८ वैशाख २०८१ शनिबार
राजनीति

तालमेलले खोस्यो महिला अारक्षण

संगम घर्तीमगर

बाग्लुङ— महिला अधिकार र सहभागितामा चर्का भाषण  गर्ने यहाँ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भने त्यसको बेवास्ता गरेका छन् । स्थानीय तह निर्वाचनमा यहाँका दलले महिला उम्मेदवारलाई न्यून स्थान दिनुले यसलाई पुस्टि गरेको छ।

जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाको नेतृत्वका लागि औंलामा गन्न सकिने महिला उम्मेदवार छन । कांग्रेसले बडीगाड गाउँपालिकामा गण्डकी थापा अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले ताराखोला गाउँपालिकामा पूर्णा चालिसेलाई अध्यक्षको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले कुनै पनि नगर/गाउँपालिका प्रमुखमा महिला उम्मेदवार बनाएको छैन । प्रमुख उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था छ । तर दलबीच चुनावी तालमेल गर्दा महिला नै पछाडि परेका छन् । बाग्लुङ नगरपालिकामा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चा मिलेर चुनावमा गएपछि महिलाले उम्मेदवारी पाएनन् ।

काठेखोला गाउँपालिकामा पनि एमाले राजमो र माओवादी केन्द्र मिलेर जाँदा महिलालाई नै घाटा परेको छ। त्यहाँ प्रमुखमा एमालेका अमर थापा र उपप्रमुखमा राजमोका अर्जुनबहादुर खत्री उम्मेदवार बनेका छन् । बडीगाड गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि शीर्ष दुवै पदमा महिलाले उम्मेदवारी दिन पाएनन् । 

वडाध्यक्षमा पनि दलले महिलालाई विश्वास गरेको दैखिँदैन । वडाध्यक्षमा महिला उम्मेदवार न्यून भएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे बताउँछन् । ‘नेतृत्व गर्ने ठाउँमा महिलाको सहभागिता न्यून छ,’ बेलबासेले भने, ‘महिलाले नचाहेर हो वा दलले नदिएर हो । हामीलाई थाहा भएन ।’ उनका अनुसार  बाग्लुङका १० स्थानीय तहका ८५ वटा वडाको अध्यक्ष पदका लागि २ सय ७३ उम्मेदवार छन् । जसमा  ८ मात्र  महिला उम्मेदवार छन् । बाग्लुङ नगरपालिकामा–३ मा राजमोको तर्फबाट लक्ष्मी बास्कोटा वडाअध्यक्षको उम्मेदवार छिन् । अन्य वडामा महिला उम्मेदवार छैनन् ।

जैमिनी नगरपालिकामा–२ मा नयाँ शक्तिबाट रूपा सापकोटा र ९ मा माओवादी केन्द्रबाट मीना परियार अध्यक्षको उम्मदेवार छन् । काठेखोला—१ का  एमालेबाट चन्द्रकला रोका, ७ मा माओवादी केन्द्रबाट रुपा सुनार र ८ मा एमालेबाट चित्रकला छन्त्याल वडाध्यक्षको उम्मेदवार छन् । बडीगाड गाउँपालिकामा माओवादीबाट लक्ष्मी क्षत्री र वडा १ मा एमालेबाट विनाकुमारी थापा उम्मेदवार छन् ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अुनसार बाग्लुङमा ४ सय ४५ पदका लागि  १ हजार ३ सय ७६ जना उम्मेदवार छन्।

 

 

प्रकाशित: २५ वैशाख २०७४ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App