८ वैशाख २०८१ शनिबार
राजनीति

धुलिखेल नगरपालिका मेयर उम्मेदवारका अजेन्डा

जनमैत्री कानून बनाउँछु

रमेश हुमागाईं, नेपाली काँग्रेस

कानून निर्माण, कार्यान्वयन र न्यापालिका (फैसला)समेत तीनवटै काम स्थानीय तहले गर्नेछ। यसरी स्थानीय तह हिजोभन्दा फरक हुँदा कानुन व्यवसायी भएको नाताले धुलिेखल नगरबासीका हितका लागि, जनमैत्री कानून निर्माण गर्दै राम्रो नगर र हाम्रो नगरका रुपमा विकसित गर्न एवं समृद्ध नगर बनाउन मेरो उम्मेदवारी हो।

लोकतान्त्रिक राज्यमा स्थानीय तहमा जनतालाई अधिकार दिने नेपाली काँग्रेसका नीति रहेको छ, यसलाई कार्यान्वन गर्ने मुख्य लक्ष्य हुनेछ। नेपालकै नमूना नगरको रुपमा धुलिखेलाई विकसित गर्न स्मार्ट सिटी, शैक्षिक हब, स्वास्थ्य हब, पर्यटकीय हब बनाउने काम हुनेछन्। सबै नगरबासीलाई खानेपानीदेखि सिंचाई सुविधालगायत आदीवासी, महिला, दलित, बालबालिका र जेष्ठ नागरिकका हित केन्द्रीत कार्यक्रम लागू गरिनेछ।

दुई दशकदेखि कानुन व्यवसायीका साथै सामाजिक सेवा गर्दै पार्टी हित र जनहितमा धुलिखेलमै रहेको काम गरिरहेको र सधैं यहाँको हित चिताउने, सबै सम्प्रदाय, जातजाती भाषाभाषी र क्षेत्रियताबीचको समायोजनलाई कायम राख्न सफल भएकाले मलाई मत दिनुहुनेमा विश्वस्त छु।

स्याटलाइट सिटी बनाउँछु

अशोक ब्यान्जू, मेयर, एमाले

धुलिखेल नगरलाई सद्भाव र समृद्ध नगर बनाउने उद्देश्यसहित अगाडि बढेका छौं। खानेपानी, बाटोघाटो, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतको केन्द्रका रुपमा विकास गर्दै काठमाडौं नजिकैको शहर भएकोले स्याटेलाइट सिटी र स्मार्ट सिटीको रुपमा विकास गर्ने लक्ष्यले मैले उम्मेदवारी दिएको हुँ।

आगामी पाँच वर्षभित्रमा शुद्ध र स्वस्थकर खानेपानीमा आत्मनिर्भर भएको नगर, आधारभूतदेखि माध्यमिक तथा उच्च माध्यमिकतहमा पहुँचका साथै शैक्षिक योग्यता हासिल गरेका नगरबासी, नेपालकै गिनेचुनेको गन्तव्य नगरको रुपमा स्थापित गर्नेछौं।

हालको काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, धुलिखेल खानेपानीजस्ता अन्तर्राष्ट्रिय पहिचान हुने  प्रष्ठिानहरु १२ वटै वडामा बनाउने छौं। १२ वटा वडा चिनाउने उत्पादन, १२ वटा खेलमैदान, १२ उत्कृष्ट होमस्टेसहितको हार्मोनी (सद्भावयुक्त) नगर हुनेछ। गरिबलाई पहिलो प्राथमिकता भएको सबै वडामा समानुपातिक बजेट वितरण हुनेछ।

