८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेको जित निश्चित : ओली

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा आफ्नो पार्टीका उम्मेदवार विजयी हुने दाबी गरेका छन्।

एमाले काठमाडौं जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले राष्ट्रियता र समृद्धिको पक्षमा लिएको नीतिका कारण जनलहर आफ्नो पार्टीका पक्षमा रहेकाले चुनावमा जित निश्चित भएको दाबी गरेका हुन्। ओलीले भने, 'एमालेले चुनावी नारा होइन, देश बनाउने नीति, कार्यक्रम र योजना अघि सारेको छ। राष्ट्रियता, समृद्धि र लोकतन्त्र रक्षाका लागि लड्ने पार्टीलाई जनताले अवस्य साथ दिनेछन्।' अन्य पार्टीका उम्मेदवारको तुलनामा एमाले उम्मेदवार सक्षम र योग्य रहेको दाबी पनि उनले गरे।

एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको गठबन्धन देश बनाउनका लागि भएको दाबी पनि उनले गरे। माओवादी केन्द्र र कांग्रेसतर्फ लक्षित गर्दै उनले भने, 'एमाले–राप्रपा गठबन्धन अरुको जस्तो छोरी–दाइलाई जिताउन गरिएको गठबन्धन होइन। कांग्रेस–माओवादीले जस्तो नराम्रो कामका लागि गरिएको गठबन्धन होइन।'

ओलीले दोस्रो चरणको निर्वाचन बजेटअघि नै गर्नुपर्ने बताए।

एमाले र राप्रपा गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठले उम्मेदवारी दिएका छन्। कार्यक्रममा उम्मेदवारद्वय शाक्य र श्रेष्ठको समेत उपस्थिति थियो।

महानगरसहित काठमाडौंका १० वटा नगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारका योजना जानकारी दिन पत्रकार भेटघाट आयोजना गरिएको थियो। ओलीले आफ्ना उम्मेदवारलाई रचनात्मक ढंगले, संगठित र योजनाबद्धरुपमा जनतामाझ जान निर्देशन दिए। उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नसमेत उनले निर्देशन दिए।

'महाभियोगको विपक्षमा आदेश स्वागतयोग्य'

अध्यक्ष ओलीले प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोग प्रस्तावको विपक्षमा सर्वोच्चले शुक्रबार जारी गरेको अन्तरिम आदेशको स्वागत गरे। कांग्रेस–माओवादीले स्वतन्त्र न्यायपालिकामाथि गलत नियतले हस्तक्षेप गर्दै गैरकानुनी रुपमा महाअभियोग प्रस्ताव ल्याएको आरोप उनले लगाए। सर्वोच्चको आदेशले प्रधानन्यायाधीश कार्कीले आंशिक न्याय पाएको बताउँदै उनले सत्तासीन दललाई महाभियोगको झुटो प्रस्ताव फिर्ता लिन पनि आग्रह गरे। सर्वोच्चले प्रधानन्यायाधीश कार्कीलाई यथावत काममा गर्न दिनू र महाभियोग प्रस्ताव याथास्थितिमा राख्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायपालिकामाथि हस्तक्षेप हुँदा पनि नेपाल बार सत्ताको कठपुतली बनेको आरोप पनि ओलीले लगाए। उनले भने, 'स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुँदा बार सत्ताको कठपुतली बनेको छ। त्यस्ता कानुन व्यवसायीलाई कुन आधारमा सर्टिफिकेट दिइएको हो कानुन पढाउने क्याम्पसलाई सोध्नुपर्ने भयो।'

प्रकाशित: २३ वैशाख २०७४ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App