coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रोमाञ्चक बन्दै बाग्लुङको चुनावी समिकरण

बाग्लुङ- स्थानीय निर्वाचनको मिति नजिकिदैं जाँदा यहाँको चुनावी समिकरण रोमाञ्चक बन्दै गएको छ। करिब २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न यहाँका मतदाता उत्साही छन्। दलहरु अधिकार सम्पन्न स्थानीय तहको नेतृत्वमा पुग्न आ—आफ्ना उम्मेदवारी दर्ता गराएर जनताको घरदैलोमा पुगिरहेका छन्। राजनीतिक हिसाबले विशेष महत्व राख्ने बाग्लुङ नगरपालिकामा तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएकोमा माओवादीले एकाएक आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएपछि यहाँको निर्वाचन परिणाम कता जान्छ भन्ने कुरालाई लिएर ठूलो बहस शुरु भएको छ।

 आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएको माओवादी केन्द्रले कसलाई सघाउने भन्नेबारे मुख खोलेको छैन। नेकपा माओवादी केन्द्र बाग्लुङका इन्चार्ज चन्द्र बुढा सागरले कसैलाई सहयोग गर्न नभई आन्तरिक कारणले उम्मेदवार फिर्ता बोलाएको बताउँछन्। ‘हामीले कसैलाई सहयोग गर्न उम्मेदवारी फिर्ता लिएका होईनौं,’ उनले भने,‘आन्तरिक कारणले फिर्ता बोलाईएको हो। हामी यसबारे छलफलमै छौं ।’ माओवादी केन्द्रको जिल्ला समितिमा रहेकाहरु कसैले काँग्रेसलाई र कसैले एमालेलाई सहयोग गर्नुपर्छ भन्ने दुईथरी मत रहेको निकटस्थहरु बताउँछन् ।

आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएको माओवादी केन्द्रले कसलाई सघाउने भन्नेबारे मुख खोलेको छैन। नेकपा माओवादी केन्द्र बाग्लुङका इन्चार्ज चन्द्र बुढा सागरले कसैलाई सहयोग गर्न नभई आन्तरिक कारणले उम्मेदवार फिर्ता बोलाएको बताउँछन्।

पार्टीका केन्द्रीय नेताहरुका ठाडो आदेशमा उम्मेदवारी फिर्ता लिएर जिल्लामा पार्टीको अस्तित्व नै संकटमा पारेको भन्दै कार्यकर्ताहरुमा भने असन्तुष्टी देखिएको छ । माओवादी कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत शान्ति प्रक्रियापछि पार्टी प्रवेश गरेका नेताहरु पार्टीलाई सिध्याउन लागेको आरोप समेत लगाएका छन्। नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी फिर्ता लिएको माओवादीले वडा तहमा भने कतिपय स्थानमा काँग्रेस र कतिपय ठाउँमा एमालेसंग सहकार्य गरेको छ । एकल रुपमा चुनावमा होमिएको नेपाली काँग्रेस र राप्रपा र राष्ट्रिय जनमोर्चासंग मिलेको एमालेले माओवादीका भोट तान्ने आ—आफ्नै रणनीति बुन्न थालेका छन्। बाग्लुङ नगरपालिकामा नेपाली काँग्रेसले वसन्तुकमार श्रेष्ठ मयेर र शकुन्तला शर्मालाई उपमेयरमा उठाएको छ । एमाले, राजमो र राप्रपाबाट एमालेका जनक पौडेल मेयर र राप्रपाका सुरेन्द्र खड्का उपमेयरको उम्मेदवार छन् । बाग्लुङ नगरपालिकामा मञ्जुमाया क्षेत्री (माले), रेशम थापा (संघीय समाजवादी फोरम) र तारा सापकोटा र सुमनजङ राजभण्डारी ‘प्रचण्ड’ स्वतन्त्र मेयरको उम्मेदवार बनेका छन्।

एमाले र राजमोबीच जैमिनी नगरपालिका, गलकोट नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, निशीखोला र काठेखोला गाउँपालिकामा समेत तालमेल भएको छ । जैमिनी नगरपालिका जनमोर्चाका नरबहादुर पुन प्रमुख र एमालेका लिला राना उपप्रमुख छन् । काँग्रेसले इन्द्रराज पौडेल मेयर र कौशिला विकलाई उपमेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रबाट शोभाप्रसाद शर्मा मेयर र देवी शर्मा उपमेयरका प्रतिस्पर्धी छन्।  राप्रपाबाट केशव सापकोटा र नयाँ शक्तिबाट प्रकाशबहादुर क्षेत्री मेयरको उम्मेदवार छन् । गल्कोट नगरपालिकामा काँग्रेसका भरत शर्मा गैरे मेयर, विद्यार्थी नेतृ रेणुका काउचा उपमेयरमा उठेका छन् । माओवादी केन्द्रले फमलाल निउरे मेयर र ललिता थापा उपमेयरमा उठाएको छ। राजमोबाट टंकबहादुर केसी मेयर र एमालेबाट रत्ना भण्डारी उपमेयरका उम्मेदवार छन् ।

