भूकम्पपछि सर्वाधिक चर्चामा रहेको जोडी हो, सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को जोडी । एकल प्रयासमा तीन–तीन वटा एकीकृत बस्ती निर्माण गरेको यो जोडी नेपाली समाजमा उदाहरणीय जोडीका रूपमा स्थापित छ ।
२०६२ सालको एक बिहान सीताराम र कुञ्जनाको भेट भएको थियो । उतिबेला कुञ्जना कलाकार भइसकेकी थिइन् भने सीताराम दमन रूपाखेतीसँग प्रोडक्सनमा काम गर्थे । उनले कुञ्जनालाई पहिलोपल्ट देख्दा उनी सुटिङका लागि मेकअप गरिरहेकी थिइन् । उनले प्रोडक्सनको जिम्मेवारी सम्हालिरहेकाले कुञ्जनालाई आवश्यकताका चिज सोध्न गएका थिए । तर, पहिलो भेटमै उनको कुरा गर्ने शैलीले सीताराम मख्ख परेका थिए ।
‘प्रोडक्सनको मान्छे भनेपछि कलाकारले अलि मतलब नगर्ने अनुभव सँगालेको थिएँ । तर, कुञ्जनाले देखाएको आत्मीयता पहिलो भेटमै मन परेको थियो । पछि–पछि त मान्छे नै मन प¥यो,’ सीतारामले भने । २०६५ सालमा उनीहरूले लगनगाँठो कसे ।
दुवैको जीवनलाई जोड्ने सेतु बनेको ‘मेरी बास्सै’मा पहिलो भागदेखि नै दुवैको साझेदारी जम्यो । पहिलो चार भागमा काका–भतिजी बनेर अभिनय गरेका दुवैले त्यसपछि भने प्रेमी–प्रेमिका हुँदै विवाहित जोडीको रूपमा समेत अभिनय गरे । ‘मेरी बास्सै’मा सीतारामले मुस्कान पासा, खड्काजीजस्ता चरित्र निर्माण गरेका थिए भने ती दुवैको गेटअप भने कुञ्जनाले तयार गरेकी थिइन् । ‘पन्चलाइनमा पनि उनको योगदान रहन्थ्यो । त्यही भएर नै एपिसोड रोचक हुन्थे,’ सीतारामले भने ।
एकअर्कालाई काममा प्रोत्साहित गर्न सके मात्र साझेदारी जम्ने दुवैको विश्वास छ । त्यसैले आजभोलि दुवैले बाँडेर काम गर्ने गरेका छन् । जस्तो, फिल्डमा खटेर सीतारामले मुसहर बस्तीको निर्माण सकाएका छन् भने कुञ्जनाले काठमाडौँमा बसेर फाउन्डेसन सञ्चालन गरिरहेकी छिन् । त्यसरी नै घर र छोरीको जिम्मा पनि उनले नै लिएकी छिन् ।
‘कामको बाँडफाँड गर्ने हो भने कहिल्यै तनाव हुँदैन,’ कुञ्जनाले भनिन्, ‘पहिला–पहिला त हामीलाई पनि थाहा थिएन तर अहिले समयले सिकाएको छ । उहाँ बाहिरको काम सम्हाल्नुहुन्छ, म भित्रको । जिन्दगी मजाले चलिरहेको छ ।’
पहिला–पहिला हल्काफुल्का झगडा हुने भए पनि आजभोलि आफूहरूबीच पटक्कै झगडा नहुने कुञ्जना बताउँछिन् । उनी यसको श्रेय पनि सीतारामलाई नै दिन्छिन् । ‘फिटिक्कै रिसाउने बानी छैन । पहिला–पहिला बरु मै रिसाउँथेँ । उहाँलाई देखेर त्यो पनि छाडिसकेँ । अनि, अरूको कुरा सुन्ने बानी छ । श्रीमतीले भनी भनेर इग्नोर गर्ने आदत छैन,’ उनले थपिन्, ‘हाम्रो सम्बन्ध त ‘सोधेर मात्र सास फेर्छौं’ भने जस्तो छ । एकअर्कालाई जे कुरा पनि सुनाउने र सल्लाह गर्ने कारणले पनि हाम्रो सम्बन्ध दिनहुँ मजबुत बन्दै गइरहेको छ ।’
घर र परिवारका लागि एक घण्टा पनि समय निकाल्न नचाहेकोमा भने कुञ्जनाको गुनासो छ । ‘दिनको १२ घण्टामा ११ घण्टा अरूका लागि दिए पनि एक घण्टा चाहिँ आफ्ना लागि दिए हुन्थ्यो भन्ने छ,’ उनले भनिन्, ‘मेरो त्यो इच्छा चाहिँ पूरा भएको छैन ।’
(नागरिक परिवारबाट)
प्रकाशित: २४ वैशाख २०७४ ०८:१० आइतबार