coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति पदका दुई उम्मेदवारबीच चर्काचकी

पेरिस- फ्रान्समा राष्ट्रपति पदको दोस्रो चरणको निर्वाचनको आउन चार दिन अगाडि बुधबार भएको अन्तिम टेलिभिजन बहसमा दुवै उम्मेदवार इम्मानुएल म्याक्रों र मारिन ल पेनले एक अर्का विरुद्ध गाली गलौज र आरोप प्रत्यारोप गरेका छन्।

करिब दुई घण्टासम्म एक अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका दुवै उम्मेदवारले आंतकवाद, अर्थतन्त्र र युरोपका विषयमा आफ्ना धारणा राखेका थिए। बहसपछि फ्रान्सेली प्रसारण कम्पनी 'बिएफएमटिभी'ले गरेको सर्वेक्षणले कतिपय मुद्धामा जनताले ल पेनलाई भन्दा म्याक्रोंलाई समर्थन गरेको बताएको छ। म्याक्रोंले टेलिभिजन बहस हेरेका दर्शकमध्ये ६३ प्रतिशत दर्शकको मत जितेको पनि उक्त प्रसारण कम्पनीको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

बहसमा अति दक्षिणपन्थी उम्मेदवार ल पेनले आफ्ना प्रतिद्वन्दी म्याक्रोंको अर्थतन्त्र तथा सरकारको पृष्ठभूमिको आलोचना गर्दै उनी फ्रान्सको नियन्त्रण गुमाउन पनि तयार बर्बर विश्वव्यापारीकरणको उम्मेदवार भएको आरोप लगाएकी थिइन्। उनले फ्रान्सलाई एउटा व्यापारिक कोठा भन्दा केही नदेखेको र त्यो व्यवस्थामा सबै आफ्नै लागि मात्रै लडिरहने बताइन्। प्रतिउत्तरमा मध्यमार्गी धारका राष्ट्रपति पदका उम्मेदवार इम्मानुएल म्याक्रोंले मारिन ल पेनको रणनीति नै झुट बोल्नु रहेको बताए थिए। आफ्नो अगाडि एकदमै ठूलो डरको मानिस बसिरहेको पनि उनले आरोप लगाएका थिए।

फ्रान्समा करिब १० प्रतिशत बेरोजगारी रहेको छ। म्याक्रोंले देशले बेरोजगारी समस्यालाई देशले सम्बोधन नगरेको आरोप लगाएका थिए। लगत्तै ल पेनले म्याक्रों अर्थ मन्त्री हुँदा किन त्यो समस्या किन समाधन नगरेको भन्दै प्रश्न गरेकी थिइन्।

बहसको १६० मिनेट मध्ये अधिकांश समय दुवैजनाले एक अर्काप्रति व्यक्तिगत बेइज्जतीपूर्ण अभिव्यक्ति दिएका थिए। फ्रान्समा मे ७ आइतबारका दिन राष्ट्रपति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदै छ। पहिलो चरणमा भएको निर्वाचनमा सहभागी ११ उम्मेदवारमध्येबाट दोस्रो चरणका लागि पहिलो नम्बरमा म्याक्रों र दोस्रोमा मारिन ल पेन छानिएका थिए। विभिन्न संस्थाले गरेको पछिल्ला सर्वेक्षणमा दोस्रो चरणको निर्वाचनमा म्याक्रों अगाडि देखिए पनि दुईबीचको दुरी कम हुँदै गएकाले उक्त बहसमा दुवै उम्मेदवारको लक्ष्य अनिर्णित ठानिएका १८ प्रतिशत मतदाताको मन जित्नु रहेको थियो।

दोस्रो चरणमा प्रवेश गरेका दुवै नेताबीच कुनै पनि समानता पाइंदैन। उनीहरुको व्यक्तित्व र राजनीतिक दृष्टिकोण फरक छन् र दुवैले एक अर्कालाई पटक्कै नरुचाउने बिबिसीले जनाएको छ। फ्रान्सको राजनीतिक इतिहास मै पहिलोपटक दोस्रो चरणमा पुगेका राष्ट्रपति पदका दुवै उम्मेदवार फ्रान्सका मूलधारका पार्टी भन्दा बाहिरका रहेका छन्।

राष्ट्रपति पदका दुई उम्मेदवारबीच भएको अन्तिम टेलिभिजन बहस फ्रान्सका जनताले दीर्घकालसम्म सम्झने खालको भएको बिबिसीले जनाएको छ। उनीहरुको बहसलाई फ्रान्सभित्र मात्र नभई बाँकी विश्वभर पनि रुचिका साथ हेरिएको बिबिसीले जनाएको छ।  

प्रकाशित: २२ वैशाख २०७४ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App