coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

परशुको राजधानी प्रस्थान

परशु र जानुकाले देशै छाड्ने निर्णय गरे, साँचो प्रेमका खातिर।

बाहुनी र नेवारबीचको प्रेम। पुरानो मुलुकी ऐनका अगाडि उनीहरूको अगाध प्रेम 'अपराध' थियो। ब्राह्मणी बिहे गर्ने ब्राह्मणभन्दा तल्लो जुनसुकै जातलाई १२ वर्षसम्म र ब्राह्मणीलाई ६ वर्षसम्म जेल सजाय हुन्थ्यो।

कानुन जतिसुकै कडा किन नहोस्, उनीहरूको प्रेम र विश्वासका अगाडि कमजोर ठहरियो। उनीहरू भागेर भारतको बनारस सहर जाने भए। उनीहरूले सुनेका थिए– भारतको प्राचीन सहर बनारस अर्थात् हिन्दूहरूको सर्वाधिक पवित्र तीर्थस्थल वाराणसीका धर्मशालामा बस्न–खान समस्या हुँदैन।

केदारमान व्यथितले परशुलाई भने, 'परशुभाइ! तपाईंमा सिर्जनात्मक क्षमता छ, यसलाई अरु प्रस्फुटन गर्नुपर्छ, काठमाडौँ आउनुस्। म तपाईंलाई साझा यातायात कार्यालयमा जागिर पनि दिन्छु।'

भोजपुरदेखि तराई हुँदै उनीहरू बनारस पुगे, ६ महिनाजस्तो त्यतै बिताए। जब देशमा नयाँ मुलुकी ऐन आयो, उनीहरू देश फर्के र घरगाउँमै ठूलो छाती पारेर हिँड्न थाले।

'नयाँ मुलुकी ऐन आउँदै छ र जातभात हटाउँदै छ भन्ने त सुनेका थियौँ,' परशु पुराना प्रेमिल दिन सम्झन्छन्, 'हाम्रो सम्बन्धबारे गाउँ–समाजमा हल्ला चल्न थालिसकेको थियो। कानुनै उस्तो, कि हामी भाग्नुपर्थ्यो, कि एक–अर्कालाई त्याग्नुपर्थ्यो।'

आज ५५ वर्ष भयो, उनीहरूको दाम्पत्य जीवन सुरु भएको। योबीचमा देशमा थुप्रै परिवर्तन भए– विधि, व्यवस्था र ऐन–नियम फेरिए। उनीहरूको प्रेम पनि बदलिएको चेतनाजस्तै फुक्दै र फैलँदै आयो।

शिक्षक र विद्यार्थीका रूपमा भेट

परशुले १४ वर्षको उमेरमै एसएलसी गरे। त्यतिबेला उनले भोजपुरदेखि काठमाडौँ आएर एसएसली दिएका थिए। जानुकालाई भेट्नुअघि स्थानीय स्तरमा उनी कवि र लेखक बनेर चिनिइसकेका थिए। २०१६ सालमा उनको पुस्तक 'भोजपुर :  एक अध्ययन' प्रकाशित भयो। जतिबेला उनी १६ वर्षका थिए।  

परशु भन्छन्, 'भोजपुरकै एक प्रकाशकले छापिदिन्छु भनेर लेखेको हुँ। त्यो किताब भोजपुरकै बारेमा छ। पुस्तक लेख्न मैले भोजपुरका विभिन्न ठाउँमा पुगी मान्छेसँग भेटेको थिएँ।'

०००

जानुकादेवी रेग्मी, खोटाङ मार्सेकी हुनेखाने परिवारकी हुन्। जानुकाको सानैमा विवाह भएको थियो, तर विवाहलगत्तै उनका पतिको निधन भयो। विवाह गरी माइतीमै बसेकी जानुकालाई पतिको निधनको त्यति ख्याल हुन पाएन।

