८ वैशाख २०८१ शनिबार
राजनीति

टहरोमा फहराउँदै दलीय झन्डा

सिन्धुपाल्चोक- भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका उम्मेदवारले पुनर्निर्माणलाई मुख्य चुनावी नारा बनाएका छन्। खण्डहरबाट अझै उठिनसकेको गाउँ, बस्ती ठड्याउने आश्वासन बाँडेर उनीहरू भूकम्पपीडित मतदाता आकर्षित गरिरहेका छन्।

भूकम्पको विनाशबाट एउटै बस्ती पनि सग्लो नरहेकाले सबै तहका उम्मेदवारको चुनावी नारामा पुनर्निर्माण परेको छ। तीन नगरपालिका र नौ गाउँपालिकाका प्रमुख, अध्यक्ष तथा अन्य उम्मेदवारले भूकम्पपछिको निर्माणलाई नै मुख्य अजेन्डा बनाएका छन्।

आफूले जित्दा मात्र पुनर्निर्माणले गति लिने दाबी उनीहरुले मतदातासँग गरिरहेका छन्। पुनर्निर्माणको दोस्रो र तेस्रो किस्ता फटाफट आउने वातावरण बनाउने र पीडितलाई नयाँ घरमा सारेर पुनर्निर्माण सम्पन्न गर्ने आश्वासन सबै उम्मेदवारले बाँडिरहेका छन्। प्राथमिक नारा पुनर्निर्माणलाई बनाएका उनीहरुले गाउँ, नगरको समृद्धि र आर्थिक विकासलाई दीर्घकालीन अजेन्डाको रुपमा अघि सारेका छन्।

अहिले उम्मेदवारहरु दुई हिउँद र बर्खा कष्टकर रुपमा टहरोमा बिताएका, दोस्रो किस्ता नआउँदा संरचना अलपत्र छाड्न बाध्य भएका पीडित मतदाताको सहानुभूति बटुल्न तल्लिन छन्। टहरो बिस्थापित गर्दै तत्काल नयाँ घर छिर्न चाहने पीडितको चाहना र सरकारी कमजोरी मतदातालाई आश्वासन बाँड्ने गतिलो हतियार बनेको छ।

चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरूले घरदैलो कार्यक्रम पनि तीव्र पारेका छन्। टहरोभित्रका दुःख र सास्ती बुझेका उम्मेदवारहरू भोट माग्दै पीडितका टहरामा पुगिरहेका छन्। उम्मेदवारहरु आफैं पनि टहरामा आश्रित छन्। विभिन्न दल सम्बद्ध पीडितका टहरोमै दलीय झण्डा र चुनावी चिह्न फहराएका छन्। उम्मेदवारका पोस्टर जस्ताको भित्तामा टाँसिएका छन्।

दलीय झण्डा र चुनावी प्रचार सामग्रीले रङ्गिएका टहरो देख्दा झन्डै दुई दशकपछि स्थानीय सरकार छान्न हुन गइरहेको चुनावले पीडितलाई धेरै उत्साही र आशावादी बनाएको छ।

दिनभर आ–आफ्ना र छिमेकीका घर बनाउन व्यस्त उनीहरू साँझ, बिहानको फुर्सदमा सम्बद्ध दलका उम्मेदवारलाई भोट माग्न गाउँ पनि डुलिरहेका छन्।

जिल्लाका मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारले पुनर्निर्माणलाई अजेन्डा बनाएका छन्। अन्य साना दल र स्वतन्त्र उम्मेदवार पनि यही नारा अघि सारेर मतदाता तानिरहेका छन्। एमालेबाट चौतारा–साँगाचोकगढी नगरपालिकाका मेयर उम्मेदवार सोम सापकोटा आफूले जितेमा एक वर्षभित्र नगरको पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता मतदातासँग गरेको बताउँछन्। 'पहिलो काम पुनर्निर्माण नै हो। आर्थिक, विकास र समृद्धिका काम सँगसँगै वा त्यसपछि गर्न सकिन्छ,' उनले भने।

यही नगरमा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार अमानसिँह तामाङ नगर नेतृत्वमा जो आए पनि पुनर्निर्माणले पहिलो प्राथमिकता पाउनुपर्ने बताउँछन्। 'मतदातालाई टहरोभित्रै राखेर समृद्धिको नारा दिनुको औचित्य छैन्,' उनले भने, 'जिम्मेवारी पाए तत्काल पुनर्निर्माण सम्पन्न गर्छु भनेर मतदातासँग बाचा गरेको छु।'

