coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरा-लेखनाथ महानगर : युवालाई ठाउँ छैन

पोखरा- स्थानीय तह निर्वाचनमा मुलुककै ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका रामजी कुवँर ६१ वर्षका भए। मेयरका अर्का उम्मेदवार एमालेका मानबहादुर जिसी ५७ वर्ष पुगेका छन्।

६० वर्ष सेरोफेरोका यी उम्मेदवारद्वय अहिले एकअर्कालाई हराएर महानगरको नेतृत्व लिने दौडधुपमा छन्।

कुँवर र जिसी मात्र होइनन्, पोखराको नेतृत्व लिन चाहेर उम्मेदवारी दिएका अन्य १३ जना उम्मेदवार पनि पाका छन्। युवा वर्गीकरणको १६–४० वर्ष समूहमा जम्मा दुईजनाले मेयरमा उम्मेदवारी दिएका छन्। युवाको वर्गीकरणमा परेर उम्मेदवारी दिनेमा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका ३९ वर्षीय ऋषिप्रसाद तिमिल्सेना र स्वतन्त्र उम्मेदवार २५ वर्षीय अमनविक्रम थापा हुन्।

पछिल्लो जनगणनाअनुसार नेपालमा युवाको संख्या ४० प्रतिशत भएपनि युवापुस्ताले स्थानीय तहमा मुख्य दलबाट उम्मेदवार पाउन भने सकेनन्।

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल राजनीतिक दल युवालाई जिम्मेवारी दिन नचाहने बताउँछन्। 'नेतृत्वमा युवालाई ठाउँ दिनु हुँदैन भन्ने मानसिकता अझै पनि दलहरुमा कायम छ,' उनले भने, 'युवालाई ठाउँ दिए आफ्नो भूमिका नहुने सोच दलमा छ।'

'हरेक दलमा युवाले हस्तक्षेप गर्न सकेका छैनन्। पाकाहरूले नै राजनीति गर्न चाहेका हुन्,' उनले भने। युवाले नेतृत्व लिन सके भविष्यमा जनताले राम्रो सेवा पाउने उनले बताए।

उनका अनुसार अहिलेका युवाले प्रविधि र विश्व परिवेश बुझेका छन्  तर, दलहरू पुरानै ढर्रामा अघि बढ्दा युवाले ठाउँ पाउन गाह्रो भएको उनी बताउँछन्।

पोखरा–लेखनाथ महानगरको नेतृत्वका लागि उम्मेदवारी दिएका राष्ट्रिय मुक्ति आन्दोलन नेपालका ऋषिप्रसाद तिमिल्सेना युवालाई अघि बढाउनुपर्छ भनेर उम्मेदवारी दिएको बताउँछन्। 'ठूला दलले युवालाई कहिल्यै ठाउँ दिएनन्। आफूबाहेक राजनीतिमा कोही छैन भन्ने पाका नेतालाई भ्रम छ,' तिमिल्सेना भन्छन्, 'युवालाई ठूला शक्ति भन्ने दलले ठाउँ दिउन् भनेर दबाब दिनका लागि मैले उम्मेदवारी दिएको हुँ।'

हाल सानो आकारको दल भए पनि युवालाई अघि सार्नुपर्छ भनेर पार्टीले आफूलाई अवसर दिएको उनले बताए। 'हामीले देशभर आफ्नो दलबाट युवालाई उम्मेदवार बनाएका छौं,' उनले भने। युवालाई ठाउँ नदिएर दलले ठूलो जनमतलाई बेवास्ता गरेको पनि उनले बताए।

निर्वाचन कार्यालयका अनुसार पोखरा–लेखनाथ महानगरमा उपमेयरका अधिक उम्मेदवार पनि पाका छन्। उपमेयरमा ११ जनाको उम्मेदवारी छ। तीमध्ये राप्रपाका रमेशबहादुर खत्री (३९ वर्ष) र स्वतन्त्र उम्मेदवार सिरोज कोइराला (३८ वर्ष) वर्षका छन्। मुख्यसहित अन्य सबै दलका उम्मेदवारले युवाको उमेर पार गरिसकेका छन्। युवालाई ठाउँ नदिनुमा दलहरूको पुरानो सोच रहेको उपमेयरका उम्मेदवार कोइराला बताउँछन्।

