coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतले पाकिस्तानी खेलाडीलाई भिसा दिएन

नयाँ दिल्ली- भारत सरकारले एसियाली च्याम्पियनसिपअन्तर्गत स्क्वास तथा कुस्ती खेलमा भाग लिन आउने पाकिस्तानी खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ।

पाकिस्तानले सीमापार आतंकवादलाई सहयोग पुर्‍याइरहेसम्म दुवै छिमेकी देशबीचको द्विपक्षीय खेलसम्बन्ध सुमधुर हुन नसक्ने भारतीय खेलमन्त्री विजय गोयलको भनाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

'खेल र आतंकवाद सँगै हिँड्न सक्दैनन्। यो कुरा पाकिस्तानले बुझ्नुपर्छ। भारतले पाकिस्तानद्वारा प्रायोजित सीमापार आतंकवादलाई गम्भीरतापूर्वक लिएको छ। भिसा नदिनुको अर्थ आतंकवादी गतिविधि रोक्नका लागि पाकिस्तान सरकारमाथि जनदबाब बढोस् भनेर नै हो,' खेलमन्त्री गोयलले बुधबार भने। मई १० देखि १४ सम्म भारतको राजधानी दिल्लीमा हुने एसियन च्याम्पियनसीपका लागि भारत आउने तयारीमा रहेको पाकिस्तानी टोलीलाई भारतीय उच्च आयोगले भिसा दिन अस्वीकार गरेको हो। यसअघि चेन्नईमा हुन लागेको स्क्वास खेलका लागि पनि पाकिस्तानी टोलीलाई भिसा दिन भारतले अस्वीकार गरेको थियो।

भारतीय सेनाका नायब सुबेदार परमजीत सिंह र हेड कन्स्टेबल प्रेमसागरको नृशंस हत्यामा पाकिस्तानी सेनाको हात रहेको भन्दै भारत र पाकिस्तानकाबीचमा तनाव उत्पन्न भएसँगै आक्रोशित भारतले पाकिस्तानी खेलाडीलाई भिजा दिन अस्वीकार गरेको बताइएको छ। यसैबीच आफ्ना सेनाको हत्यामा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूमाथि कारवाही गर्न भारतले पाकिस्तानसमक्ष माग गरेको छ। यद्यपि पाकिस्तानी सेनाले उक्त हत्यामा आफ्ना जवानहरूको संलग्नतालाई अस्वीकार गर्दै आएको छ।

विदेश सचिव एस. जयशंकरप्रसादले बुधबार पाकिस्तानका उच्चायुक्त अब्दुत बासितलाई विदेश मन्त्रालयमा बोलाएर भारतीय सैनिकको हत्या र उनीहरूको लासमाथि गरिएको दुर्व्यवहारप्रति भारत पाकितानप्रति निकै नै

आक्रोशित रहेको बताएका थिए। भारतले पाकिस्तानको सेनाले आतंकवादीसँग मिलेर यस्तो घटना घटाएको दाबी गर्दै आएको छ। भेटमा पाकिस्तानका उच्चायुक्तले भने भारतको उक्त आरोप अस्वीकार गरेको बताइएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले आफ्ना सैनिक मारिएको घटना मानवताका सम्पूर्ण मानदण्डको विरुद्ध भएको र त्यसलाई पाकिस्तानले उक्साहटबाट गरिएको ठूलो घटना ठानेको बताए।

घटनास्थलमा मारिएका आफ्ना सैनिकका रगतका चिह्न तथा उनीहरुको रगत बगेर पाकिस्तानको नियन्त्रणमा रहेको क्षेत्रतिर जानु एउटा महत्वपूर्ण प्रमाण भएको बताउँदै प्रवक्ता बागलेले भने, ' घटना भएको बेला भारतीय सैनिकको अंगभंग गर्न आउनेलाई सुरक्षा दिन सकियोस् भनेर पाकिस्तानी अधिकारीले कास्मिरतर्फबाट ठूलो गोलाबारी गरेको थियो।'

भारतीय सञ्चारमाध्यमले अहिलेसम्म आफ्ना सैनिक मारिएको घटनामा शरीफ सरकारको तर्फबाट कुनै पनि प्रतिक्रिया नआउनुले पाकिस्तानी सेनाले प्रधानमन्त्री नवाज शरीफको सरकारको बेवास्ता गरेको आरोप लगाएका छन्। आफ्ना सेना मारिएको घटनाका कारण पाकिस्तानी सेना र आतंकवादीबीच भारतीय सुरक्षा संयन्त्रविरुद्ध गठबन्धन कायम भएको र यसले गर्दा भारतीय सुरक्षा संयन्त्र चिन्तित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: २२ वैशाख २०७४ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App