यता, जानुका सानै छँदा उनका बाबुको निधन भएको थियो। जानुकाका दुई भाइ पनि सानैमा खसे। जानुकालाई आमाले भोजपुर पढ्न पठाएकी थिइन्। उनले आफन्तकहाँ बसेर भोजपुर बजारको रात्रि हाइस्कुलमा पढ्न थालिन्। जहाँ परशु शिक्षक थिए।

यी शिक्षक–विद्यार्थीको भेट २०१८ सालतिर भएको हो। जानुकालाई आठ–नौ कक्षामा परशुले नेपाली र इतिहास पढाए।

जानुकाका बुवा मोहनप्रसादले हस्तलिखित मोहन–गीता लेखेका थिए, जसलाई पछि परशु र जानुकाले छापिदिए। बाबुको कवि हृदयको छाप र पारिवारिक वातावरणको प्रभाव जानुकामा परेको थियो।

परशु र जानुकाको उमेर तीन वर्षमात्र फरक छ। जानुकाले गीत–कविता, बालकथा लेखेर शिक्षक परशुलाई देखाउन थालिन्।

'मैले उनका कविता हेर्न थालेँ, पढ्न थालेँ। सम्पर्क बढ्दै गयो, एक–अर्कालाई मन पराउन थाल्यौँ,' परशु बैँसालु विगतको बगैँचातिर फर्कन्छन्, 'एक दिन मैले भनेँ– मलाई तिमी मन पर्‍यो के गर्ने?'

जानुका विवाह गर्न तयार भइन्। तर, तगारो समाज र कानुन थियो। उनीहरूको प्रेम यति उत्कर्षमा पुग्यो, जस्तोसुकै परिस्थिति सामना गर्न तयार भए। अन्ततः २०१९ मा उनीहरूले भागेर बिहे गरे।

परशु भन्छन्, 'हामी हाम्रो प्रेम सफल बनाउन मर्न तयार थियौँ भनौँ न!'

०००

परशुका बाबु साधारण किसान थिए। हजुरबुवा भने हुलाकमा मुखिया थिए। उनका पुर्खा भक्तपुरबाट भोजपुर पुगेका हुन्, व्यापार–व्यवसाय वा यस्तै सिलसिलामा। 'आठ पुस्ताअगाडि मेरो पुर्खा भक्तपुरबाट भोजपुर पुगेको रहेछ,' परशु आफ्नो पुर्ख्यौली इतिहास खोतल्छन्, 'रामेछाप, ओखलढुंगा हुँदै त्यो बेला १५ दिन लगाएर मेरा पुर्खा भोजपुर बजार पुगेका रहेछन्।'

६ दिदी बहिनी र पाँच छोरामध्ये परशु जेठा हुन्। कवि शैलेन्द्र साकार उनका माहिला भाइ हुन्। गाउँबाट एसएलसी गरेका परशुले पछि प्राइभेट रूपमा नेपाली र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरे।

एउटा कथाले काठमाडौँ ल्यायो

वनारसमा परशु कमलमणि दीक्षितहरूले बनाएको जगदम्बा भवनमा बसेका थिए। त्यहाँ उनको लेखक–कविहरूसँग सम्पर्क भयो। परशु भन्छन्, 'उदय पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठसँग भेट भयो। जसले गर्दा मेरो लेखन चिन्तनमा थप ऊर्जा मिल्यो।'

यो अवसरले परशु खुसी भए र भोजपुर फर्के। उनी भोजपुर नपुग्दै आकाशवाणीमार्फत् व्यथितले खबर गरेका थिए, 'परशुभाइ, सक्नुहुन्छ भने तु. काठमाडौँ आउनुस्।'

नयाँ मुलुकी ऐन आएपछि गाउँ फर्केका परशुले पुनः स्कुलमा पढाउँदै थिए। त्यहीबेला तत्कालीन मन्त्री केदारमान व्यथितले कथा प्रतियोगिता गर्ने भए। यो खबर पाएका परशुले एउटा कथा पठाए, 'फेरि आक्रमण' शीर्षकको।

