८ वैशाख २०८१ शनिबार
समाज

अस्पताल शौचालयमा नवजात शिशु

काठमाडौं- राजधानीको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को शौचालयमा नवजात शिशु फेला परेको छ। अवधि पुगेर जन्मिएको शिशुलाई आवश्यक उपचारपछि एक परिवारको जिम्मा लगाइएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका अनुसार शिशु बालिका हुन्। अस्पताल र प्रहरीको रोहबरमा ती बालिका पालनपोषणका लागि ललितपुरकी रमिता विष्टलाई जिम्मा लगाइएको छ।

अस्पतालप्रमुख डाक्टर विमल थापाले कसैले बाहिर जन्माएर अस्पताल ल्याएर छाडेको हुन सक्ने बताए। 'प्रहरीमार्फत बालिकालाई सुरक्षित स्थानमा  राख्ने व्यवस्था भएको छ,' उनले भने।

शनिबार बिदा परेकाले कानुनी प्रक्रिया आइतबार पूरा गर्ने गरी विष्टलाई शिशु उपलब्ध गराइएको प्रहरीले जनाएको छ। अस्पतालमा कार्यरत एक नर्सको पहिचानमा रहेकी  विष्टले शिशु लगेकी हुन्। विवाहित भए पनि निःसन्तान रहेकी श्रेष्ठ ललितपुर–१५, खुमलटार बस्छिन्।

महानगरीय प्रहरीवृत्त, नयाँ बानेश्वरका डिएसपी नारायणप्रसाद चिमोरियाले शुक्रबार साँझ कपडाले बेरेर राखिएको अवस्थामा अस्पताल शौचालयमा शिशु फेला परेको बताए। 'अनुसन्धान गर्दै छौं, कसले बालिका छाडेर गएको हो, खोज्दै छौं,' उनले भने। बेवारिस शिशु भेटिएलगत्तै अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो। बाल कल्याण समितिमा नवजात शिशु नराखिने भएकाले पहिल्यैदेखि इच्छुक रहँदै आएकी विष्टलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यसअघि असार २९ गते बल्खु, बाग्मती किनारमा महिना नपुगी जन्मिएको मृत शिशु र असार २ गते मीनभवननजिकै बाग्मती किनारमा अर्को मृत शिशु फेला परेको थियो।

प्रकाशित: २ श्रावण २०७३ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App