८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमुखकी एक्ली महिला उम्मेद्वार शोभा

राप्रपाको तर्फवाट मेयर पदका लागि उम्मेदवार बनेकी शोभा शाही । तस्बिर : जनक केसी

जाजरकोट – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि गाउँपालिका र नगरपालिकाका प्रमुख पदमा जाजरकोटमा एक जना मात्र महिला उम्मेदवार  चुनावी  मैदानमा  उत्रिएकी छिन् । 

समाबेसीकरणका  मुद्दा आफूले नै उठाएका दावी गर्ने प्रमुख दलहरुले  नगर र गाउँपालिका र वडाको प्रमुख पदमा पुरुष मात्र उम्मेद्वार वनाइरहेका वेला राप्रपाको तर्फवाट जिल्लाको सवैभन्दा ठुलो नगरपालिका भेरी नगरपालिकाको प्रमुखमा  शोभा शाही चुनावी मैदानमा उत्रिएकी  हुन् ।

राप्रपाकी केन्द्रीय सदस्य शाही जिल्लामा एक मात्र प्रमुख पदमा प्रतिष्पर्धा गर्ने महिला उम्मेदवार हुन् । आफू एक जना मात्र प्रमुख पदमा प्रतिष्पर्धा गर्ने महिला भएको हुनाले  सबैको साथ र सहयोग पाउने शाही बताउँछिन्  ।

अन्य दलहरुले समावेसीकरणका जति चर्का नारा लगाएपनि राप्रपाले आफूलाई  नगरपालिकाको मेयर पदमा उठाएर महिला माथि ठूलो न्याय गरेको उनले  बताइन् । ४ वटा गाउँपालिका र तीन नगरपालिका भएको  जाजरकोटमा  काँग्रेस, एमाले र माओवादीले  सबै प्रमुख पदहरूमा पुरुषलाई नै उम्मेदवार बनाएका छन् भने उपप्रमुखमा मात्र महिलालाई उठाएका छन् । 

संविधानमा भएको व्यवस्था अनुसार मात्र उनीहरूले महिलालाई समावेसी कोटामा उम्मेद्वार बनाएको तर महिलाको लागि प्रमुखपद उपयुक्त नदेखेको माओवादी केन्द्रकी नेतृ पार्वती थापाले बताइन् । जति गरेपनि महिलाको सशक्तीकरण नचाहने सामाजिक सोचको उपजका कारण जिल्लामा प्रमुख दलहरुले महिलालाई प्रमुख पदमा उम्मेद्वार नबनाएको उनले गुनासो गरिन् ।

त्यस्तै नागरिक अगुवा एवम् असल शासनकर्मी बालकुमार शर्मा पनि अरु बेला महिला अधिकारका चर्का कुरा गर्ने दलहरूले चुनावका बेला आफूले उठाएको मुद्दा बिर्सिएको बताए ।  महिलाहरूले पनि अवसर पाए काम गर्न सक्छन् भन्ने कुरालाई दलहरूले भाषणमा मात्र सीमित गरेको उनले बताए ।

समाजमा पछि परेका महिला र  अन्य समुदायको लागि आफूले  केही गर्ने योजनाका साथ  मतदाताहरुसंग भोट मागिरहेको भेरी नगरपालिकाकी मेयर पदकी उम्मेदवार शोभाले बताइन । 

अरुले  महिलालाई  उपप्रमुख र वडा सदस्यमा मात्र  टिकट दिएका छन् तर  मैले राप्रपावाट प्रमुख पदमै  टिकट पाएको कारण मलाइ  मतदाताहरुले सहयोग गर्ने विस्वास गरेको  उनले बताइन् । 

३९ वर्षीया शाही २०६९  देखि तत्कालिन  राप्रपा नेपालको  सदस्यता लिएर  जिल्लाको राजनीतिमा प्रवेश गरेकी हुन् । गत वर्ष सम्पन्न राप्रपाको केन्द्रीय महाधिवेशनबाट शोभा पिछडिएको क्षेत्रको कोटामा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । सगम्र जिल्लाको विकास संगै  महिला अधिकारका लागि  लडाइ मेरो  उम्मेदवारीको मुख्य एजेन्डा  हो, शोभाले भनिन् ।  

 

प्रकाशित: २५ वैशाख २०७४ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App