७ वैशाख २०८१ शुक्रबार
राजनीति

महालक्ष्मी–८, लुभु वडाध्यक्षका उम्मेदवारको अजेन्डा

ललितपुर – स्थानीय तह पुनर्संरचनापछि साविकको सिंगो लुभु गाविस महालक्ष्मी नगरपालिका वडा नं. ८ भएको छ । राजधानीबाट नजिकै रहेर पनि केही वर्षअघिसम्म यो क्षेत्रमा विकास निर्माणका काम अगाडि बढ्न सकेका थिएनन् । तर, पछिल्लो समय खासगरी २०७२ सालको भूकम्पपछि यस क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार हुँदै गएपछि विकाससँगै विभिन्न खालमा समस्या देखिन थालेका छन् । करिब १२ हजार जनसंख्या रहेको लुभुमा खानेपानी, ढल, बाटो, स्वास्थ्यसेवा, गुणस्तरीय शिक्षा आदिलाई उम्मेदवारले चुनावी अजेन्डा बनाएका छन् । 

विभिन्न पार्टी तथा स्वतन्त्र हैसियतका वडाध्यक्षका उम्मेदवार आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो, कोणसभा तथा अन्य चुनावी अभियानमा व्यस्त छन् । चुनावी कार्यक्रममा व्यस्त रहेका प्रमुख दल तथा स्वतन्त्र उम्मेदवारले आफ्ना चुनावी अजेन्डा यसरी प्रस्तुत गरे :

‘व्यवस्थित सडक तथा ढलको प्रबन्ध मिलाउनेछु’ 
 श्याममोहन श्रेष्ठ, नेपाली कांग्रेस

सहरीकरणले गर्दा लुभुमा पहिलेको तुलनामा जनसंख्या वृद्घि हुँदै गएको छ । लुभुलाई व्यवस्थित बनाउन सडकका साथै ढलको पनि प्रबन्ध मिलाउने योजना छ । लुभु खोलालाई प्रदूषणमुक्त बनाउने मेरो अजेन्डा हो । ग्वार्को, लुभु, लामाटार हुँदै नमोबुद्घसम्मको पर्यटकीय मार्ग विकास गर्ने सोच छ । 

यहाँका सरकारी विद्यालयको गुणस्तर राम्रो नभएकाले त्यसलाई सुधार्नका लागि प्रयत्नशील रहनेछु । पुरातात्विक महत्वका सांस्कृतिक सम्पदा संरक्षणमा लागि पर्नेछु । सरकारबाट छुट्याइएको अुनदान भूकम्पपीडितसँग सजिलो तरिकाले पुर्याउन प्रयत्नशील रहनेछु । 

‘विकासका लागि युवा नेतृत्व आवश्यक’ 
विवेककुमार कार्की, स्वतन्त्र 

 २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको छ । तर, अहिले पनि के देखिन्छ भने पुरानै व्यक्तिहरूलाई पार्टीहरूले उम्मेदवार बनाएका छन् । आमजनता पार्टीको साँघुरो घेराभन्दा माथि उठेर सक्षम र विकासप्रेमी उम्मेदवारलाई अगाडि बढाउन चाहन्छन् भन्ने मलाई लाग्छ । त्यही भएर दलीय स्वार्थी राजनीतिबाट माथि उठ्नुपर्छ भन्ने सन्देश दिन मैले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेको छु । 

महालक्ष्मी–८, लुभुको विकास–निर्माणको काममा म पहिलेदेखि नै खटिँदै आएको छु । त्यही भएर मैले समुन्नत, व्यवस्थित, स्वच्छ, सफा र हराभरा लभु भन्ने नारासहित उम्मेदवारी दिएको हुँ । यसलाई आरदणीय मतदाताहरूले सकारात्मक रूपमा लिनुहुन्छ भन्ने आस छ । दुई वर्षभित्र लुभु क्षेत्रमा खानेपानी योजना पु¥याउने सोच छ । लुभु–भक्तपुर सडक तथा विसुन्डोल–लुभु सडकलाई नमुना रूपमा विस्तार गर्ने कामलाई प्राथमिकतामा राख्नेछु । बुढाबुढी तथा केटाकेटीका लागि सामुदायिक केन्द्र, युवालक्षित कार्यक्रम, सत्संग भवन, स्वास्थ्य केन्द्र, स्कुल भवन आदि अजेन्डा मुख्य छन् । 

‘स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनेछु’
विश्वराज श्रेष्ठ, नेकपा एमाले

तीन दशकभन्दा बढी समयदेखि समाजसेवा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छु ।  लुभु क्षेत्रमा शुद्घ खानेपानी आपूर्ति हुन नसक्दा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेको छ । त्यसलाई समाधान गर्नु अहिलेको प्राथमिक आवश्यकता हो । अहिलेको लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने योजना छ । 

लुभु क्षेत्रमा जथाभावी प्लटिङ नियन्त्रण गरिनुका साथै पर्ती जग्गाको उचित संरक्षण गरिनेछ ।  चिल्ड्रेन पार्क तथा खेलकूदका लागि पूर्वाधार विकास गरिनेछ । चापाखर्क दोस्रो चरणको योजनाअन्तर्गत हरेक घरमा धारा पु¥याउने योजना छ । स्थानीयलाई उचित मुआब्जा दिएर ग्वार्को–इमाडोल–लुभु–लामाटारसम्मको सडक विस्तार निरन्तर अगाडि बढ्नेछ । लुभु क्षेत्रका भित्री बाटोलाई पनि मापदण्डअनुसार फराकिलो बनाइनेछ । 

‘काम गर्नेलाई जिताउनुपर्छ’
सानुकान्छा श्रेष्ठ, माओवादी केन्द्र  

२०७२ सालको भूकम्पले लुभु क्षेत्रमा पनि क्षति पुर्ययो । भूकम्पपीडितको व्यवस्थापनलाई ध्यान दिनेछु । यसैगरी, लुभु क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य आदिलाई प्राथमिकतामा राखेर काम गर्नेछु । महिलाका लागि रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनेछु । युवालाई कृषि क्षेत्रमा समेटेर स्वरोजगार विकास गर्ने लक्ष्य छ । 

मैले यो क्षेत्रको बाटोघाटो, खानेपानीलगायत विभिन्न परियोजनामा विगत लामो समयदेखि काम गर्दै आएको छु । त्यही भएर जनताले काम गर्ने मानिसलाई जिताउनुपर्छ । समग्रमा महालक्ष्मी नगरपालिकालाई नमुना बनाउने मेरो योजना छ । पिच बाटो, खानेपानी, ढल आदि व्यवस्थित बनाउन काम गर्नेछु ।   

 

प्रकाशित: २५ वैशाख २०७४ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App