'बूढाहरुले सबै कुरा ओगटेका छन्। पछाडि बसेको ठूलो जमताको जाम खुल्नै सकेन,' उनले भने, 'पुरानो सोच बोकेका मान्छेले नछाडेसम्म युवाले ठाउँ पाएनन्।' मूल नेताको प्रभावमा पर्न सके मात्र उम्मेदवार बन्न सक्ने अवस्था रहेको उनले बताए। 'समयको मागअनुसार युवालाई पुरानो ढर्राका दलले कहिल्यै ठाउँ दिएनन्। अब पूरै नयाँ पुस्ता आउनुपर्छ,' कोइराला भन्छन्, 'पुरानो पुस्तालाई पूरै 'फ्लस' गर्नुपर्छ।'

युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य प्रकाशदेव पालिखे दलहरूको युवाहरूप्रतिको सोचाइमा परिवर्तन नभएको बताउँछन्। 'कुनै पनि दल युवालाई अघि बढाउन चाहँदैनन्। १९ वर्षपछि हुन थालेको निर्वाचनमा युवालाई अवसरै दिइएन,' उनले भने, 'युवालाई नेतृत्वदायी भूमिका पहिल्यै दिनुपर्छ। नत्र कार्यकर्ताको रुपमा मात्र राख्नु हुँदैन।'

युवालाई कार्यकर्ताका रूपमा राखेर झन्डा बोक्ने र जुलुसमा सहभागि गराउने काम मात्र दलले गरेको उनले बताए। 'युवा प्रविधिमैत्री हुन्छन्, देशकाल बुझेका हुन्छन्। सोचाइ फराक हुन्छ,' पालिखेले भने, 'तर दलहरुले यो कुरा कहिल्यै अघि सारेनन्।'

राष्ट्रिय युवा परिषद्का उपसचिव धु्रवराज पौडेल क्षमता, सीप, उद्यमशीलता, दक्ष हुँदाहुँदै पनि युवाले राजनीतिमा अग्रणी अवसर नपाएको बताउँछन्। 'अब राज्यले कुनै पनि राजनीतिक दलले युवालाई केही ठाउँ अनिवार्य रूपमा दिनुपर्छ भनेर नीतिमा समेट्नुपर्छ,' पौडेल भन्छन्, 'त्यसो हुन सके मात्र युवाले अवसर पाउँछन्।' राज्यले सबै क्षेत्रमा युवालाई नै अघि सार्नुपर्ने उनको भनाइ छ।

'युवामा जोस, जाँगर, गतिशिलता र केही गरौं भन्ने भावना हुन्छ। मानसिक र शारिरिक रूपमा पनि युवा सक्षम हुन्छन्,' पौडेल भन्छन्, 'सूचनाप्रविधिको प्रयोग, देशविदेशको अनुभव, सिकाइ उनीहरूमा हुन्छ।' पुरानो अनुभवका नेतृत्वलाई पूरै बेवास्ता गर्न नमिले पनि युवालाई उचित ठाउँ दिनुपर्ने पौडेलको भनाइ छ।

'पाका नेतासँग अनुभव लिएर युवालाई अघि सार्न जरुरी छ,' उनले भने।

राजनीतिक दलका नेताहरू युवालाई पूरै बेवास्ता गरिएको भनाइलाई स्वीकार गर्दैनन्। कांग्रेस कास्कीका जिल्ला सदस्य नवीन सिग्देल लामो समय स्थानीय निर्वाचन नभएकोले जनताको सेवा गर्ने अग्रजको चाहना मार्न नसक्दा युवाले अवसर नपाएको बताउँछन। 'कांग्रेसका युवा असक्षम होइनन्, नेतृत्व लिन नसक्ने पनि होइनन्, तर व्यवस्थापनमा चुनौती हुँदा युवाले कम ठाउँ पाएका हुन्'' उनले भने, 'युवालाई ठाउँ नदिएको होइन व्यवस्थापन गरेको हो।'

एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी महानगरको नेतृत्वमा नभए पनि युवाहरूले महागरकै वडा र गाउँपालिकामा जिम्मा पाएको बताउँछन्। 'सबैभन्दा बढी युवालाई समेटेको दल एमाले हो,' उनले भने, 'पुरानो र नयाँलाई नेतृत्वमा मिलाउन खोज्दा महानगरमा अवसर नभएको हो। तर, युवालाई अवसरबाट टाढा राखेको होइन।'

प्रकाशित: २४ वैशाख २०७४ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App