विकासको लहरमा एमालेका विगतका राष्ट्रिय कार्यक्रम र दृष्टिकोणहरु जनताले औधी रुचाइएका हुँदा उम्मेदवारलाई पत्याएका छन्। विगतमा धुलिखेलको तत्कालीन उपमेयर र हालसम्म नगरपालिका संघको उपाध्यक्ष भएकाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचलित कानून, नियम, पद्धति र प्रणाली स्थापना गर्दै सुशासन गर्ने, आर्थिक परादर्शिता लागू गर्ने क्षमता र तागत प्रयोग गर्न सक्ने व्यक्ति हुँ। सक्षम, योग्यतावानका साथै धुलिखेललाई एकसूत्रमा बाँध्न प्रज्ञा, शक्ति र एकताको संयोजन गर्न सक्ने भएकाले मत पाउनेमा ढुक्क छु।

पर्यटनमार्फत बढी रोजगारी

सरस्वती लामा, माओवादी केन्द्र

देश र जनताको निम्ति विगतदेखि जनयुद्ध र जनआन्दोलनमा लड्दै आएको महिला हुँ र अबको स्थानीय तहमा पनि देश र जनताको पक्षमा अझै केही गर्छु भन्ने दृढताका साथ उम्मेदवार भएको हुँ।

सिंहदरबारको अधिकार गाउँसम्म भन्ने पार्टीको अवधारणा यही निर्वाचनमार्फत सफल हुँदैछ। धुलिखेल नगरलाई सामाजिक न्याय, विकास र समृद्ध बनाउँदै आगामी पाँच वर्षसम्ममा मुलुककै नमूना नगर बनाउने मेरो अजेन्डा हो। धुलिखेलको पर्यटनमा अझ बढी लगानी भिœयाएर रोजगारी सिर्जना गराउने मुख्य लक्ष्य रहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्दै उत्पीडनमामा परेका लैंगिक, भाषिक र समूदायलाई उत्थान गराउने मेरो लक्ष्य हो।

विगतदेखि नै उत्पीडनमा परेका लैंगिक, भाषिक र समुदायलाई अगाडि बढाउँदै आएको पार्टीको उम्मेदवार र आधा आकाशको प्रतिनिधित्व गर्ने भएको हुँदा मलाई मत दिनुहुने विश्वास गरेको छु।

नमोबुद्ध नगरपालिका मेयर उम्मेदवारका अजेन्डा

पाँच वर्षमा समृद्ध नगर

कुन्साङ लामा, नेपाली काँग्रेस

नगरबासीले अनुभूति हुने गरी नेपाली काँग्रेसले काम गर्नेछ। यसअघि साविकको दाप्चा काशीखण्ड नगरपालिका हुँदा पनि नगरबासीको चाहना बमोजिम विकास निर्माणका कामहरु गरेका थियौं। यही योजना अनुसार अब नमोबुद्ध नगरपालिकाबासीको सेवक भएर काम गर्ने प्रतिबद्धताका साथ मैले उम्मेदवारी दिएको हुँ।

नमोबुद्धदेखि कोटतिमाल हुँदै रेन्जेन दोर्जेको ऐतिहासिक दरबार तेमालसम्मलाई पर्यटकीय गन्तव्य बनाउने, कृषि, जडिबुटी तथा नगदेबाली उत्पादनमा प्रविधि विस्तार, सडक निर्माण र सुलभ यातायातको सुनिश्चतता, कृषि बजारीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा एवं आसपासमा व्यवस्थित शहर विकासका लागि प्राथमिकता दिइने छ। यी लगायत पार्टीको घोषणापत्रका मार्गदर्शनलाई समेत आधार बनाउँदै ५ वर्षमा समृद्ध नगर बनाइने छ।

विगदेखि नै विकासको काम र जनताको सेवामा निरन्तर लागिरहेकोले यहाँका जनतासँग मेरा निकटता बढी छ। आफ्नो सम्पूर्ण समय जनताको सेवामा समर्पित भएको र जनताका सबै समस्या समाधानका लागि जहिलेसुकै तत्पर रहने व्यक्ति भएकाले मलाई नगरबासीहरुले विश्वास गर्नुहुनेछ।

