै अजेन्डा हेरेर जनताले मलाई मत दिनेमा विश्वस्त छु।

वडावडामामा स्वास्थ्य केन्द्र

सुवर्ण श्रेष्ठ, एमाले

म 'शंखरापुर नगरपालिकालाई समृद्ध बनाऔं' भन्ने नारा कार्यान्वयन गर्ने योजनाका साथ आएको छु। साँखुको पुरानो बस्तीलाई संरक्षण गर्ने मुख्य योजना छ। सहरीकरण व्यवस्थित रूपमा गर्ने, नाङ्लेभारी, लप्सेफेदीलगायत विकट क्षेत्रमा सडक सञ्जाल पुर्‍याउने, गुणस्तरीय शिक्षाका लागि विद्यालय स्तरोन्नति, प्रत्येक वडामा स्वास्थ्य केन्द्र, नगरमा सुविधासम्पन्न अस्पताल स्थापना गर्नेलगायत योजना छन्। दलित, महिला, जनजाति तथा विपन्न वर्गको उत्थानमा विशेष कार्यक्रम ल्याउनेछु।

जर्सिङपौवा, मणिचुड, सालीनदीलगायतमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास गर्नेछु। होमस्टे र यहाँका स्रोत परिचालन गरी आय र रोजगारीका अवसर सिर्जना गर्ने, जथाभाबी बालुवा, माटो निकाल्ने काम नियन्त्रण गर्ने र हरियाली कायम राख्ने कामलाई पनि प्राथमिकतामा राखेको छु। यसअघि गाविस अध्यक्ष भएर लोकप्रिय काम गरेको र जनताको घरघरमा पुगेर विकास निर्माणमा नेतृत्व लिएका कारण यसपटक पनि नगरको नेतृत्व पाउनेमा पूर्ण विश्वस्त छु।

सडक सञ्जाल विस्तार

कृष्णराज सुवेदी, माओवादी केन्द्र

आर्थिक र सामाजिक विकासमार्फत शंखरापुरवासीको समृद्धिका लागि काम गर्ने योजना ल्याएको छु। पौराणिक सहरका रूपमा परिचित साँखुको परिचयलाई जीवित राख्दै थप विकासका कार्यक्रम बनाएर कार्यान्वयन गर्नेछु। कृषि र धार्मिक पर्यटनलाई जोडेर समग्र विकास गर्ने योजना छ। पाँच वर्षमा प्रत्येक वडामा मुख्य सडक पिच गर्ने र सडक सञ्जाल विस्तार, खानेपानी समस्या समाधान, प्राकृतिक सम्पदा संरक्षण, वन व्यवस्थापन, खेलकुद मैदान निर्माण, शिक्षा, स्वास्थ्यलगायत जनसरोकारका विषयमा प्रभावकारी कार्यक्रम कार्यान्वयनमा ल्याउन दृढताका साथ लाग्नेछु।

परिवर्तन र विकासमा मैले पुर्‍याएको योगदानबाट  जनताको विश्वास जितेको छु। सिंहदरबारको अधिकार घरघरमा पुर्‍याउने पार्टीको अजेन्डाका कारण जनताको मत पाउने विश्वास छ।

 

सिल्क रोड साँखुबाट

मिजेन्द्रकाजी श्रेष्ठ, राप्रपा

हामी 'हामी सक्छौं हामी गर्छौं, शंखरापुरका लागि' भन्ने नारा लिएर चुनावमा आएका छौं। भ्रष्टाचारमुक्त नगरपालिका निर्माणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै संविधानले दिएका अधिकार कार्यान्वयन गराउनेछु। साँखुसँग इतिहास जोडिएको चीनको ल्हासासँग भगिनी सम्बन्ध स्थापना गर्ने, सिल्क रोडको परिकल्पना साँखुबाट सुरु गर्ने, खानेपानी समस्या समाधान, फोहोरमैला व्यवस्थापनलगायत योजना ल्याएको छु। मैले ०५४ मा जिल्ला विकास समितिको सदस्य भएर काम गरिसकेको छु। खेलकुद, शैक्षिकलगायत अन्य सामाजिक र विकासका कार्यमा पनि मैले इमानदारीसाथ काम गरेको छु। यसकारण जनताले मलाई विश्वास गर्नेमा ढुक्क छु।

प्रकाशित: २६ वैशाख २०७४ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App