८ वैशाख २०८१ शनिबार
खेल

ऋषभको विस्फोटक ब्याटिङ

दिल्ली- ऋषभ पन्तले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग(आइपिएल)मा गुजरात लायन्सलाई ७ विकेटले हरायो। ऋषभ र सन्जु सामसङको सानदार ब्याटिङको सहयोगमा दिल्लीले २ सय ९ रनको लक्ष्य १५ बल अगावै पूरा गरेको थियो। घरेलु मैदानमा दिल्लीले २ सयभन्दा माथिको विजयलक्ष्य पूरा गर्न कठिन रहने अनुमान गरिएको थियो।

तर ऋषभ र सन्जुको क्रिजमा उत्कृष्ट तालमेल मिलेपछि त्यो लक्ष्य पूरा गर्न दिल्लीलाई कठिन भएन। खेल सकिएपछि ऋषभको प्रदर्शनलाई दिल्ली निवासी वीरेन्द्र सेहवागले तारिफ गरे। सेहवागले टि्वटरमा ऋषभमा विशेष क्षमता रहेको लेखेका छन्। शतकनजिक पुगेर ऋषभ चुकेका थिए। उनले ४३ बलमा ९७ रन बनाउँदै टोलीलाई जितनजिक पुर्‍याइसकेका थिए। तर व्यक्तिगत रूपमा शतक बनाउने कीर्तिमानबाट भने उनी तीन रनले चुके। ऋषभले खेलमा चौकाभन्दा छक्का धेरै प्रहार गरेका थिए। उनले ६ चौका र ९ छक्का प्रहार गरेका थिए। दिल्लीको घरेलु मैदानमा २ सय ९ रनको लक्ष्य पूरा गर्न सक्छ वा सक्दैन भन्ने बारेमा मिडियामा चर्चा भइरहेको थियो। तर १९ वर्षे ब्याट्सम्यान ऋषभको प्रदर्शनले दिल्लीले सहजै सफलता हासिल गर्‍यो। ऋषभ र सन्जुले मानसिक रूपमा पनि क्रिजमा परिपक्व रूपमा प्रदर्शन गरे। सन्जुले ३१ बलमा ६१ रन बनाउँदै टोलीको लक्ष्यलाई सहज बनाए। दोस्रो विकेटका लागि सन्जु र ऋषभले ६३ बलमा १ सय ४३ रनको साझेदारी गरेपछि दिल्लीको जित सहज बन्दै गएको थियो। 'मैले साँच्चिकै राम्रो सुरुआत गरंे। २ छक्का प्रहार गरेपछि मैले राम्ररी खेल्नुपर्छ भन्ने सोचेको थिएँ,' सन्जुले भने, 'ऋषभले पनि मलाई राम्रो ब्याटिङ गर्न हौसला दिए। उनले नआत्तिएर खेल्न मलाई सल्लाह दिएका थिए। त्यसले मलाई अगाडि बढन सहयोग गर्‍यो। उनीसँग (ऋषभ) ब्याटिङ गर्दा मैले आनन्द महसुस गरंे।'

दिल्लीका ओपनर एवम् कप्तान करुण नायर १२ रनमा आउट भए। १३.२ ओभरमा सन्जु दोस्रो विकेटको रूपमा आउट हुँदा दिल्लीले १ सय ६७ रन जोडिसकेको थियो। सन्जुले ७ छक्का प्रहार गरेका थिए। रवीन्द्र जडेजाको बलमा आउट भएका सन्जुले २७ बलमा अर्धशतक पूरा गरेका थिए।

प्लेयर अफ द म्याच ऋषभले सन्जुसँग जस्तोसुकै कठिन बलमा पनि खेल्ने रणनीति बनाएर खेलेको बताए। 'कस्तो बल आउँछ भनेर हामीले केही सोचेको थिएनौं। सन्जुलाई मैले जस्तो बल आए पनि प्रहार गर्न भनेको थिएँ।'

शतकभन्दा पनि खेल जतिसक्दो छिटो सकाउने लक्ष्यमा खेलेको ऋषभले बताए। उनले भने, 'म जतिसक्दो खेल छिटो जित्ने कोसिसमा थिएँ। यदि मैले तीन रन जोड्न सकेको भए मैले खेल सकाउने थिएँ होला।'

यसअघि सुरुआतमा ब्याटिङ गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले सर्वाधिक ७७ रन जोडेका थिए। दिनेश कात्तिकले ६५ रन बनाए।   

प्रकाशित: २३ वैशाख २०७४ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App