coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चुनावका बेला नारायणगढ मुग्लिन सडक २४ सै घण्टा खुला हुने

चितवन- दैनिक छ घण्टा बन्द हुने नारायणगढ मुग्लिन सडक आउँदो सोमबार अर्थात् वैशाख २५ देखि जेठ तीन गतेसम्म २४ सै घण्टा खुला रहनेछ। स्थानीय चुनावका लागि आउजाउ गर्ने मतदाताहरुको सुविधालाई ख्याल राखेर सो निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ। १० दिन अर्थात जेठ ४ पछि फेरि बिहान १० देखि दिउँसो चार बजेसम्म सो सडक बन्द हुनेछ।

'वैशाख १९ गते चितवन जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलापछि यस्तो निर्णय भएको हो,' नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने। सो सडक राजधानीलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य सडक मार्ग हो। सडक बन्द हुँदा यात्रा गर्नेहरुले निकै हैरानी बेहोर्नुपरेको छ।

सो सडक खण्ड हुँदै दैनिक १० हजार गाडीहरु ओहरदोहर गर्ने आयोजना कार्यालयको अनुमान छ। काठमाडौंका साथै पर्यटकीय सहर पोखरलाई पनि यही मार्गले पूर्व पश्चिम नेपालसँग जोड्छ। नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ। दुई वर्षअघि विस्तारको काम सुरु भएसँगै सो सडक खण्डमा यात्रा गर्नु निकै कष्टकर हुने गरेको छ।

सडकमा हैरानी भएपछि हवाइ यात्रामा पनि चाप बढेको छ। जसका कारण हवाइ यात्रामा पनि हैरानी मुक्त छैन। निर्माण कम्पनीहरुसँग सुरुमा भएको सम्झौताअनुसार अहिले सो सडकको निर्माण पूरा हुनुपर्थ्यो। दुई वर्षभित्र निर्माण सक्ने भनेर सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीहरुसँग सम्झौता भएको थियो। पूर्वनिर्धारित समयसीमा सकिए पनि काम अझै आधामात्रै सकिएको छ।

विश्व बैंकको ऋण सहयोगमा निर्माणको काम सुरु भएको हो। निर्माण कार्यलाई तिब्रता दिन भन्दै दिनमा छ घण्टासम्म सडक पूरै बन्द गर्ने क्रम सुरु भएको हो। एकतर्फी रुपमा गाडी बन्द गरेर निर्माणको काम गर्ने भनिए पनि त्यसरी काम गर्न सम्भव नै नभएका कारण दोहरै यातायात बन्द गर्नु परेको निर्माण कम्पनीका प्रतिनिधिहरु बताउँछन्। यातायता बन्द गरेर काम गरे पनि सोचेअनुरुप काम अगाडि बढ्न सकेको छैन।

प्रकाशित: २२ वैशाख २०७४ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App