coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कीर्तिपुरलाई सांस्कृतिक नगर बनाउने प्रतिबद्धता

संरक्षण अभावमा भग्नावेशष बन्दै गएको कीर्तिपुरको एेतिहासिक चिलन्चो बिहार। फाइल तस्विर

काठमाडौं— कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक नगर बनाउने कीर्तिपुरका सबैजसो मेयरका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रमेश महर्जनले नेवार जातिको दाफा संस्कृतिलाई संरक्षण गर्न विशेष कोष बनाउने प्रतिबद्धता जनाएका  छन्। उनले भने, ‘दाफा बाजाका बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानगुन आर्जन गर्न यस विषयलाई विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने सोचअनुरुप काम गर्नेछु।’

यसले दाफा बाजा सिकाइने अहिलेसम्मको परम्परागत तरिकामा परिमार्जन हुने उनको विश्वास छ । पर्यटकीय मार्गमा नेवारी वास्तुकलाअनुसार घर निर्माण गर्न अनुदान दिने कार्यक्रम ल्याउने पनि उनको भनाइ छ । चिलञ्चो स्तुप र महाविहार र बाघभैरव क्षेत्रमा नेवारी वास्तुकलाअनुसार घरको पुनर्निर्माण गर्ने उनको प्रतिबद्धता छ।

कीर्तिपुरका सयौं वर्ष पुराना संरक्षणविहीन विहारको जीर्णाेद्धार गर्न सके विहारसम्बन्धी संस्कृतिको पुनरोदय हुने उनको विचार छ ।

नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार हिराबहादुर महर्जनले कीर्तिपुरलाई पर्यटकीय नगर बनाउन ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाको पुनरुत्थान र संरक्षणमा जुट्ने घोषणा गरेका छन्।

उनले भने, ‘सबैभन्दा पहिले कीर्तिपुर डाँडाको पूर्वपट्टिका ऐतिहासिक बौद्धविहार र त्यससँग सम्बन्धित संकटमा रहेका संस्कृतिको पुनरुत्थान गर्छाैं र ती विहारलाई पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँछौं ।’ कीर्तिपुरका सयौं वर्ष पुराना संरक्षणविहीन विहारको जीर्णाेद्धार गर्न सके विहारसम्बन्धी संस्कृतिको पुनरोदय हुने उनको विचार छ । चुनाव जितेमा एक समय अत्यन्तै चर्चित कीर्तिपुरको कपडा बुन्ने हाते तानको पुनर्सर्थापित गर्ने उनको योजना छ। उनले भने, ‘त्यसबाट उत्पादित कपडालाई नगरपालिकाभित्रै बजारको ग्यारेन्टी पनि गरिनेछ ।’ उत्पादित कपडाको बजार व्यवस्थापनका लागि सरकारी कार्यलय, सामुदायिक विद्यालय र सबै संस्थामा त्यही उत्पादित कपडाको अनिवार्य प्रयोगको व्यवस्था गरिने उनको प्रतिबद्धता छ।

कीर्तिपुरमा मौलिक शैलीका घर बनाई बस्ती विकास गर्ने समेत उनको लक्ष्य छ । नेवार मात्र नभई नगरपालिकाभित्र रहेका तामाङलगायत अन्य जातजातिको मौलिक संस्कृतिलाई प्रवद्र्धन गरी पर्यटकीय क्षेत्रको रुपमा नगर विकास गर्न प्रतिबद्ध रहेको उनले  सुनाए।

नयाँ शक्ति पार्टी नेपालले कीर्तिपुरको जाति, भाषा, धर्म, संस्कृति र राजनीतिक इतिहाससँग जोडिएका जानकारी प्राप्त गर्न सकिने  सांस्कृतिक संग्रहाय बनाउने प्रतिबद्धता जनाएको छ । नगरका प्रमुख जात्रा, पर्व सञ्चालनको नेतृत्व नगरपालिकाले गर्ने नयाँ शक्तिको प्रतिबद्धतापत्रमा उल्लेख छ । ऐतिहासिक, धार्मिक तथा मनोरम चम्पादेवी मन्दिरमा केबलकार सञ्चालन गर्ने नयाँ शक्ति पार्टीका तर्फबाट कीर्तिपुरका मेयरका उम्मेदवार ध्रुव महर्जनले बताए ।  उनले भने, ‘ऐतिहासिक कीर्तिपुरलाई आन्तरिक तथा  बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न पर्यटन गन्तव्यको राष्ट्रिय सूचीमा सूचीकृत गर्न पूर्वाधार निर्माण र पहल गर्नेछौं ।’

साथै नयाँ शक्तिले कीर्तिपुरको मौलिक पहिचान जगेर्ना गर्न हस्तकला उद्योगलाई प्रवद्र्धन गरिने र राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय बजार व्यवस्थापन गर्न पहल गरिने प्रतिबद्धतापत्रमा लेखिएको छ । सामुदायिक विद्यालयमा सबै मातृभाषाको पढाइलाई प्राथमिक तहदेखि नै अध्ययन गर्ने व्यवस्था मिलाउने नयाँ शक्तिको उम्मेदवार महर्जनको कथन छ।

नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार राजकुमार नकर्मीले नेवारी संस्कृतिको थलो कीर्तिपुरका पुराना बस्तीलाई कायम राख्ने योजना रहेको बताए । सर्वसुलभ खानेपानी, ढल र फोहोरमैला व्यवस्थापन र जनमुखी स्थानीय तह आदि विषयमा कांग्रेसको चुनावी अजेन्डा बढी केन्द्रित रहेको उनले बताए ।  
 

प्रकाशित: २५ वैशाख २०७४ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App