७ वैशाख २०८१ शुक्रबार
राजनीति

पैसावाललाई हातहातै 'टिकट'

नेपालगन्ज- रुकुम चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिन धेरै लागिपरेका थिए। तर, पार्टीले करिब एक महिनाअघि नेपाल बैंक लिमिटेडको जागिरबाट रिटायर्ड भएका बलवीर गोसाइँलाई टिकट दियो। 'आर्थिक रूपमा सशक्त हुनु र पार्टीका जिल्ला सभापतिसँग राम्रो सम्बन्ध भएकाले उहाँले टिकट पाउनुभयो,' कांग्रेसनिकट एक कार्यकर्ताले भने, 'पार्टीमा राजनीतिक लगानी गरेको भन्दा पनि चुनावमा आर्थिक लगानी गर्नसक्ने व्यक्तिलाई टपक्क टिप्दा इमानदार कार्यकर्ता ओझेलमा पर्ने अवस्था आयो।'

'आर्थिक हैसियत बलियो भएकाले 'पैसा खर्च गरेर पनि जित्न सक्छ' भन्ने मानसिकता दलमा देखिनु राम्रो होइन। यस्ता मान्छे चुनिएर गए भने भोलि स्थानीय निकायको मर्ममाथि नै प्रहार हुन्छ, नीतिगत भ्रष्टाचार मौलाउँछ,' राजनीतिक तथा द्वन्द्व विश्लेषक कमलराज लम्साल

प्रदेश नम्बर ६ को नगर निर्वाचनमा राजनीतिलाई जीवनको अभिन्न अंग बनाएका कार्यकर्तालाई उछिनेर टिकट पाउने गोसाइँ एक्लो व्यक्ति होइनन्। जीवनको लामो कालखण्ड ठेक्कापट्टा, व्यापार–व्यवसाय र अन्य धन्दामा बिताएर चुनावमा टिकट हात पार्ने उनीजस्ता थुप्रै 'भाग्यमानी' छन्। तीमध्येका एक हुन्– डोल्पा ठूलीभेरीका गणेशबहादुर शाही। एमालेबाट मेयर उम्मेदवार बनेका शाही डोल्पामात्र होइन, मध्यपश्चिमकै चर्चित निर्माण व्यवसायी हुन्।

 पार्टीमा निरन्तर सक्रिय भएका थुप्रै आकांक्षीको अगाडि उनको आर्थिक हैसियत तगारो बनिदियो। ठूलीभेरीमा पार्टी जिल्ला सचिव नन्दसिंह बुढा र पूर्वउपाध्यक्ष एवं हालका वरिष्ठ सचिवालय सदस्य नरबहादुर बुढा तीव्र आकांक्षी थिए। तर, टिकट शाहीले हत्याए। 'हुन त पार्टीमा उहाँ (शाही) भन्दा हामी हरेक हिसाबले माथि छौं, तर टिकट दिने निकायले उहाँलाई पत्यायो,' सचिव बुढाले भने, 'पार्टीले निर्णय गरेपछि हामीले कसरी विरोध गर्न मिल्छ?' शाही केही वर्षयता राजनीतिभन्दा निर्माण व्यवसायमा संलग्न भएको र उनले 'जनमत आकर्षित गर्नसक्ने' भएकाले पार्टीले टिकट दिएको हुनसक्ने उनले बताए।

 २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलले उम्मेदवार छान्दा भोलि स्थानीय तहमा राजनीतिक नेतृत्व गर्न सक्नेभन्दा पनि पैसा खर्च गरेर चुनाव जित्न सक्नेलाई प्राथमिकता दिएको देखिन्छ। 'आर्थिक हैसियत बलियो भएकाले 'पैसा खर्च गरेर पनि जित्न सक्छ' भन्ने मानसिकता दलमा देखिनु राम्रो होइन,' राजनीतिक तथा द्वन्द्व विश्लेषक कमलराज लम्साल भन्छन्, 'यस्ता मान्छे चुनिएर गए भने भोलि स्थानीय निकायको मर्ममाथि नै प्रहार हुन्छ, नीतिगत भ्रष्टाचार मौलाउँछ।' पैसा खर्च गरेर चुनाव जितेको मान्छेले त्यसको असुली गर्ने र कार्यकर्तालाई खुसी बनाउन नीतिगत भ्रष्टाचारको प्रवृत्तिलाई प्रश्रय दिने उनी बताउँछन्।

