पेरिस– प्रतियोगितामा कमजोर मानिएको आइसल्यान्डविरुद्ध क्रिस्टियानो रोनाल्डोको घमण्ड तोडिँदा समूह ‘एफ’ को अर्को टोली हंगेरीले पनि युरो २०१६ मा सुखद सुरुआत गर्न सकेको छैन।
पोर्चुगल र अस्ट्रियाशनिबार पेरिसमा पहिलो जित निकाल्ने अभियानमा हुनेछन्।
पोर्चुगल प्रतियोगितामा डेब्यु गरेको आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो। खेलपछि रोनाल्डोले आइसल्यान्डले रक्षात्मक मात्र खेलेको आरोप लगाए। ‘उनीहरूले खेल्नै खोजेनन्। उनीहरू रक्षात्मक स्थितिमा मात्र बसे र केही काउन्टर एट्याक गरे,’ खेलपछि विपक्षी खेलाडीसँग हात नमिलाई मैदान छाडेका रोनाल्डोले भनेका थिए, ‘उनीहरूले दुई मात्र अवसर बनाए जसमध्ये एकमा गोल गरे। उनीहरू भाग्यमानी रहे।’
पोर्चुगलले गोलका लागि गरेको २७ प्रयासमध्ये रोनाल्डोले मात्र ११ प्रहार गरेका थिए । जुन युरो २०१६ मा कुनैपनि टोलीले गरेको सबैभन्दा धेरै प्रयास हो। रोनाल्डो र स्विडेनका याल्टन इब्राहिमोभिचलाई तुलना गरिएको छ । दुवैले चार फरक युरोपियन च्याम्पियनसिपमा कुनै गोल गर्न सकेका छैनन् । उनै इब्राहिमोभिचले पेरिस सेन्ट जर्मेनबाट उत्कृष्ट सिजन बिताएकोपार्क डे प्रिन्स रंगशालामा शनिबार रोनाल्डोले गोलका लागि संघर्ष गर्नेछन्।
सेन्टरब्याक एलेक्जेन्डर ड्रागोभिचको उपस्थितिबिना अस्ट्रियाले रोनाल्डोलाई रोक्ने प्रयास गर्नेछ । ड्रागोभिचले मंगलबार हंगेरीसँग २–० ले हार्दा रातोकार्ड पाएका थिए। अस्ट्रियाले छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सको यात्रा तय गरेको हो। १० खेलमा अस्ट्रिया ९ खेलसम्म अपराजित थियो । तर, छिमेकी हंगेरीसँग पराजित भएपछि अस्ट्रिया युरोपियन च्याम्पियनसिपमा पहिलो जित निकाल्न संघर्षरत छ।
अस्ट्रियालाई अहिले युवा प्रतिभा डेविड अल्बाले नेतृत्व गरिरहेका छन् । बायर्न म्युनिखमा लेफ्ट ब्याकबाट खेल्ने अल्बाले हंगेरीविरुद्ध डिफेन्सिभ मिडफिल्डरमा खेल्दै फरवार्ड मार्क जान्कोलाई सघाएका थिए।
ड्रागोभिचको स्थान केभिन विम्मर वा सेबास्टिन प्रोडलले लिने सम्भावनाछ । जाट्को जुनुजोभिचले पनि कुर्कुच्चाको चोटका कारण शनिबारको खेल गुमाउनेछन् ।
प्रकाशित: ४ असार २०७३ ०२:०८ शनिबार