उनको कथा प्रथम भएको सूचना आयो। पुरस्कार वितरण कार्यक्रम झापा भद्रपुरमा हुने भयो। ऊबेला भोजपुरबाट धरानसम्म हिँडेर पुग्न चार दिन लाग्थ्यो। धरानबाट विराटनगर, जोगबनी पुगी अलिकति दूरी रेल चढेर भद्रपुर पुग्नुपर्थ्यो, परशु पुगे। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको हातबाट पुरस्कार थापे।

केदारमान व्यथितले परशुलाई भने, 'परशुभाइ! तपाईंमा सिर्जनात्मक क्षमता छ, यसलाई अरु प्रस्फुटन गर्नुपर्छ, काठमाडौँ आउनुस्। म तपाईंलाई साझा यातायात कार्यालयमा जागिर पनि दिन्छु।'

यो अवसरले परशु खुसी भए र भोजपुर फर्के। उनी भोजपुर नपुग्दै आकाशवाणीमार्फत् व्यथितले खबर गरेका थिए, 'परशुभाइ, सक्नुहुन्छ भने तु. काठमाडौँ आउनुस्।'

परशु ०२४ सालमा काठमाडौँ झरे र साझामा जागिर सुरु गरे, उनले प्रशासकीय अधिकृतको पद पाएका थिए।

कम्युनिस्ट भनेर जागिरमा अवरोध

जागिर खाँदाखाँदै उनले ०२७ सालमा लोकसेवा आयोगको जाँच दिए र सबैले भन्दा राम्रो नतिजा निकाले। यसपछि नयाँ जागिरको तयारीमा उनले पुरानो छाडे, जागिर भने नपाउने भए। उतिबेला सरकारी जागिर खान स्थानीय प्रहरीले सिफारिस पनि गर्नुपर्थ्यो। भोजपुरको प्रहरीले रिपोर्ट गरेछ– परशु कम्युनिस्ट हुन्, उनलाई सरकारी सेवामा प्रवेश गराउनु उचित हुँदैन। उनका काका गजेन्द्रमणि प्रधान कम्युनिस्ट थिए। परशु भन्छन्, 'काका कम्युनिस्ट भएकाले मलाई पनि कम्युनिस्ट हो भन्ने रिपोर्ट गरिएछ।'

उसो त परशुको त्यतिबेलासम्मको जीवन चरित्रले पनि कम्युनिस्टको झल्को दिन्थ्यो। उनले कानुनले कडा रूपमा निषेध गरेको अन्तर्जातीय विवाह गरेका थिए।

०००

कसरी जागिर खाने त? उनले यस मामिलामा भनसुन चल्ने दुई प्रभावशाली व्यक्तिलाई भेटे– राजाका निकट कवि तथा गीतकार नीरविक्रम प्यासी र अर्का मुख्यसचिव कृष्णबम मल्ल। कृष्णबम कथाकार पनि हुन्। 'कृष्णबमले भन्नुभयो– तपाईं कथाकार है, रूपरेखामा लेखिरहनुहुन्छ। तपाईं कताको कम्युनिस्ट, बेकारको कुरा,' परशु भन्छन्, 'उहाँको सिफारिसमा जागिर पाएँ, अरु साथीहरूले भन्दा तीन महिनापछि।'

साझामा जागिर सुरु गरेपछि उनले पत्नीलाई पनि काठमाडौँ बोलाएका थिए। कम्युनिस्ट भनेर पतिले जागिर नपाउँदा उनी निराश भइन्। उनले आमाको सम्झना पुस्तकमा लेखेकी छन्, 'अब परेन आपत्, चार छोरा–छोरी, आमाबाबु र तीनजना नन्द–देवर, १० जनाको परिवार काठमाडौँमा के खाएर बाँच्ने?'

