७ वैशाख २०८१ शुक्रबार
समाज

चुनावी सुरक्षामा प्रहरी-खेलाडी

सिन्धुपाल्चोक- नेपाली खेलकुद क्षेत्रमा भरतबहादुर शाह नौलो नाम होइन। नेपाली राष्ट्रिय भलिबल टोलीबाट मुलुकका लागि १८ वर्ष खेलेका उनले १६ वर्ष त कप्तानी सम्हाले। यसबीचमा उनले पाँच साफ खेल्न भ्याए। अन्तर्राष्ट्रिय आमन्त्रित बिच भलिबलमा उनले दुई पटक नेपाललाई च्याम्पियन नै बनाए। चार वर्षअघि मात्र भलिबलबाट सन्यास लिएका उनी अहिले पनि खेल क्षेत्रबाट टाढा छैनन्।

राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरतबहादुर थापा, फुलबलका स्ट्राइकर जुमानु राईलगायत १ सय ९० प्रहरी संगठनका खेलाडी सिन्धुपाल्चोकमा सुरक्षा दिन तल्लिन छन्।

उनै भरतबहादुर अहिले फरक भूमिकामा देखिएका छन्। चुनावी सुरक्षाको कम्तानी सम्हाल्दै उनी केही दिनदेखि सिन्धुपाल्चोक खटिएका छन््। 'भलिबल खेल्नु र फिल्ड सुरक्षाको जिम्मेवारी सम्हाल्नु दुवै चुनौतिपूर्ण छन्,' नेपाल प्रहरीका इन्स्पेक्टर भरतबहादुरले भने। भलिबलमा फिट हुन कडा शारीरिक अभ्यास गर्नुपर्ने र फिल्डको सुरक्षामा खटिँदा निकै संवेदनशील र चनाखो हुनुपर्ने उनको अनुभव छ।

२०४९ मा प्रहरी सेवामा प्रवेश गरेयता भएका सबैखाले चुनावको सुरक्षामा उनी खटिँदै आएका छन्। 'चुनावी सुरक्षा मेरा लागि नौलो होइन,' प्रहरीको खेलकुद शाखामा कार्यरत उनी भन्छन्, 'दुवै फिल्डमा चनाखो हुनुपर्ने समानता छ।'

२०४५ देखि राष्ट्रिय प्रतियोगिता खेल्न थालेका उनलाई  असई (प्रहरी सहायक निरीक्षक)बाट प्रहरी सेवामा प्रवेश गरेपछि विभागीय टिम नेपाल पुलिस क्लबमा आबद्ध हुन समय लागेन। यसको चार वर्ष नबित्दै उनी राष्ट्रिय टिममा परे।

भलिबल करियरमा भरतबहादुरले प्रहरी बर्दी कमै पहिरिए। उनी सुनाउँछन्, 'चुनावलगायत विशेष परिस्थितिमा मात्र शरीरमा बर्दी पर्थ्यो।' भलिबलबाट सन्यास लिएपछि भने उनी अलि बाक्लै बर्दीमा देखिन्छन्। नयाँ संरचनामा झण्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनाव गराउन उनी आतुर र उत्साही छन्। 'सिंहदरबार गाउँ पुर्‍याउन हुन गइरहेको चुनावको सुरक्षा जिम्मेवारी पाउनु गर्वको विषय हो,' सन् २००५ र २००७ मा बंगलादेशमा भएको अन्तर्राष्ट्रिय बिच भलिबलमा नेपाललाई च्याम्पियन बनाएका इन्स्पेक्टर भरतबहादुरले भने।

चुनावी सुरक्षाको कप्तानी गर्न यहाँ आइपुगेका उनलाई सिन्धुपाल्चोक नौलो छैन। भलिबल खेल्न उनी धेरै पटक यहाँ आएका थिए। पाखरको डाँडामा 'सर्ट' दबाएको उनले अझै भुलेका रहेनछन्। खेल दौरान उनले खाँडिचौर, लामोसाँघु, बाह्रविसेतिर धेरै साथी बनाउन भ्याएका रहेछन्। 'जहाँ खटिए पनि शान्तिपूर्वक, भयरहित वातावरणमा चुनाव सम्पन्न गराउँछु,' जिल्लाको सुरक्षा अवस्था बु‰दै गर्दा जिल्ला प्रहरी कार्यालयमा भेटिएका उनले भने।

फुटबलका पूर्वस्ट्राइकर जुमानु राईलाई जिल्लावासीले टेलिभिजन पर्दामा मात्र देखेका थिए। जिल्लाकै घर, आँगनमा उनलाई बर्दीमा देख्दा स्थानीय छक्क छन्। विभागीय टोली नेपाल पुलिस क्लबबाट खेलिरहेका उनी असईको फुली लगाएर केही दिनयता चौतारा बजार गस्ति गर्दैछन्। स्थानीय चुनावको सुरक्षाका खटिएका उनलाई हेर्नेको भीड नै लाग्छ बजारमा।

नेपाल प्रहरीको विभिन्न पदमा रही पुलिस क्लबमा आबद्ध भएका चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरू फरक भूमिकामा चुनावी सुरक्षाको जिम्मेवारी लिएर जिल्लामा खटिएका छन्। पुलिस क्लबमा आबद्ध भलिबल, फुटबल, क्रिकेट, तेक्वान्डो, जुडो, बक्सिङ, कराँतेलगायतका १ सय ९० खेलाडी यहाँ खटिएका हुन्। लामो समयपछि प्रहरीको बर्दीमा सजिएर उनीहरू सुरक्षा प्रदान गर्न तल्लिन छन्।

बक्सिङका राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठ, मन्देकाजी श्रेष्ठलगायत चुनावी सुरक्षा दिन व्यस्त छन्। उनीहरू प्रहरी हबल्दार हुन्। अहिले जिल्ला प्रहरी कार्यालयमा हाजिर भएर बजारवासीलाई सुरक्षा दिइरहेका उनीहरूलाई चुनावमा विभिन्न स्थानमा खटाइने सिन्धुपाल्चोकका एसपी रवीन्द्र केसीले बताए।

प्रकाशित: २३ वैशाख २०७४ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App