७ वैशाख २०८१ शुक्रबार
राजनीति

कसैको प्रलोभनमा नपरी मतदान गर्नुहोस्: यादव

धादिङ- दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपले मतदान गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आग्रह गरेका छन्।

                कुनै राजनीतिक दलको दवाव वा कसैको प्रलोभनमा नपर्न उनले मतदातालाई सल्लाह दिएए। यसअघिका निर्वाचनमा बल प्रयोग गरेर आफ्नो पक्षमा मत ल्याउने कोसिस हुने गरेको भन्दै यादवले यसमा सचेत रहन आग्रह गरे।

                ‘उम्मेदवारी दर्ता गर्न जाँदा अविर माला लगाएर देउता गुहार्ने, निर्वाचनमा जित्नचाँही बल र पैसा प्रयोग गर्नु राम्रो भएन। यो स्थानीय तहको निर्वाचन हो । मत खोस्ने भन्ने कुरा बकम्फुसे हो । यादवले भने ‘मतदाता र उम्मेदवारलाई धम्क्याउने/तर्साउने नगर्नुस्।’ 

                सुरक्षा निकायका प्रमुख एवम् राजनैतिक दलका प्रमुखहरुसंगको अन्तरक्रियामा प्रमुख आयुक्त यादवले स्वतन्त्र पूर्वक मतदान गर्न अवरोध भएमा त्यहाँ तत्कालै निर्वाचन स्थगन गर्ने बताए। प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको निर्वाचन सकिएसँगै मतगणना सोही पालिकाको केन्द्रमा हुने जानकारी दिए।

                प्रमुख आयुक्त यादवले निर्वाचन विथोल्न खोज्नु, मताधिकारको प्रयोग गर्नबाट बञ्चित गर्नु लोकतन्त्रमा ठूलो अपराध भएको र आयोगलाई यस प्रकारका गतिविधि सह्य नहुने बताए। ‘निर्वाचनमा एक मतको पनि महत्व हुने संवेदनशीलतालाई सबैले बुझ्नु जरुरी हुन्छ’ उनले भने।

                यस अगाडिको निर्वाचनका अनुभवले धादिङ जिल्लालाई निर्वाचन आयोगले सुरक्षाका दृष्टिकोणले अति जोखिमयुक्त जिल्लाको वर्गीकरणमा राखेकोले यस निर्वाचनमा सुरक्षाको कुनै पनि कमी हुन नदिने प्रमुख आयुक्त यादवले बताए । मतदान केन्द्रमा जाने बाटोमा समेत सुरक्षा दिन सुरक्षा निकाय लागि परेको उनले बताए । यादवले भने ‘ढुक्क हुनुस्, सुरक्षामा कुनै कमी हुने छैन ।’

‘कर्मचारीमा बहानाबाजी चल्दैन’

शिक्षकहरुले मतदान केन्द्रमा खटिन नमानेका कारण जनशक्ति परिचालनमा कठिनाई भएको प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले बताएका छन्। विभिन्न बहाना बनाउने निर्वाचनमा सहभागी नगराउन निवेदन दिने कर्मचारीको संख्या बढेपछि समस्या उत्पन्न भएको छ। केन्द्रमा जान्न, सहभागी हुन्न भन्ने कर्मचारीहरुको बहानाबाजी गरेर निवेदन दिएका छन् । उनले भने ‘त्यो बहाना चल्दैन।’

                अप्ठ्यारो ठाउँमा परेका कर्मचारीले विभिन्न बहाना बनाएर नियुक्ति समेत लिन नमान्ने लम्सालले बताए।  उसका अनुसार यसरी बहाना बनाएर निर्वाचनमा सहभागि हुन नचाहने कर्मचारीमा शिक्षक बढि छन् । बहाना बनाउने कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने लम्सालले बताए । जिल्लाका २ सय ५१ वटा मतदान केन्द्रमा १ हजार ५ सय ६ जना कर्मचारी खटाई आवश्यक तालिम दिइसकिएको छ।

 

 

 

प्रकाशित: २५ वैशाख २०७४ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App