coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भोट कसरी हाल्ने? १६६००१४४२२२ मा फोन गर्नुस्

कल सेन्टरमा मतदाताको जिज्ञासा समाधान गर्दै अपरेटर।

काठमाडौं- पर्वतका खगेश्वर भुसालले शुक्रबार बिहान निर्वाचन आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा फोन गरे। उनले सोधे, ‘वडा सदस्यको ६ नम्बरको मतपत्रमा कसरी भोट हाल्ने, एकातिर एउटा चुनाब चिह्न छ, अर्कोतिर दुइटा छन् त?' भुसालले नमुना मतपत्र हेरेको आधारमा यो प्रश्न गरेका थिए।

आयोगको निर्वाचनसम्बन्धी मोबाइल एप्स इसिएन पाँच हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन्।

आयोगकी कम्प्युटर अपरेटर लक्ष्मी गैरेले जवाफ दिइन्, ‘वडा सदस्यमा दुईजनालाई भोट हाल्न पाइन्छ, दुईतिर भएको छापमा एक/एक वटा रोजे पनि हुन्छ, तलमाथि क्रस गरेर दल फरक पारेर भोट दिए पनि हुन्छ। त्यहाँ दुइटा चिह्न राखेको चाहिँ एउटै पार्टीका दुईजना उठ्न सक्ने सुविधाका लागि हो। एकातिर एकजना वडा सदस्यका लागि एउटा चिह्न र अर्कोतिर अर्को वडा सदस्यको लागि दुइटा चिह्न हो।’

स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आयोगको माथिल्लो तलामा बनेको कल सेन्टरमा आजभोलि यस्ता प्रश्न निकै आउँछन्। र, यस्ता जिज्ञासा समाधान गर्न कल सेन्टरमा आयोगका १४ कर्मचारी सबेरै जुट्छन्। र, साँझ आठ बजेसम्म फोन उठाउँछन्, जवाफ दिन्छन्।

त्यही कल सेन्टरमा अर्को फोन थियो रामेछापका टीकाप्रसाद पौडेलको। उनी पनि वडा सदस्यको चुनाब चिह्नमै अलमलिएकाले फोन गरेका थिए। उनको प्रश्नमा अपरेटरले जवाफ दिइन्, 'एउटै कोठामा दुइवटा चिह्न भएपनि एउटै छाप लगाउने हो, अर्को उम्मेदवारलाई भोट दिन अर्को कोठामा छाप लगाउने हो।’

यसरी फोन गर्नेहरू मतदान कसरी गर्ने भनेर मात्र पनि सोध्दैनन्। अरु थुप्रै गुनासा पनि राख्छन्।

त्यस्तै, एक उदाहरण हुन्– जनकपुर धनुषाका विश्वनाथ शाह। आफ्नो नाम धनुषामा नपाएको उनको गुनासो थियो। उनको फोन उठाएकी लक्ष्मी बेलवासेले प्रतिप्रश्न गरिन् ,‘तपाईंले २०७० को संविधानसभा चुनावमा भोट हाल्दा फोटो कहाँ खिच्नुभयो?’

विश्वनाथले जवाफ दिए, ‘महोत्तरीमा।'

अनि बेलवासेले भनिन्, ‘त्यसो भए तपाईंको नाम महोत्तरीमै हुन्छ, नागरिकता नम्बर भन्नुस् म खोजिदिन्छु।’ विश्वनाथले आफ्नो नाम जनकपुरमा सार्न चाहे। तर, बेलवासेले उनलाई प्रस्ट्याइन्, 'अब सार्न मिल्दैन त्यहीँ गएर भोट हाल्नुपर्छ।’

यस्ता जिज्ञासा र समस्या समाधान हुन् भनेर आयोगले वैशाख १५ गतेदेखि टोल फ्री नम्बर प्रयोग गर्दै कलसेन्टरबाट मतदातालाई सहयोग गर्न थालेको हो। 'हामी जवाफ दिन मिल्ने विषयमा जवाफ दिन्छौँ,' सेन्टरका विशकसेन ढकालले भने, 'आचार संहिता उल्लघंनलगायतका कतिपय विषय सम्बन्धित निकायमा जानकारी गराउँछौ।' तर, टोल फ्री नम्बरमा फोन गरेरै सोध्ने मतदाताको संख्या अत्यन्त कम भएको उनले बताए। उनका अनुसार वैशाख १५ यता ६ सय जनाले मात्र कल सेन्टरमा फोन गरेका छन्।

फोन गर्नेको संख्या कम भए पनि आयोगको निर्वाचनसम्बन्धी मोबाइल एप्स इसिएन पाँच हजारभन्दा बढीले डाउनलोड गरेको टेलिकमका इन्जिनियर द्रोण घिमिरेले जनाए। त्यस्तै, आयोगको वेबसाइट बिहीबारसम्म १ लाख ३६ हजारभन्दा बढी पटक भिजिट गरिएको छ।

प्रविधिको यो प्रयोगसँगै निर्वाचन आयोगले मतदान केन्द्रमा पनि कर्मचारी पठाउँदै छ। 'एक मतदान केन्द्रमा एकजना निर्वाचन शिक्षा कार्यकर्ता वा स्वयं सेवक परिचालन गरेका छौँ,'  निर्वाचन शिक्षा सूचना तथा तालिम शाखाकी नायब सुब्बा ममता मल्ल श्रेष्ठले भनिन्, 'एकजना मतदाता शिक्षकले एक हजार पचास हजारलाई मतदानबारे शिक्षा दिनु पर्ने हुन्छ।'

आयोगले देशभरका लागि १९ हजार मतदाता शिक्षक तोकेको छ। यी शिक्षकले अहिले पहिलो चरणको निर्वाचन हुने ठाउँमा शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन्। उनीहरूले दोस्रो चरणको निर्वाचनका लागि जेठ १ गतेबाट यो अभियान सुरु गर्नेछन्।

प्रकाशित: २३ वैशाख २०७४ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App