जानुकादेवीबाट कल्पना प्रधान

मेरो सानो खरायो

आज कता हरायो।

हिजो सँगै खेलेथ्यौँ

घरभित्रै भुलेथ्यौँ...

यही कविताको लत, लहड, लय र लोरीसँगै देशका लाखौँ लालाबाला हुर्किए, कति हुर्कंदै छन्। सानै कक्षाको पाठ्यपुस्तकमा पढ्नुपर्ने यो कविता पछिल्लो पुस्ता अधिकांशका लागि नौलो होइन। यो कविताको रचनागर्भ भने धेरैका लागि नौलो हुन सक्छ।

कल्पना प्रधानले आफ्नो बालक छोराका लागि एउटा खेलौना खरायो ल्याइदिइन्। खेलौना पाएपछि छोरा त्यसैमा भुले, कल्पनालाई घरको काम र बालसाहित्य सिर्जना गर्न फुर्सद मिल्यो। एक दिन खेलौना खरायो हरायो र उनका छोरा बेस्सरी रोए। छोरालाई भुलाउन उनले लोरी हालिन्– मेरो सानो खरायो, आज कता हरायो...।  

छोरालाई भुलाउँदाभुलाउँदै उनले पूरै बालकविता तयार गरिन् र आफ्ना पतिलाई भनिन्, 'बालकविता लेखेकी छु, कतै छाप्न दिनुहोला।' परशुले 'बालक' पत्रिकालाई दिए, कविता छापियो। पछि यो कविता पाठ्यक्रममा आयो।

उनले यति मीठो बालकविता सिर्जना गरेर फकाउनुपर्ने छोरा हुन्– प्रतीक प्रधान, जो नागरिक दैनिकका पूर्व प्रधानसम्पादक हुन् भने हाल बाह्रखरी अनलाइनका।

जानुकाले काठमाडौँ आएपछि मात्र प्रवेशिका पास गरिन्। उनले बानेश्वरस्थित भीमसेना गोला स्कुलमा थुप्रै वर्ष पढाइन्।

काठमाडौँमा घरबार

मुख्यसचिव कृष्णबमले परशुलाई भने, 'तपाईं एक वर्ष अमेरिका पढ्न जानुस्।' परशु त्यतिबेलाको परिस्थिति सम्झन्छन्, 'विदेश जान जागिर खाएको तीन वर्ष पुग्नुपर्थ्यो, तर मलाई भाग्यले साथ दियो, मुख्यसचिवको सिफारिसमा म दुई वर्षमै विदेश जान पाएँ।'

अमेरिकामा उनले पोजिसन अफ क्लासिफिकेसन अर्थात् पद वर्गीकरणबारे एक वर्षजति विभिन्न तालिम लिए।

त्यहाँ उनले भत्ता पाउँथे। त्यही पैसाले बानेश्वरमा घर बनाए, आठौँ पुस्ताअघि भक्तपुरबाट भोजपुर सरेको उनको पूर्खामध्ये एउटा परिवार पुनः भक्तपुर आसपास फर्क्यो।

०००

अमेरिकाबाट फर्केपछि सामान्य प्रशासनमै उनको जागिर सुरु भयो। ०३५ सालमा उनी लिखित परीक्षाबाटै उपसचिव भए र ०५२ मा अवकाश लिए। 'नियम, कानुनबमोजिम मेरो सहसचिवमा बढुवा हुनुपर्थ्यो, भएन। मभन्दा धेरैमुनिका मान्छे बढुवा भए,' उनी भन्छन्, 'अर्को कारण थियो, म पञ्चायतको सीडीओ थिएँ, त्यतिबेला बहुदल आइसकेको थियो, त्यसैले पनि मलाई बढुवा दिइएन।' 

