coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चाँगुनारायणमा चुनाव : नमुना नगर बनाउने प्रतिबद्धता

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाका  मेयरका उम्मेदवारले आफूहरू विजयी भए नगरलाई नमुनाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर रहेको नगरपालिका क्षेत्रलाई नमुना नगरपालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता उनीहरूले जनाएका हुन्।

नेपाल मजदुर किसान पार्टीका तर्फबाट मेयरका उम्मेदवार न्हुछेभक्त फोजूले पछिल्लोपटक नगरपालिकाका रूपमा घोषित चाँगु क्षेत्रलाई नगरपालिकासरहको विकास निर्माण गरिदिने आफ्नो मुख्य अजेन्डा रहेको सुनाए। 'नगरपालिका भए पनि गाविसस्तरमै रहेको यो ठाउँलाई साँचो अर्थमा नगरपालिकास्तरमा हुने विकास निर्माणका काम गर्ने योजना छ, साबिक छालिङ गुडी (हाल चा“गुनारायण नगरपालिका– ५) का ५२ वर्षीय फोजूले भने, 'विकास निर्माणलाई तीव्र गति दिने मेरो पार्टीको योजना हो।'

यही कारण गणेश माध्यमिक विद्यालय छालिङको प्रधानाध्यापकबाट राजीनामा दिई चुनावी मैदानमा उत्रेका उनले स्पष्ट पारे। नेमकिपाको बलियो पकड रहेको भक्तपुर क्षेत्र नं. १ मा अवस्थित चा“गुनारायणमा आफू विजयी भए विकास निर्माणका १२ बुँदे योजना उनले सुनाए।

राष्टिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले जिल्लामा पर्यटकीय क्षेत्रका रूपमा परिचत रहेर पनि पछाडि परेको चाँगुनारायण नगरपालिका क्षेत्रलाई विकसित नगरका रूपमा विकास गर्ने योजना सुनाए। 'विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्म यहाँका पर्यटकीय क्षेत्र हुन्। यस क्षेत्रलाई सुन्दर, शान्त र सवच्छ चाँगुनारायण बनाउने लक्ष्यका साथ मैले यहाँ पदमार्ग निर्माण, भ्यु टावर निर्माण गर्नेदेखि पर्यावरणलाई पर्यटन आकर्षणका रूपमा विकास गरेर चाँगुनारायणको आर्थिक एवं भौगोलिक विकास गर्ने लक्ष्य लिएको छु', उनले बताए। 

नगरपालिका भए पनि पूर्वाधारहरू पुग्न सकेका छैनन्, त्यसैले पूर्वाधारयुक्त प्रविधि मैत्री नगरपालिका बनाउँदै आगामी १० वर्षमा यस नगरपालिकालाई सुविधासम्पन्न स्मार्ट सिटी बनाउने योजना रहेको उनले सुनाए।

एमालेका तर्फबाट मेयरका उम्मेदवार सोम मिश्रले नगरको धार्मिक, सांस्कृतिक पर्यटन विकासका साथै यहाँको समग्र विकासमा लागिपर्ने बताए। उनले वीर अस्पतालको चाँगुमा स्थापना गरी यस क्षत्रेका मात्रै नभई भक्तपुर जिल्लाकै नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गराउने बताए। उनले चाँगु क्षेत्र आफैंमा पर्यटकीय क्षेत्र भएकाले यहाँको आन्तरिक तथा बाह्य पर्यटनलाई अझै मजबुद बनाउँदै नमुना पर्यटकीय नगरका रूपमा चाँगुलाई विकास गर्ने जानकारी दिए।

यो नगरपालिकामा नेपाली कांग्रेसबाट राजाराम खड्का र माओवादी केन्द्रबाट शिव अधिकारीले मेयरमा उम्मेदवारी दिएका छन्। भक्तपुरको चाँगुनारायण, नगरकोट, छालिङ, ताथली, सुडाल, वागीश्वरी, दुवाकोट र झौखेल गरी आठ गाविस मिलाएर चाँगुनारायण नगरपालिका घोषणा गरिएको थियो। भक्तपुरमा भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक गरी चार नगरपालिका छन्।

प्रकाशित: २४ वैशाख २०७४ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App