कालिकोटको खाँडाचक्र नगरपालिकामा राप्रपाले सूर्यबहादुर शाहीलाई मेयरको उम्मेदवार बनायो। उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष शाहीलाई 'पैसा खर्च गर्न सक्ने व्यक्ति' भनेरै टिकट दिएको राप्रपाका एक जिल्ला नेताले बताए। 'भरसक जित्ने, जित्न नसके सम्मानजनक भोट ल्याएर पार्टीको हैसियत बलियो बनाउने हाम्रो उद्देश्य हो,' ती नेताले भने, 'उहाँ यो उद्देश्य पूरा गर्ने व्यक्ति भएकाले टिकट दिएका हौं।'

 जाजरकोट कांग्रेसले पनि उम्मेदवार तोक्दा आर्थिक हैसियतलाई उच्च प्राथमिकतामा राख्यो। स्रोतका अनुसार जिल्ला सभापति दीपकजंग शाहले त उम्मेदवारसँग 'पार्टी भवन निर्माणका लागि' भन्दै अग्रिम रुपैयाँ मागेका थिए। कतिपय पुराना र इमानदार कार्यकर्ता यही पैसा जुटाउन नसकेकै कारण टिकट पाउनबाट वञ्चित भए। छेडागाड नगरपालिकामा मेयर उम्मेदवार बनेका रत्नबहादुर खड्का दशकअघि मात्र नेपाली कांग्रेस प्रवेश गरेका हुन्। तर, उनले सोही ठाउँमा कांग्रेस राजनीतिक गरेर २०५४ को स्थानीय निर्वाचनदेखि टिकटको पालो कुरेर बसेका थुप्रै आकांक्षीलाई रित्तो हात पारे। 'अब त निष्ठा र इमानको राजनीति भन्ने नै रहेन, जसले मोटो पैसा खर्च गर्छ उसैले पद प्राप्ति गर्छ,' छेडागाड क्षेत्रका एक कांग्रेस कार्यकर्ताले भने, 'राजनीति गर्न पहिले पैसा कमाउनुपर्ने भयो, जहाँतहीं बुझो नलगाउँदासम्म पार्टीमा होस् वा बाहिर पद पाउनै गाह्रो।'

 कांग्रेस, एमाले र राप्रपामात्र होइन, सशस्त्र युद्ध लडेको माओवादी केन्द्र पनि चुनाव जित्ने नाममा पैसा खर्च गर्न सक्नेवाला व्यक्तिको खोजीमा लागेको देखियो। सल्यानको शारदा नगरपालिकामा मेयर उम्मेदवार बनेका प्रमोद श्रेष्ठ सशस्त्र द्वन्द्वको अन्त्यतिर माओवादी प्रवेश गरे। पछिल्लो समय उनी राजनीतिभन्दा जग्गा कारोबार र आर्थिक उपार्जनमूलक व्यवसायमा चम्किए। आर्थिक हैसियत बलियो बनाएपछि मेयरको टिकट हत्याउन कुनै गाह्रो भएन। 'पार्टीले पनि जित्नका लागि पैसा खर्चिनसक्ने भन्दै टिकट दियो,' सोही क्षेत्रका सशस्त्र द्वन्द्वमा हतियार बोकेका एक माओवादी नेताले भने, 'अब हामी उहाँकै पछि लुरुलुरु लाग्नुपर्ने भयो।'

