७ वैशाख २०८१ शुक्रबार
राजनीति

उम्मेद्वारको घरमा कालो झण्डा

नेकपा एमालेको तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको उपमेयरकी उम्मेद्वार मोहनमाया ढकालको घरमा राखिएको कालो झण्डा । तस्बिर : नगेन्द्र उपाध्याय

सुर्खेत – स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतका उम्मेद्वारको घरघरमा कालो झण्डा गाडेको छ । नेकपाले जिल्लाभरका उम्मेद्वारको घरमा बिहीबार राति कालो झण्डा गाडेको हो ।

विप्लवका जिल्ला इन्चार्ज ध्रुव बोगटीले केन्द्रीय कार्यक्रम अनुसार उम्मेद्वारको घरमा कालो झण्डा गाडिएको बताए । ‘हामीले स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आन्दोलनमा छौं’ उनले भने, ‘सोही आन्दोलन स्वरुप उम्मेदवारहरुको घरमा कालो झण्डा राखेका हौं ।’ विप्लव नेतृत्वले यसअघि नै उम्मेदवारहरुलाई अपहरण गर्ने धम्की दिइसकेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले केही उम्मेदवारको घरमा कालो झण्डा राखेको पाइएको बताए । उनले कालो झण्डा कस्ले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । ‘सदरमुकामसहित गाउँमा पनि उम्मेदवारको घरमा कालो झण्डा राखेको पाइएको छ’ उनले भने, ‘अनुसन्धान गरेर निर्वाचन विरोधी गतिविधी गर्नेलाई पक्राउ गरेर कारवाही गछौं ।’ 

 

प्रकाशित: २२ वैशाख २०७४ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App