coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'कु' रोक्न जनताको बलिदानी

टर्की- टर्कीमा विद्रोही सैन्य समूहले सत्ता हत्याउन गरेको प्रयास जनताले विफल पारिदिएका छन्। यस क्रममा सेनाको गोली लागेर कम्तिमा २ सय ६५ जनाको मृत्यु भएको छ। एक हजारभन्दा बढी घाइते छन्।

राष्ट्रपति स्वदेशमा नरहेको मौका छोपी सेनाको असन्तुष्ट समूहले शनिबार त्यहाँ 'कु' गर्ने प्रयास गरेको हो। केही दिनयता मार्मिससमा बिदा मनाइरहेका राष्ट्रपति रेसेप तैयप एर्डोगन सेनाले 'कू' गर्न लागेको खबर पाएलगत्तै शनिबारै स्वदेश फर्किए। उनी तत्काल सडकमा उत्रिएर जनताको अधिकार रक्षार्थ आफूलाई सघाउने अपिल गरे। त्यसलगत्तै उनको समर्थन र सेनाको विपक्षमा हजारौं सडकमा ओर्लिए। धेरैका हातमा टर्कीको राष्ट्रिय झन्डा फहराइरहेको थियो। उनीहरूले सत्ता नियन्त्रणमा लिने योजनासाथ सडकमा छ्यापछ्याप्ती निस्किएका सैनिकको सामना गरे। सैन्य ट्यांक तथा सवारीसाधन आवतजावत ठप्पै पारिदिए। विद्रोहीलाई नियन्त्रणमा लिन सेना, प्रहरीलगायत सुरक्षा संयन्त्र पनि जिम्मेवारीसाथ खटेका थिए।

यसअघि शनिबार बिहान टेलिभिजनमार्फत सत्ता कब्जा गरेको घोषणा गरी सैन्य समूह सडकमा आएपछि सेना र जनसमूहबीच भिडन्त भएको थियो।

सत्तारूढ एकेपी पार्टीका समर्थक देशैभर सैनिकसँग भिडिरहेका थिए। राजधानी अंकारासहित इस्तानबुललगायत ठूला सहर जनताले सडक कब्जा गरेका थिए। राष्ट्रपति एर्डोगनका समर्थक, प्रहरी र सेनाको पहलमा 'कू' विफल भएको हो।

अधिकारीले दुई ठूला सहर इस्तानबुल र अंकारामा शुक्रबार राति गोलाबारी एवम् विस्फोटका घटनापछि सेनाका ३ हजारभन्दा बढी सदस्यलाई पक्राउ गरिएको जनाएका छन्। २९ कर्नेल र पाँच जेनरललाई पदबाट हटाएको बताइएको छ।

चौतर्फी प्रतिकारपछि इस्तानबुलस्थित बोसफोरस नदी पुलमा दर्जनौं सेनाले बख्तरबन्द गाडीबाट हात उठाएर आत्मसमर्पण गरेको भिडियो टर्कीको टेलिभिजनले प्रस्तुत गरेको छ। राजधानी अंकारामा शनिबार साँझसम्म पनि संघर्ष जारी रहेको खबर थियो। त्यसअघि त्यहाँस्थित संसद्भवनमा रातभर बख्तरबन्द गाडीमार्फत आक्रमण गरिएको थियो।

प्रधानमन्त्री बिनाली यल्दरिमले सत्ता हत्याउन खोज्नेले कब्जामा लिएको लडाकू विमान आक्रमण गरेर खसालिदिन सेनालाई निर्देशन दिएका छन्। वि›ोही सैनिकले प्रयोग गरेको कम्तीमा एउटा हेलिकप्टर खसालिसकिएको छ।

समाचारसंस्था रोयटर्सका अनुसार 'कू' समर्थक सैनिकले उसलाई पठाएको इमेलमा उनीहरू अझै लडाइँ गरिरहेको बताएका छन्। करिब १३ वर्षदेखि शासन गरिरहेका राष्ट्रपति एर्डाेगनका विरुद्ध टर्कीमा विद्रोहको आवाज उठिरहेको थियो। त्यही क्रममा पछिल्लो समय विभिन्न आन्दोलन सुरु भएका थिए। शुक्रबार राति टर्कीका सैनिक दुई भागमा बाँडिएर सत्ता हत्याउने प्रयास गरेको एजेन्सीले जनाएका छन्।

प्रकाशित: २ श्रावण २०७३ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App