७ वैशाख २०८१ शुक्रबार
खेल

खुसी थप्दै स्ट्राइकर नवयुग

काठमाडौं- नेपाली फुटबलका लागि गतवर्ष सुखद रह्यो। राष्ट्रिय फुटबल टोलीले माघमा बंगबन्धु गोल्डकप जितेको महिना दिन नपुग्दै यु–२३ टोली दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल भयो।

दुवै ठूलो सफलतामा प्रदर्शनका कारण फरवार्ड नवयुग श्रेष्ठ सबैभन्दा बढी चर्चामा रहे।

राष्ट्रिय टोलीमा छनोट भएको पहिलो वर्षमै चर्चाको शिखर छोएका नवयुग नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेका छन्।

उनीसँगै भलिबलकी प्रतिभा माली, टेबलटेनिसकी नविता श्रेष्ठ, भारोत्तलनकी तारादेवी पुन र क्रिकेटका सन्दीप लामिछाने मनोनयनमा छन्। अवार्डको दिन साउन ६ मा पिपुल्स च्वाइसको विजेता घोषणा गरिनेछ। एसएमएस भोटिङ र फेसबुक लाइकबाट बढी मत प्राप्त गर्नेले उक्त अवार्ड जित्नेछ।

प्रदर्शनका आधारमा छनोट हुने पल्सर स्पोर्टस अवार्ड २०७२ को वर्षका खेलाडी पुरुषको मनोनयनमा समेत परेका नवयुगले भने, 'कुनै बेला राष्ट्रिय टिमबाट खेल्ने सपना पालेको थिएँ। त्यो पूरा गरेँ। तर, यसरी अवार्डको मनोनयनमा पनि छनोट हुने कहिल्यै सोचेको थिएनँ। मेरा लागि एकपछि अर्को गर्दै खुसी थपिएको छ।'

इलाम, मंगलबारेका उनलाई सहयोग गर्न परिवारले अभियान थालेको छ। काठमाडौंमा उनी आफै सक्रिय छन्।

बंगबन्धु र यु–२३ दुवैमा चम्केका नवयुगले दुई प्रतियोगितामा तीन ह्याटि्रकसहित कुल ११ गोल गरेका थिए। त्रिभुवन आर्मी क्लबका २६ वर्षीय फरवार्डले गतवर्ष राष्ट्रिय लिगमा दुई ह्याटि्रकसहित सर्वाधिक १४ गोल गरेका थिए। लिगकै प्रदर्शनका कारण राष्ट्रिय टोलीमा उनका लागि ढोका खुलेको थियो।

गतवर्ष भदौ १४ गते पुनेमा भारतस“गको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका नवयुगले बंगबन्धु गोल्डकपको सेमिफाइनलमा ह्याटि्रक गरेपछि नेपालले माल्दिभ्समाथि ४–१ को सनसनीपूर्ण जित रचेको थियो। राष्ट्रिय टोलीबाट ह्याटि्रक गर्ने उनी पाँचौं खेलाडी हुन्। फाइनलमा बहराइन

यु–२३ लाई ३–० ले हराउँदै नेपालले बंगबन्धु गोल्डकप जित्दा नवयुग भने चार गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका थिए। उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिए।

सागमा पनि उनको उच्च प्रदर्शन जारी रह्यो। पहिलो खेलमा भुटानविरुद्ध नेपाली टोलीले ५–० को जित हासिल गर्दा नवयुगले ह्याटि्रक गरे । माल्दिभ्सविरुद्ध ४–३ को जितमा पनि उनले ह्याटि्रक गरेका थिए। फाइनलमा उनकै निर्णायक गोलमा नेपाल घरेलु टोली भारतमाथि २–१ को विजय प्राप्त गर्दै साग फुटबलमा च्याम्पियन बनेको हो। सागमा उनले ७ गोल गरेका थिए। आर्मीले झापा गोल्डकप र मदन भण्डारी गोल्डकपको विजेता बन्दा उनी दुवै प्रतियोगितामा बेस्ट फरवार्ड घोषित भएका थिए।

प्रकाशित: २ श्रावण २०७३ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App