coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कीर्तिमानको धोको अधुरै

काठमाडौं- वृद्ध उमेरमा सगरमाथा शिखर आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न गएका नेपाली आरोही मीनबहादुर शेरचनको निधन भएको छ। ८६ वर्षीय आरोही शेरचनको शनिबार साँझ ५:१४ बजे सगरमाथा आधारशिविरमा निधन भएको हो।

८६ वर्षमा विश्वको सर्वोच्च शिखर आरोहण गरेर कीर्तिमान कायम गर्ने धोको बोकेर निस्किएका मीनबहादुर शेरचनको आधारशिविरमा निधन।

उनले एक दशकअघि ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्वकै वृद्ध व्यक्तिको रेकर्ड कायम गरेका थिए। त्यसपछि जापानी आरोही युचिरो मिउराले ८० वर्षको उमेरमा सगरमाथा चढेर शेरचनको रेकर्ड तोडेका थिए। त्यही 'इख' लिएर नयाँ कीर्तिमान कायम गर्ने धोको बोकेर म्याग्दी तातोपानीका शेरचन 'मीनबहादुर एभरेस्ट एक्सपिडिसन' दलको नेतृत्व गर्दै वैशाख ३ मा त्यसतर्फ गएका थिए। सगरमाथा आधारशिविर पुगेपछि उनी वातावरणमा घुलमिल (एक्लिमटाइज) हुन आधारशिविरबाट पहिलो क्याम्प, खुम्बु आइसफल ओहोरदोहोर गरिरहेका थिए।

'आधारशिविरमै रहेका बेला शेरचनको निधन भयो,' आधारशिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले शनिबार नागरिकसँग भने, 'हृदयघातका कारण शेरचनको निधन भएको प्रारम्भिक अनुमान छ। उनको शव आइतबार हेलिकोप्टरमार्फत काठमाडौं पठाउँछौं।'

राजधानीको समिट ट्रेक नेपालको व्यवस्थापनमा गएको शेरचनको आरोहण दलमा सात सदस्य थिए। शेरचन राजधानीबाट हेलिकोप्टर चार्टर गरी सोलुखुम्बुको लुक्ला झरेका थिए। त्यहाँबाट उनी पदयात्रा गर्दै सगरमाथा आधारशिविर पुगेका थिए।

आफू स्वस्थ रहेको बताउँदै आएका शेरचनले यसपालि शिखरमा पुगेरै छाड्ने घोषणा त्यसतर्फ जानुअघि काठमाडौंमा गरेका थिए। ७० वर्षको उमेरमा सन् २००३ मा सगरमाथा शिखर पुगेर संसारकै वृद्ध व्यक्तिको रेकर्ड बनाएका जापानी आरोही मिउराको रेकर्ड शेरचनले २००८ मा तोडेका थिए। त्यसबेला शेरचन ७६ वर्षका थिए। त्यसपछि शेरचनको नाम 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स' मा अंकित भएको थियो।

शेरचनको रेकर्डलाई चुनौती दिँदै मिउराले पुनः पाँच वर्षपछि २०१३ मा सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसबेला उनी ८० वर्षका थिए। त्यसपछि यस्तो रेकर्ड नेपालीकै नाममा हुनुपर्छ भन्ने दृढताका साथ शेरचन २०१५ मा आरोहणमा निक्लिएका थिए। तर, भूकम्पका कारण त्यसबेला सगरमाथा आरोहण स्थगित गरिएपछि उनी चढ्न पाएनन्। भूकम्पका कारण हिमपहिरो जाँदा डेढ दर्जनभन्दा बढी आरोहण सहयोगीले ज्यान गुमाएका थिए। 

पूर्वबेलायती गोरखा सैनिक शेरचनले विश्वशान्ति र पृथ्वीको रक्षाका लागि सगरमाथा आरोहण गर्न लागेको बताएका थिए। उनको आरोहणलाई बेलायतमा बसोबास गरिरहेका नेपाली आबद्ध विभिन्न संघसंस्थाले सहयोग गरेका थिए।

'उमेरले बूढो भए पनि मेरो जोस, जाँगर र अठोट बूढो भएको छैन,' सगरमाथा आरोहणमा जाने घोषणा गर्न काठमाडौंमा २०७३ फागुन अन्तिम साता आयोजित पत्रकार सम्मेलनमा शेरचनले भनेका थिए, 'यसपालि म कुनै हालतमा शिखर पुग्छु र मैले रेकर्ड राखेर आउँछु। यो विश्व कीर्तिमान नेपालीकै नाममा हुनुपर्छ।'

(सोलुखुम्बु संवाददाता राधा ढुंगानाको सहयोगमा)

  

प्रकाशित: २४ वैशाख २०७४ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App