१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदाता परिचयपत्र वितरण बिहीबारदेखि

काठमाडौं— निर्वाचन आयोगले आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि वैशाख २८ गते बिहीबारदेखि मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । यसपटकदेखि मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गरेको आयोगले मतदानको तीन दिनअघि बिहीबार, शुक्रबार, शनिबार मतदान केन्द्रबाट मतदाता परिचयत्रपत्र वितरण गर्ने भएको हो।

पहिलो चरणअन्तर्गत मतदान गर्ने ४९ लाख ५६ हजार नौ सय २५ मतदाताको परिचयपत्र छपाइ सकेर जिल्लामार्फत मतदान केन्द्र पठाउने काम सुरु भइसकेको छ।

मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्र÷स्थल पुग्नुपर्नेछ। आफू पुग्न नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले यसपालिको निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य हुने बताए । उनका अनुसार परिचयपत्र छपाइ सकेर पहिलो चरणअन्तर्गत निर्वाचन हुने ३४ जिल्लामा पठाइसकिएको छ। ‘यसपालिको निर्वाचनमा मतदाता परिचयपत्र नभए मतदान गर्न पाइँदैन, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्री २७ गतेभित्रै सबै मतदान केन्द्रमा पठाइसक्छौं,’ सचिव मैनालीले नागरिकसँग भने, ‘२८, २९ र ३० गते मतदान केन्द्रका कर्मचारीले मतदाता परिचयपत्र वितरण गर्नेछन्।’

उनका अनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्र-स्थल पुग्नुपर्नेछ। आफू पुग्न नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि विशेष सुरक्षा ‘फिचर’ रहेको तस्बिरसहितको मतदाता परिचयपत्र तयार पारेको छ । आयोगका अनुसार सुरक्षाका हिसाबले मतदाता परिचयपत्रमा मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्युआर कोड राखेको फोटोसहितको मतदाताको विस्तृत विवरणसमेत राखिएको छ।

कागजमा छपाइ गरिएको परिचयपत्र लेमिनेसन गरिएको छ । केही वर्षपछि राष्ट्रिय परिचयपत्र बाँड्ने तयारी सरकारले गरिरहेकाले केही वर्ष टिक्ने गरी विशेष सुरक्षा फिचरसमेत राखेर मतदाता परिचयपत्र छापिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र, मतदाता परिचयपत्र, मतदाता नामावली, मतपेटिकालगायत निर्वाचनका लागि आवश्यक पर्ने सामग्री मतदान केन्द्र पठाउन सुरु भएको बताए । ‘दुर्गम जिल्लामा मतदान सामग्री पठाउन सुरु भइसकेको छ,’ उनले नागरिकसँग भने, ‘२७ गतेसम्म सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसक्छौं ।’ उनले २८ गतेदेखि मतदाता परिचयपत्र वितरण हुने बताए । प्रवक्ता शर्माले दुर्गम ठाउँमा हेलिकप्टर र अन्यमा गाडीमार्फत मतदान सामग्री सम्बन्धित ठाउँमा पठाउने काम भइरहेको बताए ।

त्यसैगरी पहिलो चरणको निर्वाचनको केन्द्रीय स्तरको तयारी सकिएको र जिल्लास्तरको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोगका अनुसार मुख्य÷निर्वाचन अधिकृतहरूले आफ्नो कामअघि बढाइरहेका छन् भने मतदान अधिकृतहरू तालिम लिएर गाउँ जाने कामसमेत सुरु भइसकेको छ ।

प्रकाशित: २५ वैशाख २०७४ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App