अवकाशपछि उनी विराटनगर गए, त्यहाँ साझेदारीमा वाणी प्रकाशन सुरु गरे। पछि माओवादी आन्दोलन बढेपछि उनी काठमाडौँ फर्के।

घोडा चढेर ससुराली

जानुकाकी आमा एक्ली भएकी थिइन्, उनका दुई छोरा सानैमा रोगले खसेका थिए भने पति पनि गुमाइसकेकी थिइन्। एउटी छोरी पनि नेवारसँग गएको उनलाई निकै दिनसम्म निको लागेन। आमाको मन न हो, उनी छोरी खोज्दै भोजपुर आइन्, छोरी–ज्वाइँलाई स्वीकारिन्।

पछि जानुकाले आमालाई पनि काठमाडौँ ल्याइन्। उनले छोरीकै काखमा प्राण त्यागिन्। जानुकाले 'आमाको सम्झना' पुस्तक नै लेखिन्।

परशु आफ्नो ससुराली खोटाङ भने सीडीओ भएर पुगे, ०३५ सालतिर। उनले पत्नी जानुकालाई पनि सँगै लगेका थिए। ऊबेलाको सीडीओ जिल्लाको राजासमान हुन्थ्यो। ज्वाइँ सीडीओ भएर आएका छन् भन्ने परशुका ससुरालीखलकले थाहा पाए र छोरी–ज्वाइँलाई बोलाए। पूरै एक दिन घोडा चढेर परशु ससुराली पुगे, खोटाङको मार्से। साथमा कल्पना पनि थिइन्, उनीहरू कल्पनाका काकाको घरमा बसे। त्यहाँ परशुलाई ठूलो सत्कार गरियो। परशु भन्छन्, 'सीडीओ भएर गएको ज्वाइँ, सम्मान नै अर्को थियो।'

सूर्यबहादुर थापा खोटाङ दिक्तेल पुगेका थिए, उनले परशुलाई भेटेर भने, 'तपाईं त लेखक हुनुहुँदो रहेछ, कहाँ सीडीओ भएर बसेको? काठमाडौँ आउनुस्, मलाई सूचना विभागको डाइरेक्टर चाहिएको छ।' त्यसपछि उनी काठमाडौँ फर्के।

अझै सक्रिय

परशु नेपाली वाङ्मय बगैँचाका एक फूल हुन्। उनको 'सबै बिर्सिएका अनुहारहरू' उपन्यास २०२५ सालमा प्रकाशित भएको हो भने एक दर्जनभन्दा बढी कथासंग्रह, बालसाहित्यलगायत पुस्तक छन्। अहिले पनि उनी लेखनमा सक्रिय छन्।

पत्नी–प्रसंगबारे कुरा गर्न परशुले अघिल्लो साता बानेश्वरको घरमा बोलाएका थिए। पत्नीबारे भन्दा पनि कुरा उनको संघर्षतिर मोडियो।

सुरुमै उनले भने, 'अस्ति नागरिकमा मेरो दुई–मित्र शीर्षकमा कथा छापिएको थियो नि, त्यो पढेर मलाई धेरैले फोन गर्नुभयो। राम्रो प्रतिक्रिया पाएँ।'

अहिले उनी नयाँ कथासंग्रहको तयारीमा छन्। कल्पना पनि बालसाहित्य लेखिरहेकी छन्। कुनै पनि सिर्जना छाप्नुअघि उनीहरू एकअर्कालाई सुनाउँछन्। यति लामो जीवनमा यी दुई दम्पत्तिबीच कहिल्यै फाटो आएन। यी दुई साहित्यिक मन कसरी एकआपसमा बाटिए र सम्बन्धको डोरो यति बलियो भयो होला? परशु भन्छन्, 'उनी साहसी र दक्ष छिन्। अत्यन्तै व्यावहारिक छिन्। उनको यही गुणले म आज यहाँ छु।'

प्रकाशित: २३ वैशाख २०७४ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App