coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीद्वारा नयाँशक्तिमाथि आक्रमण

गोरखा- शनिबार साँझ माओवादी केन्द्रका कार्यकर्ताले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेका छन्। चुनाव प्रचारका क्रममा बोलेरो जिप चढेर गोरखाको लक्ष्मीबजारबाट सदरमुकामतर्फ आउँदै गरेको नयाँ शक्तिका कार्यकर्तालाई गोनपा ९ लक्ष्मीबजारमा गाडी रोकेर एक्कासि कुटपिट गरेको नयाँ शक्तिका नगरपालिकाका मेयर उम्मेदवार ज्ञानेन्द्र कुमालले बताए।

माओवादीले नयाँ शक्तिले चुनाव प्रचारमा प्रयोग गरेको ग २ च ३३६४ नम्बरको बोलेरो जिप तोडफोड गरेका छन्। मेयर उम्मेदवार ज्ञानेन्द्र कुमालको बा ३७ प २६०४, बा ४० प ६४२७ नम्बरको मोटरसाइकलमा पनि तोडफोड गरेका छन्। माओवादी कार्यकर्ताले एक्कासि गाडीमाथि आक्रमण गरेको र त्यहाँ रहेको कार्यकर्तालाई कुटपिट गरेको नयाँ शक्तिले जनाएको छ। कुटपिटबाट सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। माओवादी केन्द्रले भने आक्रमण गर्ने कुनै योजना नभएको जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए। 'कुनै योजना छैन, हाम्रा कार्यकर्ताले होइन होला', उनले भने। नयाँ शक्तिका कार्यकर्ताले भने एक्कासि बाटो छेकेर आक्रमण गरेको दाबी गरेका छन्। गोरखा नगरपालिकामा नयाँ शक्तिबाट पूर्वसभासद् ज्ञानेन्द्र कुमाल र माओवादी केन्द्रबाट कृष्ण राना उम्मेदवार छन्। नयाँ शक्तिका संयोजक भट्टराई चुनाव प्रचार प्रसारमा शनिबार गृहजिल्ला आएकै दिन कार्यकर्ता कुटिएका छन्।

कार्यकर्ता आक्रमणको विरोधमा केहीबेर नयाँ शक्तिका कार्यकर्ताले सडकमा नाराजुलुस गर्दा सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले नयाँ शक्तिका कार्यकर्तामाथि कुटपिट भएको र कुटपिट गर्नेको खोजी गरिरहेको बताए। उनले भने 'अहिले अवस्था सामान्य छ। प्रहरी परिचालन बढाएका छौं।'

प्रकाशित: २४ वैशाख २०७४ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App