८ वैशाख २०८१ शनिबार
अन्य

२०७३ मा चम्केका महिला खेलाडी

सातौँ खेलकुदकी हिरो कान्छी माया
गत पुसमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा एथ्लेटिक्स खेलाडी कान्छी माया कोजुको खूब चर्चा भयो । खेलकुदको सबैभन्दा ठूलो उत्सव मानिने राष्ट्रिय  खेलकुद करिब एक साताभरि पूर्वाञ्चलमा चल्यो । जसमा कोजुले एथ्लेटिक्समा दुई स्वर्ण जितिन् । बृहत् राष्ट्रिय खेलकुदमा तीन पटक सहभागी भइसकेकी कोजुले पहिलो पटक स्वर्ण पदक हात पारेकी हुन् । भक्तपुरको ब्यासीमा २०३८ सालमा जन्मेकी उनी २०५३ सालदेखि खेलकुदमा लागेकी हुन् । राष्ट्रिय खेलकुदमा पहिलो पटक २०५५ सालमा उनले सहभागिता जनाएकी थिइन् । नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा दुई रजत पदक जितेकी कोजुको राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने धोको यस पटक पूरा भयो । सशस्त्र प्रहरी बलमा जागिरे कोजु सन् २०१४ को एथेन्स ओलम्पिकमा सहभागी भएकी थिइन् । तीन पटक दक्षिण एसियाली खेलकुदमा सहभागी भइसकेकी उनले चार पटक एसियाली खेलकुदमा समेत भाग लिएकी छिन् ।

साहसी मीरा
मीरा राई यो वर्षको अर्को चर्चित नाम हो । नेसनल ज्योग्राफिकले प्रत्येक वर्ष सार्वजनिक गर्ने ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ दी इयर)को यो वर्षको अवार्ड जितेपछि उनको चर्चा चुलिएको हो । कक्षा छमा पढ्दैताकादेखि माओवादीमा लागेकी मीराले करिब दुई वर्ष पूर्णकालीन भएर काम गरिन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य ठहरिएकी भोजपुरकी २७ वर्षीया मीरा विदेश जाने योजनाले काठमाडौँ छिरेकी थिइन् । तर, पछि मलेसियाको भिसा रद्द गरी उनी खेलमा लागिन् । काठमाडौँ वरपर शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अस्ट्रेलियालगायत देशमा अल्ट्रा दौडमा सहभागी भई सफलता हात पारिन् । सन् २०१६ मा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि चर्चित बनेकी हुन् ।

सानी प्रतिभाको ठूलो करामत
उमेरले प्रतिभा माली १५ वर्षकी मात्रै हुन् । उमेरले सानै भए पनि  भलिवल खेलमा प्रतिभाले ठूलै सफलता हात पारेकी छिन् । न्यू डायमन्ड एकेडेमीमा  कक्षा १० मा अध्ययनरत प्रतिभा न्यू डायमन्ड क्लबबाटै खेल्छिन् । उनी नेपालकी राष्ट्रिय भलिबल खेलाडीसमेत हुन् । भारतमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई कास्य पदक दिलाउन सफल उनी यसै वर्ष अन्य तीन खेलमा सर्वोत्कृष्ट खेलाडी र दुईमा बेस्ट स्पाइकर पनि घोषित भइन् । पोखरामा आयोजित खुला भलिबल प्रतियोगिता, मदन–पासाङ स्मृति कप र प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि उनले हासिल गरिन् । त्यस्तै, शेरबहादुर खड्का स्मृति र ढोरपाटन डबल लिगमा बेस्ट स्पाइकर घोषित भइन् ।

अब्बल निशा
ललितपुर, इमाडोल निवासी २० वर्षीया निशा रावल तेक्वान्दो खेलमा अब्बल प्रदर्शन गरिरहेकी छिन् । घरेलु प्रतियोगितामा उनी ७३ केजी माथि तौल समूहमा खेल्दै आएकी छिन् । निशाले हङकङ एसियन सिटी गेम र काठमाडौँमै भएको माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । जेन्जु इन्टरनेसनल ओपन च्याम्पियनसिपमा उनले रजत जितेकी छिन् । सन् २०१४ को इन्चोन एसियाडमा सहभागी भएकी निशाले गत साउन ब्राजिलको रियो दी जानिरोमा आयोजना भएको ओलम्पिक खेलमा पनि सहभागिता जनाइन् । उनले वाइल्ड कार्डमार्फत रियो ओलम्पिकमा सहभागी हुने मौका पाएकी थिइन् । ओलम्पिकमा उनले ६७ केजी माथि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तेक्वान्दोले आशा गरेको खेलाडीका रूपमा चिनिन्छिन्, निशा ।

जुडोमा जमेकी फुपुल्हामु
पूर्वी ताप्लेजुङमा जन्मेकी फुपुल्हामु खत्री अहिले नेपाली खेलकुदकी एक चम्किलो तारा हुन् । सानैदेखि जुडो खेल्ने खत्रीले भारत, मेघालयको सिलोङमा आयोजित १२ औँ सागमा स्वर्ण पदक जितेपछि उनको चर्चा चुलिएको हो । भारतीय खेलाडीलाई हराउँदै उनले स्वर्ण पदक हात पारेकी हुन् । जुडो खेलमा नेपाललाई अझै पदक दिलाउने चाहना काठमाडौँमा बीबीएस अध्ययनरत २० वर्षीया खत्रीको रहेको छ । १२ औँ साग खेलमा नेपाललाई स्वर्ण दिलाएपछि ब्राजीलको रियो दी जानिरोमा आयोजित ओलम्पिकका लागि उनी छनोटमा परिन् । ओलम्पिकमा नेपालको राष्ट्रिय झन्डा बोक्ने जिम्मेवारीसमेत पाएकी थिइन् ।

 

 

प्रकाशित: २३ वैशाख २०७४ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App