 बरेङ गाउँपालिका अध्यक्षमा काँग्रेसले माओवादी केन्द्रका प्रदिप थापालाई अध्यक्षमा र माओवादीले काँग्रेसकी विष्णुदेवी खत्रीलाई उपाध्यक्षमा समर्थन गरेका छन् । एमालेको समर्थनमा राजमोले कृष्णप्रसाद शर्मालाई अध्यक्ष र दिलमाया पुनलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रकी जिल्ला नेतृ चिनीमाया कालाले स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् । ताराखोलामा एमाले जनमोर्चाले पूर्णा चालिसेलाई अध्यक्ष र एमालेका सञ्जय श्रेष्ठलाई उपाध्यक्षमा उठाएको छ । काँग्रेसबाट दण्डपाणी कँडेल अध्यक्ष र चन्द्रकली रोका उपाध्यक्ष छन् । माओवादी केन्द्रले प्रकाश घर्ती अध्यक्ष र दिलकुमारी पनुलाई उपाध्यक्ष उठाएको छ । ऋषिराम रोकाले स्वतन्त्र अध्यक्षमा उम्मेदवारी दिएका छन्।

काठेखोला गाउँपालिकामा नेपाली काँग्रेसले होमबहादुर हमाल अध्यक्ष र ज्ञानुकुमारी श्रीस शर्मालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले अम्मरबहादुर थापालाई अध्यक्ष र राजमोबाट अर्जुनबहादुर खत्रीलाई उपाध्यक्ष उठाएको छ । माओवादीले अध्यक्षमा विकलाई उठाएको छ । उपाध्यक्षमा माओवादीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । बडिगाड गाउँपालिकामा भने एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । एमालेले अध्यक्षमा मयेरसिंह पाईजा र माओवादीले केन्द्रीय सदस्य राजिव घिमिरेलाई उपाध्यक्ष उठाएको छ । काँग्रेसबाट गण्डकी थापा अधिकारी अध्यक्ष र अमरबहादुर श्रीस उपाध्यक्षका उम्मेदवार छन् । जनमोर्चाले भीमसेन वन अध्यक्ष र रुनमाया थापाको नाम उपाध्यक्षमा दर्ता गराएको छ ।

ढोरपाटन नगरपालिकामा एमाले र राजमोबीचको चुनावी तालमेल उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर भाँडिएपछि ठूला चार दल एक्ला एक्लै मैदानमा छन्। नेपाली काँग्रेसबाट अर्जुन शेरचन प्रमुख, दिलमाया पौवी उपप्रमुख, एमालेबाट माओवादी परित्याग गरि आएका देवकुमार नेपाली प्रमुख र करमती घर्ती उपप्रमुख, माओवादी केन्द्रबाट शेरमान घर्ती प्रमुख र सुवास्ना मगर सुनार उपप्रमुख, राजमोबाट गौरीश्वर पाण्डे प्रमुख र दुर्गादेवी घर्ती उपप्रमुखको उम्मेदवार बनेका छन् । नयाँशक्तिबाट  टेकबहादुर कुँवर र राप्रपाबाट निमबहादुर भण्डारी पनि मेयरका उम्मेदवार छन्।

निशीखोला गाउँपालिकामा नेपाली काँग्रेसबाट तारानाथ पौडेल अध्यक्ष, शोभाकुमारी कार्की उपाध्यक्ष, राजमोबाट खिमविक्रम शाही अध्यक्ष र एमालेका रुद्रप्रसाद पौडेल उपाध्यक्ष, माओवादीका प्रेम घर्ती अध्यक्ष र यसोदा रेग्मी उपाध्यक्षको उम्मेदवार बनेका छन् । काँग्रेस नेता प्रकाश कुँवर स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका छन् । काँग्रेसबाट अध्यक्ष दाबी गरिरहेको कुँवर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताईएको छ । तमानखोलामा नेपाली काँग्रेसले जोकलाल बुढा अध्यक्ष र मानसरी शेरचनलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।  त्यहाँ जनमोर्चा र माओवादीबीच चुनावी तालमेल भएको छ।

 माओवादीले श्रीप्रसाद श्रीपालीलाई अध्यक्ष र राजमोले डोरबहादुर क्षेत्रीलाई उपाध्यक्ष उठाएको छ। एमालेको संगठन कमजोर भएका कारण दलप्रसाद सापकोटालाई अध्यक्षमा मात्र उम्मेदवारी दिन लगाएको जनाएको छ । तमानखोलाको वडा नम्बर ३ र ६ मा नेपाली काँग्रेसका उम्मेदवार वडाअध्यक्षमा निर्विरोध भएका छन् । ३ मा काँग्रेसका गिरबहादुर घर्ती र ६ मा काँग्रेसकै कुलबहादुर छन्त्याल निर्विरोध निर्वाचित भएको तमानखोला गाउँपालिका निर्वाचन अधिकृत विष्णुभक्त रञ्जितले बताए । उक्त वडाहरुमा सदस्यहरु समेत सर्वसम्मत भएको उनले बताए । मूख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार बाग्लुङमा उम्मेदवारी दर्ता गराएका ६४ जनाले आफनो उम्मेदवारी फिर्ता लिएका छन्।

 

प्रकाशित: २२ वैशाख २०७४ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App