एक हातले राजीनामा, अर्को हातमा टिकट

हुन त सल्यानका सुरेश अधिकारी नेविसंघबाट सल्यान क्याम्पसका पूर्वस्ववियु सभापति हुन्। तर, पछिल्लो समय उनी पार्टी राजनीतिमा प्रत्यक्ष थिएनन्। जिल्ला समन्वय समितिमा सामाजिक विकास अधिकृत रहेका उनले चुनाव हुने चर्चासँगै राजीनामाको मनस्थिति बनाए। त्यसका लागि भित्रभित्रै तयारी गरे। तीन साताअघि उनले एक हातले राजीनामा दिए, अर्को हातमा कांग्रेसको तर्फबाट शारदा नगरपालिकामा मेयरको टिकट आइपुग्यो। 'म जागिरमा भए पनि पार्टीको क्रियाशील सदस्य र दुई कार्यकाल नेपाल निजामती कर्मचारी संघको जिल्ला अध्यक्ष थिएँ,' उनले भने, 'त्यही भएर पार्टीले मलाई विश्वास गरेर टिकट दिएको छ।'

 कालिकोटका मणिराज बराल पनि त्यस्तै भाग्यमानी हुन्। शिक्षकमा पेन्सन अवधि भइसकेका उनले राजीनामा दिएको सातामै एमालेबाट रास्कोट नगरपालिकाको मेयरको टिकट पाए। उनी पार्टीनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय नेता भए पनि पार्टी राजनीतिमा वषौर्ंै बिताएका कार्यकर्ता उनले टिकट पाउँदा निरास भए। 'उनले त जिन्दगीभर जागिर खाए, पेन्सन पकाए र टिकट पनि पाए,' स्थानीय एक एमाले कार्यकर्ताले भने, 'कहिले चुनाव होला र लडौंला भनेर बसेका हामीले अब के गर्ने?'

 सोही नगरपालिकामा दानबहादुर बमले पनि वैशाखमै शिक्षकबाट राजीनामा दिएर कांग्रेसबाट मेयरको टिकट लिए। दुई पूर्वशिक्षकसँग सशस्त्र युद्ध लडेका र पछिल्लो समय सहकारी अभियानमा सक्रिय माओवादी केन्द्रका काशीचन्द्र बराल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उनी २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट फुकोट गाविस अध्यक्ष चुनिएका थिए।

दुई होटल सञ्चालक

 राजनीतिक दलले पैसा खर्च गर्ने उम्मेदवार खोज्दै जाँदा दुई जना चर्चित होटल व्यवसायी पनि परेका छन्। जुम्लाको चन्दननाथ नगरपालिकामा श्रेष्ठ होटलका अशोक श्रेष्ठले माओवादी केन्द्रबाट टिकट हात पारे। उनी शान्तिप्रक्रियापछि माओवादी प्रवेश गरेका हुन्। चन्दननाथमा माओवादी केन्द्रबाट अन्य पाँचजना आकांक्षी थिए। 'पार्टीले पैसा खर्च गरेर भए पनि चुनाव जित्न सक्ने भन्दै उहाँलाई टिकट दियो,' सशस्त्र युद्ध लडेका एक पूर्वलडाकुले भने, 'राजनीतिमा योगदानभन्दा पैसाको मूल्यांकन बढी हुँदोरहेछ भन्ने यही चुनावमा आएर प्रत्यक्ष देख्न पाइयो।'

रुकुममा एसियन होटलका मालिक महेन्द्र केसीले आफ्नो होटललाई जिल्लाको 'नम्बर एक होटल' मात्र बनाएनन्, त्यही होटलबाट आफ्नो राजनीतिक 'करिअर' पनि उँचो बनाए। आर्थिक सफलतासँगै उनी पार्टी र सामाजिक संघसंस्थामा पनि चाहेको पदमा सहजै पुगे। हाल मुसिकोट नगर सभापति रहेका उनले अन्य आकांक्षीलाई पाखा लगाउँदै मेयरको टिकट हात पारे।

प्रकाशित: २६ वैशाख २०७४ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App