अमृता स्मृति
तारा
तारा नउदाएको रातमा सुतिरहेकी मैले
सधैंजसो आफ्ना सपनाहरूमा
लाटोकोसेरोले जीवनको हरियो तार चुँडाएर
पहेँलो तारले अड्डा जमाएको देख्थें।
श्रवण गरिरहन्थें
मेरो जीवनको रंगीन पाना चोरेर
रात्रिचराहरू उडेको
र, भन्न सक्दैनथें
मेरो जीवनको सिकारी मै हुँ
र, आहारा पनि मै हुँ भनेर
सोच्थें
सपनाको गह्रौं भारी तलतिरै झोलिनेछ
सायद मेरा सपना स्थगित हुनेछन्।
महलका बुट्टेदार ‰यालमा
आफ्ना आँखा टाँसेर आएका छैनन् मेरा सपनाले
सायद त्यसैले
मेरो मझेरीमा पनि चम्किलो ताराको उदय भएपछि
मेरो तातेमा तिमीले पनि ताते गरिदिँदा
लाग्छ, सडकैसडक बिस्तारै
हिँडिरहेछन् मेरा सपनाहरू
अचेल
कविताका प्रत्येक हरफमा
तिमीले विम्बको रूप लिएर प्रवेश गरेदेखि
कविता, कविता भएजस्तो लाग्छ।
अनि सपना, विपना भएजस्तो भान हुन्छ।
जसरी तिमीले मेरो कलमको मसीहरूमा
आफ्ना सपना देखिरह्यौ
त्यसरी नै तिम्रो आगमनले
समयलाई नै सुसज्जित तुल्याइदिएको यो क्षणमा
मैले पनि मेरो ताराको निमित्त
लैलाको हृदय बोकेर
वसन्तको प्रीत भर्न सकिरहुँ।
नयाँ समय
महाशय!
के भन्न सक्छौ तिमी
नयाँ वर्षको आगमनमा
सेलाएको अगेनामा बसेर
मेरी आमाले देखेको आगोको सपना कस्तो थियो?
के चिनेका छौ तिमीले मेरा बाका पाखुरीलाई?
अनि, विद्यालयको सपना बुन्दै
गुलाफी भविष्य बनाउने रहर कुल्चिएर
साँघुरा खेतका गह्रामा
समय उडाइरहेका ती नानीलाई?
तिमी त व्यस्त छौ
स्वार्थका सपना बुन्दै
समाजको ऐनामा पिठ्युँ दल्न
भोका पिँढीहरूलाई सान्त्वना दिन
तिमीले वर्षौं अघि बाँडेको सपना पहेंलिएका बेला
भरिलो आशा बोकेर आएको
यो नयाँ वर्षको शान्तिको शान्त श्वासलाई
हावामा बिन्ती नमिसाउ।
नववर्ष उत्साह बनेर
तिम्रो र मेरो मझेरीमा
लमतन्न सुतेका बेला
बिहानीपख खसेका चन्द्रमाको चिसा आँसुहरू
शब्दहरूको प्रोजेक्टरद्वारा
तिम्रो आँखा अगाडिको पर्दामा
छर्लंग्ग देखाइदिएको छ भने
आऊ यो नववर्षमा
तिम्रो र मेरो स्वर मिलाएर गाउँ
झुपडीका गीतहरू
कलिला नानीबाबुका गीतहरू
वर्तमान अनि भविष्यका गीतहरू
राष्ट्रियता, अखण्डता र स्वतन्त्रताका गीतहरू।
जसरी शिशिरले उजाडिदिए पनि
प्रत्येक वर्ष धर्तीले नयाँ वसन्त जन्माउँछ
त्यसरी नै मिलेर जन्माउनु छ हामीले
एउटा नयाँ समय।
आकृति
दिलभरि छाएको एउटा आकृति
हरेक दिन म आफूलाई हेर्ने मेरो ऐना
डाँडापारिको उज्यालो टिप्न भनेर
समयसँग दौडिँदादौडिँदै
पर हराएको आकृतिलाई
म प्रश्नैप्रश्नहरू गरिरहन्थें
डाँडापारिको सहरमा उज्यालो छ कि अँध्यारो?
मधुर आकृतिले
मलाई एक टह हेर्दै भनिरहेथ्यो
अँध्यारोको सामना गरेरै भए पनि
उज्यालो बोकेर आउनेछु।
यसरी प्रिय आकृतिले
अँध्यारो कुनामा राखेको
एक भाँडो चिसो मदिरा दिएर गएपछि
मैले त्यही मदिराको सेवन गर्दै
सुगन्धित फूलको स्वाद आओस् भनिरहें।
सायद चिसो मदिराको सेवनले गर्दा
राताराता भएका यी ओठले
आफैंलाई भुलेर म्यारी म्याग्ड्यालेन भनिरहें।
सबै छन्दहरू र भाषाको सहायताले पनि
समयलाई ऐना देखाउन सकिनँ
र त,
शून्यशून्य परिवेशमा
मीठा–मीठा स्मृतिका आकृतिहरू
पग्लेर झरिरहँदा पर्दापछाडि
स्नेहको पोखरीमा चन्द्रमाको आकृति खोजिरहें
औंशीको रातमा।
प्रिय आकृति!
सायद तिमीलाई पनि चाहना छ
मभित्र टिलपिलाएको चिसो मदिरा रिŒयाउन
सायद तिम्रो हृदयमा पनि
उदास गीतले ठाउँ पाएको होला।
जसरी समयले मलाई
उराठलाग्दो परीलोकमा लगेर छोडिदियो
त्यसरी नै तिमी पनि
उराठलाग्दो लोकमा
जुनकीरी खोजिरहेका होलाउ।
प्रिय आकृति!
तिमी उराठलाग्दो राजकुमारको लोकमा गएदेखि
मैले नजानेर कहिलेकाहीँ काँडाको श्रीपेच लगाउँदा
फूलको श्रीपेच देखिदिने कोही छैन
सायद तिमीसँग
आँखाहरू सापटी माग्न भुलेका छन्
यहाँका पहेंला मानिसले
फरक यति छ
तिमी र यिनीहरूमा
यिनीहरू फूलको श्रीपेचलाई पनि
काँडाको श्रीपेच देख्छन्।
तिमी काँडाको श्रीपेचलाई पनि
फूलको श्रीपेच बनाउन तल्लीन रहन्थ्यौ।
प्रिय आकृति
तिमीले मेरा दुई आँखाहरूमा
आफ्नो विम्ब छाडेर गएदेखि
जिन्दगी चुहिरहेछ
निरन्तर, निरन्तर
जिन्दगी चुहिरहेछ।
प्रकाशित: २३ वैशाख २०७४ ०६:२२ शनिबार