७ वैशाख २०८१ शुक्रबार
खेल

पुरानै अनुहारमा महिला भलिबलको तयारी

काठमाडौं- सुस्त तयारीबीच नेपाली महिला भलिबल टोलीले भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गरिरहेको छ। साउन १३ र १४ मा नेपालले भारतसँग त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मैत्रीखेल खेल्दैछ। बन्द प्रशिक्षण सुरु नभए पनि महिला खेलाडीले साउन १७ देखि नियमित अभ्यास गरिरहेका छन्। अभ्यासरत खेलाडीसुचीमा१२ औं दक्षिण एसियाली खेलकुद साग खेलेका खेलाडीको आधिपत्य छ।एक खेलाडीमात्र साग टोली बाहिरका छन्।

अन्तर्राष्ट्रिय भलिबलमा नेपालको पुरुष टोलीभन्दा महिला टोलीले धेरै सफलता पाएको इतिहास छ। खेलेका तीन दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले कांस्य पदक जितेको छ। त्यही सफलताले नेपाल भलिबल संघका पदाधिकारीहरू महिलाले अन्तर्राष्ट्रिय पदक थप्ने दाबी गर्छन्। तर, महिला टोलीको स्तर भने थप कमजोर बन्दै गएको छ।

दुई वर्षअघि काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल हुँदा ९ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। कप्तान बिनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, कोपिला उप्रेती बाहेक सबै नयाँले राष्ट्रिय टोलीमा स्थान बनाए। आमन्त्रण भलिबलखेलेको तीन वर्ष पुग्न लाग्दा नेपालले तेस्रो खेल खेल्ने तयारी गर्दैछ। तेस्रो अन्तर्राष्ट्रिय खेल खेल्दा राष्ट्रिय टोलीमा एउटा पनि नयाँ अनुहार थपिन सक्ने सम्भावना छैन। अहिले अभ्यास गरिरहेको टोलीमा त्रिभुवन आर्मी क्लबकी सेटर जानकी अधिकारीबाहेक सबै राष्ट्रिय टोलीका खेलाडी हुन्।

टोलीकी कप्तान विनिता बुढाथोकी नयाँ खेलाडीको संख्या बढ्न नसक्नु नेपाली भलिबलकै मुख्य समस्या भएको बताउँछिन्। उनले भनिन्, 'भलिबलमा नयाँ खेलाडी आउन सकिरहेका छैनन्। नेपालमा हुने हरेक प्रतियोगितामा विभागको २०–२५ खेलाडीले नियमित खेलिरहेका छन्। जिल्लामा हुने प्रतियोगितामा स्थानीय टिमको संख्या कम हुन्छ।'

३१ वर्षीया विनिताले काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं साफयता राष्ट्रिय टोलीमा नियमित खेल्दै आएकी छन्। भेट्रान कप्तान विनिताको नेतृत्वमै नेपालले काठमाडौंमा प्रथम आमन्त्रण महिला भलिबलमा रजत पदक जितेको थियो।

प्रशिक्षक सुदेशकुमार रिमाल पनिमहिला टोलीमा नयाँ खेलाडी आउन नसक्नुलाई समस्याका रुपमा लिन्छन्। उनले भने, 'टोलीमा भएका केही खेलाडीको संन्यास लिने बेला भइसक्योतर उनीहरूलाई प्रतिस्थापन गर्ने खेलाडी नै आउन सकेका छैनन्।'

उनले नयाँ खेलाडी उत्पादन गर्न संघबाट निजी क्लब र टिमको संख्या बढाउनुपर्ने आवश्यकता भएको बताउँछन्। नयाँ खेलाडीसंख्या बढ्न नसके अहिलेको उपलब्धि जोगाउन पनि कठिन हुने रिमालको बुझाइ छ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले मैत्रीपूर्ण खेलमा भारतलाई हराउने दाबी गरे। तर, महिला टोलीका प्रशिक्षक रिमाल अहिलेको तयारीले भारतलाई जित्न कठिन हुने बताउँछन्। उनले भने, 'हामीले आफ्नो स्तर मूल्यांकन गर्नुपर्छ। भारत दक्षिण एसियाको नम्बर एक टोली हो। भारतसँग हामीले कडा प्रतिस्पर्धा गर्नु नै ठूलो कुरा हो।'

भारतसँगको मैत्रीपूर्ण खेलले१३ औं साग खेलकुदका लागि मनोबल बढ्नेरिमालले बताए। उनले भने, 'अहिलेको मैत्रीपूर्ण खेलले खेलाडीको आत्मविश्वास बढ्ने भएकाले आगामी सागमा राम्रो नतिजा निकाल्न सहयोग पुग्न सक्छ।'

प्रकाशित: २ श्रावण २०७३ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App