वर्षेनी पाँच लाख पर्यटक

टिपी शर्मा तिमल्सिना, मेयर, एमाले

लामो समयदेखि जनताको बीचमा रहेर सेवा गर्दै आएको हुँ। पार्टीको पुरानो, अनुभवी र हालको नगर अध्यक्ष भएकाले नगरबासीको चाहना र पार्टीको निर्णयमा उम्मेदवार भएको हुँ। भूगोलका हिसाबले अवसर र चुनौती दुवै भएको नगरपालिका हो यो। सिन्धुली राजमार्ग, पुण्यभूमि नमोबुद्ध र ऐतिहासिक दाप्चा बजारजस्ता अवसर छन् भने थपिएका दुई गाविस र पुरानै नगरपालिकामा विकास निर्माणका थुप्रै चुनौती छन्।

पुण्यभूमि नमोबुद्धमा वर्षको ५ लाख पर्यटक भिœयाउन सकिने योजना बनाएको छु। एक जनासँग ३० रुपैंयामात्रै लिन सकेमा ठूलो रकम उठ्छ र यसबाट समग्र नगरको विकास गर्न सकिन्छ। कृषि, पर्यटन, वातावरण र बालमैत्री नगर बनाउने मुख्य एजेण्डा छ। नौबिसे–भकुण्डे बुच्चाकोटसम्मलाई बालश्रममुक्त क्षेत्र घोषणा, पीपलटार–गहते–दाप्चा बजारलाई बन्दीपुरकै मोडेलमा बनाइने छ। कोटतिमाल, भेडाबारी, सातमूल क्षेत्रलाई विकास गर्ने, बुद्धचित्त दानाको प्रशोधन र नर्सरीमा जोड दिँदै खेतीलाई व्यापकता दिइने छ।

विगतमा पार्टी प्रतिनिधि भएर काम गर्दा जनताले मेरो काम र सक्रियता देख्नु भएको छ र थपिएका दुई गाविसलाई समेटेर लैजान सक्ने भएकाले मलाई जनताले रोज्नु हुनेछ।

सडक सञ्जाललाई प्राथमिकता

रत्न लामा, माओवादी केन्द्र

दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट प्राप्त भएका उपलब्धी स्थापनाका लागि र नमोबुद्ध नगरपालिकालाई नमूना नगर बनाउन उम्मेदवार भएको हुँ। यस नगरपालिकाको सम्पदा संरक्षण, पुरातात्विक विकासमा जोड दिइनेछ। नगरपालिका क्षेत्रमा मात्रै नभई नगरसँग जोडिएका गाउँपालिकासम्म पुग्ने सडकलाई पूरा गराउन प्राथमिकता दिनेछु।

शंखु–डाल्टारदेखि भालुखर्क–बसेरी–गहते–पीपलटार–खाक्सी हुँदै चौकीडाडाँसम्म सिन्धुली मार्गको वैकल्पिक सडकलाई सम्पन्न गराउने पहल हुनेछ। यस्तै, पात्लेगाउँबाट नमोबुद्ध हुँदै चौकीडाँडासम्म पुग्ने र  शंखुफेदी हुँदै कुरगाउँसम्मको सडकलाई प्राथमिकतामा राखेको छु। भुकण्डेबेसी केन्द्रबाट गाउँ–गाउँ गएका सहायक सडकका उकालो–ओरालोमा पीच गर्छौं। बृहत खानेपानी योजना, खोला किनारहरुमा सडक विस्तारका साथै बिपी राजमार्गआसपमा बस्तीहरुको विकास  गर्नेमा प्रतिबद्धता गरेको छु।

जसले विकास गर्ने प्रतिबद्धता गर्छ, जनताले त्यसैलाई मत दिने हो।  सिंहदरबारको अधिकार गाउँसम्म ल्याउने पार्टीको अभियानको पहरेदार भएकाले जनताले मलाई भोट दिनु पर्छ।

प्रकाशित: २४ वैशाख २०७४ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App