काठमाडौं- हास्य कलाकार हरिवंश आचार्य आम दर्शकमाझ पछिल्लो समयमा 'हरिबहादुर'का रुपमा परिचित छन्। हास्य टेलिशृंखला 'मदनबहादुर हरिबहादुर'मा नकारात्मक शैलीको चरित्र निर्वाह गरेका यिनै हरिबहादुर शनिबारबाट उपन्यासका रुपमा पाठकमाझ आएका छन्। 'हरिबहादुर' नाम जुराइएको उपन्यास शनिबार मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरेे। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा 'हरिबहादुर' सार्वजनिक गर्दै हरिवंशका सहयात्री हास्य कलाकार मदनकृष्ण श्रेष्ठले अघिल्लो आत्मसंस्मरण 'चिना हराएको मान्छे' जस्तै 'हरिबहादुर'ले पनि सफलता पाउने बताए। 'पहिलो पुस्तकको सफलतापछि दोस्रो पुस्तकमा हरिवंश आएका छन्,' मदनबहादुरका रुपमा परिचित मदनकृष्णले भने, 'हरिबहादुरलाई मदनकृष्णले भन्दा बढी मदनबहादुरले चिन्दछ। हरिबहादुर आफैमा जाली, फटाहा र अरुको भलो नचिताउने पात्र हो। पुस्तकमा पनि पक्कै यस्तै चरित्र पाठकले पढ्न पाउनेछन्।'
उनले आफूलाई पनि दर्शकले 'तपाईको पुस्तक कहिले आउँछ?' भनेर प्रश्न सोध्ने गरेको स्मरण गर्दै आगामी दशैंसम्ममा पुस्तक पाठकको हातमा पर्ने खुलाए। 'झण्डै एक वर्षदेखि पुस्तक पाठकमाझ ल्याउने तयारी गरिरहेको छु। तर पारिवारिक कारणले गर्दा ढिलो भइरहेको छ। तर, दसैंसम्ममा पाठकको हातमा पुस्तक आइपुग्नेछ' उनले भने। मदनकृष्ण श्रेष्ठले पनि आत्मसंस्मरण लेखिरहेका छन्।
पुस्तक सार्वजनिकअघि हरिवंश दर्शकमाझ हरिबहादुरकै गेटअपमा प्रस्तुत हुँदै प्रहसन गरेका थिए। हातमा पुस्तक बोकेर बेच्ने शैलीमा कराउँदै स्टेजमा आउँदा दर्शकले तालीको गडगडाहटले स्वागत गरेका थिए। ऋषि धमलाको क्यारिकेचर गर्दै स्टेजमा आएका पत्रकार सुमन कार्कीसँगको प्रहसनमा हरिवंशले नेपालको राजनीतिक अवस्थादेखि छिमेकी मुलुक चीनले नेपालसम्म ल्याउन लागेको रेललाई भारतले बनाइदिनेसम्मको व्यंग्य गरेका थिए।
हरिवंशले उपन्यासकार बुद्धिसागरसँगको अन्तरसंवादमा आत्मसंस्मरण 'चिना हराएको मान्छे'मा नअटाएका कुरा दोस्रो कृतिमा समेटिएको बताए। 'टेलिशृंखला मदनबहादुर हरिबहादुरमा रहेका १५ प्र्रतिशत कुरा मात्र पुस्तकमा राखेको छु। बाँकी केही वास्तविक छन्, केही काल्पनिक पनि।' हरिवंशले आत्मसंस्मरण लेख्दा सीमित दायरमा रहेर लेख्नुपर्ने भएकाले त्यसका काल्पनिकता घुसाउनु आफैमा त्रुटिपूर्ण हुने गरेको बताए। 'तर, उपन्यास लेखनमा कुनै दायरा हुँदो रहेनछ। काल्पनिकतालाई मात्र जोडेर पनि लेख्न सकिने रहेछ ' उनले भने।
उपन्यास प्रकाशक फाइन प्रिन्टका अजित बरालले आगामी जेठ ५ गतेबाट पाठकसँग अन्तरक्रियासहित पुस्तक हस्ताक्षरका लागि देश दौडाहा गरिने बताए। हरिवंशले चार वर्षअघि आत्मसंस्मरण 'चिना हराएको मान्छे' पाठकमाझ ल्याएका थिए।
प्रकाशित: २४ वैशाख २०७४ ०५:१३ आइतबार