coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

समाजिक सञ्जालमा प्रचार

हिमाल लम्साल/खिलक बुढाथोकी

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा तान्न घरदैलो गर्नेदेखि सामाजिक सञ्जालमार्फत अन्तरक्रियासम्मका प्रचारशैली अपनाएका छन्।

यतिबेला कोही उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् भने कोही कोठाभित्र बसेर सामाजिक सञ्जालमार्फत मतदातासँग छलफल गरिरहेका छन्। विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलले घरदैलो र कार्यकर्ता परिचालन गर्ने काममा जोड दिएका छन्।

नयाँ दलहरू विवेकशील नेपाली दल, साझा पार्टीलगायतले भने फरक शैलीमा प्रचार गरिरहेका छन्। ती दलले प्रविधिको अधिकतम प्रयोग गरेका छन्। यद्यपि सबै दलले धेरथोर पुराना र नयाँ दुवै शैली अपनाएर मतदातालाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन्।

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले सञ्चारमाध्यम र घरदैलो कार्यक्रमका माध्यमले मतदातालाई समेट्ने काम गरिरहेका छन्। 'वडाका नेता तथा कार्यकर्ताले घरदैलो गरेर पार्टीका अजेन्डा जनतामाझ लागिरहेका छन्,’ जोशीले भने, ‘मचाहिँ चुनावी रणनीति बनाउनुका साथै कर्नर मिटिङमार्फत जनतामाझ पुगिरहेको छु।' सामाजिक सञ्जालमार्फत पनि जनतासँग कुराकानी गरिरहेको उनले बताए।

नेकपा एमालेले पनि काठमाडौंमा प्रचारप्रसारलाई तीव्र बनाएको छ। मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले सिंगो पार्टी संयन्त्रसँगै आफू व्यक्तिगत तबरबाट पनि चुनाव प्रचारप्रसारमा जुटेको बताए। 'चुनावको मिति नजिकिएकाले महानगरको ३२ वटै वडाका सबै  जनताका घरदैलोमा पुग्न निकै कठिन देखिन्छ,’ उनले भने, ‘त्यसैले कार्यकर्ता परिचालन गरेर पार्टीका अजेन्डा जनतासामु पुर्‍याउन लागेका छौं।’ सम्भव भएसम्म जनताको घरदैलोमा आफैँ पुग्न कसिएको उनले जानकारी दिए।

एमालेले पार्टी संगठनमार्फत प्रचारप्रसारमा प्रविधिलाई उपयोग गरेको छ। तथापि एमाले, कांग्रेसका तुलनामा नयाँ भनिएका राजनीतिक दलले प्रविधिको अधिकतम प्रयोग गरेको पाइन्छ। दलहरू फेसबुक, ट्विटर, युट्युब आदि सामाजिक सञ्जाललाई उपयोग गरेर चुनाव प्रचारप्रसारमा अक्रामक ढंगले उत्रिएका छन्। साझा पार्टीले फेसबुक लाइभमार्फत नै जनतासँग साक्षात्कार गरिरहेको जनाएको छ। साझा पार्टीले उपत्यकामा चल्ने टेम्पोमा समेत पार्टीका उम्मेदवारको तस्बिर भएका ब्यानर टाँसेर नै चुनाव प्रचारप्रसारलाई अगाडि बढाएको छ।

'जनताको घरदैलोमा मात्रै नभएर सामाजिक सञ्जालमार्फत पनि अजेन्डालाई जनताका हात–हातमा पुर्‍याउने गरी प्रचारप्रसारमा जुटेका छौं,' साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले भने, 'परम्परागत मिडिया र न्यू मिडियामार्फत जनतासँग प्रत्यक्ष छलफल गरिरहेका छौं।' सामाजिक सञ्जालमा धेरै तागत भएकाले त्यसलाई भरपुर उपयोग गर्दै आएको थापाले बताए। उनले सामाजिक सञ्जालमार्फत जनतामाझ आफ्नो अजेन्डा पुर्‍याएको जनाए। 'चुनाव प्रचारप्रसार गर्ने समय अत्यन्तै कम भएकाले पनि प्रविधिको अधिकतम प्रयोग गरिरहेका छौं,' उनले भने।

संघीय समाजवादी फोरम र नयाँ शक्ति गठबन्धनका मेयरका उम्मेदवार पवित्रमान बज्राचार्यले घरदैलो कार्यक्रममार्फत नै मतदाताको घर–घरमा पुगिरहेको बताएका छन्। 'घरदैलो र मिडिया क्याम्पेन समेत गरिरहेका छौं,' उम्मेदवार बज्राचार्यले भने, ' नेतामार्फत जनतालाई विचार बुझाउने प्रयास गरिरहेका छौं।'

विवेकशील नेपाली दलले पनि सामाजिक सञ्जालका भित्तामा प्रचारप्रसारलाई तीव्र पारेको छ। यो दलले पार्टीका मेयरका उम्मेदवार रञ्जु दर्शनाको तस्बिर र अभिव्यक्तिलाई फेसबुक/ट्विटर तथा युट्युबलगायतका सामाजिक सञ्जालमा राख्दै चुनावी सक्रियता जनाइरहेको छ। मेयरका अन्य उम्मेदवारको तुलनामा उसको प्रचारशैली पनि नयाँ प्रविधिमैत्री देखिएको छ। विवेकशीलको अजेन्डाबारे युट्युबमा धेरै भिडियो देख्न पाइन्छ।

निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिकाका मेयरका लागि दलका र स्वतन्त्र उम्मेदवार गरी २८ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित: २४ वैशाख २०७४ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App