चौतारा नगरमा कांग्रेसबाट मेयर उम्मेदवार बनेका केशवराज गिरीको प्राथमिकता पनि पुनर्निर्माण नै रहेको छ। 'कांग्रेस गठबन्धकै सरकारले अनुदान बढाएर ३ लाख पुर्‍याएको हो। त्यसैले पुनर्निमाण पनि कांग्रेसबाट सम्भव छ,' उनी मतदातालाई आश्वस्त पारिरहेका छन्।

 एमालेबाट बाह्रबिसे नगरपालिका मेयरका उम्मेदवार निमफुन्जो शेर्पा पुनर्निर्माणले व्यवस्थित नगर बनाउने अवसर दिएको बताउँछन्। 'केही विकसित मुलुक भ्रमण गरेको छु। त्यहाँका केही उत्कृष्ट मोडेलअनुसार नगरको पुनर्निर्माण गर्छु,' उनले भने।

दोस्रो र तेस्रो किस्ता तत्काल पीडितको हातमा पार्दै पुनर्निर्माणलाई तीव्र बनाउने अजेन्डा बोकेर आफूले घरदैलो गरिरहेको सुनकोसी गाउँपालिकामा राप्रपाबाट अध्यक्ष उम्मेदवार बनेकी मुना पौडेल पराजुली बताउँछिन्। 'काठमाडौंबाट आएर टिकट लिएकाबाट यो काम हुँदैन। सधैं जनताको साथमा बस्ने नेताबाट मात्र पुनर्निर्माण सम्भव छ,' जिल्लामा दलका तर्फबाट एक्ली महिला प्रमुखको उम्मेदवार उनले भनिन्।

सुस्त पुनर्निर्माण

भूकम्पको दुई वर्ष पूरा भए पनि जिल्लाका अधिकांश पीडित अझै टहरोमै छन्। पुनर्निर्माणले पटक्कै गति लिन सकेको छैन। पुनर्निर्माणको गति हेर्दा आउँदो तेस्रो बर्खा पनि पीडित भलबाढी छिर्ने टहरोमा बस्नु बाध्य हुनेछन्।

भूकम्प गएको एक वर्षपछि थालिएको पुनर्निर्माण अभियानमा सरकारी अनुदानले एउटै पनि घर बनेनन्। सहरी विकास तथा भवन डिभिजन, जिल्ला कार्यान्वयन एकाइ प्रमुख डा. युवराज पौडेल भूकम्पबाट क्षतिग्रस्त ८ हजार घरको पुनर्निर्माण भइरहेको बताउँछन्। '१० प्रतिशत मात्र घर बनिरहेका छन्,' उनले भने। पुनर्निर्माणले गति लिन नसकेको उनले स्वीकारे।

डिभिजनका अनुसार जिल्लाका ७५ हजार १ सय लाभग्राहीसँग अनुदान सम्झौता हुँदा ७३ हजार २ सयले पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान लगेका छन्। अझै चार हजारसँग अनुदान सम्झौता नै हुन सकेको छैन भने सम्झौता गरेका करिब २ हजारले पहिलो किस्ता पाउन सकेका छैनन्। झण्डै १ हजार पीडितले मात्र दोस्रो किस्ता पाएका छन्।

 जिल्लाका भूमिहीन, सुकुम्बासी र गुठी जग्गामा बसोबास गर्ने पीडितले कहाँ घर बनाउने अन्योल छ। जोखिममा रहेका पाँच बस्ती अन्यत्र सार्न बिज्ञले सुझाए पनि स्थानान्तरणको खाका बन्न सकेको छैन।

यस्तो जटिल अवस्थामा हुन लागेको चुनावमा उम्मेदवारहरुले पुनर्निर्माणलाई मुख्य अजेन्डा बनाउनु स्वागातयोग्य भएको इन्जिनियर पौडेल बताउँछन्। 'यो चुनावले स्थानीय तहमा लामो रिक्तता पूर्ति गर्दै स्थानीय सरकार चयन गर्ने भएकाले आउने नेतृत्वले चाहेमा पुनर्निर्माणले गति लिन सक्छ,' उनले भने।

प्रकाशित: २६ वैशाख २०७४ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App