६ वैशाख २०८१ बिहीबार
समाज

गाडी नगुड्दै बाढीले बगायो म्यार्दीखोला पुल

लमजुङ-मनाङ र लमजुङको सीमावर्ती म्यार्दीखोलामा निमार्ण गरिएको मोटरगुड्ने पुल शुक्रबार राती आएको बाढीले बगाएको छ।

शुक्रबार दिउँसो साँढे ३ बजेदेखि रातभरी परेको अविरल वर्षापछि म्यार्दीखोलामा आएको ठूलो बाढीले सो पुल बगाएको हो। एकमहिना अघि मात्रै निर्माणकार्य सकिएको सो पुल एकपटक पनि सवारी साधन नगुडाउँदै बाढीले बगाएको छ। पुल बगेसँगै बेसीशहर–मनाङ सडकमा यातायात पूर्णरुपमा ठप्पै भएको छ।

लमजुङ सदरमुकाम बेसीशहर हुँदै मनाङमा यातायात सेवा सुरु भएदेखि नै काठको अस्थायी पुल निर्माण गरि सवारी साधन गुडाउँदै आएकोमा यसवर्ष सो खोलामा पक्की पुल निर्माण गरिएको थियो। स्थानीय विर्खबहादुर गुरुङका अनुसार बाढीले लमजुङ तिरको जगमा बढी क्षति पुर्याउनु साथै पुल पूर्णरुपमा बगाएको सडक डिभिजन कार्यालय तनहुँका ओभरसियर सुमन अधिकारीले बताए। ७.५ मिटर लम्बाई र ३ मिटर चौडाईको सो पुलको ढलान कार्य सिध्याएर आसपासमा अन्य संरचनाहरु निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अवस्थामा पुल बगाएको अधिकारी बताउँछन् । बाढीका कारण म्यार्दीभिर माथिका विभिन्न खोला, खोल्सी र छहराहरुमा निर्माण गरिएका कजवे र ह्युमपाईपहरु पनि बगाएर क्षति पुर्याएको जानकारी पाएको उनले बताए।

पुल बगाएको खबर पाए लगतै अवस्था बुझ्न त्यसतर्फ प्रहरी पठाईएकोमा बाढी पहिरोका कारण तत्कालै कुनै जानकारी प्राप्त नभएको मनाङका प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एम.जि.ले बताए। वर्षाका कारण बेसीशहर–मनाङ सडकखण्डका दजनौं स्थानमा क्षति पुगेको जानकारी स्थानायीबाट आएको एम.जि.बताउँछन् । त्यस्तै, लमजुङ तर्फबाट पनि सडक डिभिजन कार्यालयका प्राविधिक सहितको समूह म्यार्दीखोला जाँदै गरेको तर सो सडकखण्डको ठाउँ–ठाउँमा साना–ठुला पहिरो खस्नुको साथै बाढी र वर्षाका कारण निर्धारित समयमा पुग्न नसकिएको ओभरसियर अधिकारीले जानकारी दिएका छन् । सडकको विभिन्न स्थानमा पहिरो खसेकाले डोजरको सहयताले पहिरो पन्छाएर बाटो खुलाउँदै म्यार्दीखोला तर्फ जाँदै गरेको उनको भनाई छ ।

दैनिक ४० वढी जीप गुड्ने सो सडकखण्डमा संरचना निर्माण तथा मर्मत सम्हारको काम भईरहेकाले एकमहिना देखि केही खण्डहरुमा यातायात सेवा बन्द गराईएको थियो । निर्माण तथा मर्मतसम्हारको काम सकिएपछि यातायात सेवा सुरु गर्ने तयारी हुँदै गर्दा पहिरोका कारण वाधा उत्पन्न भएको थियो भने अहिले म्यार्दीखोलाको मुख्य पुल नै बगाए पछि थप समस्या उत्पन्न भएको सडक डिभिजनका प्राविधिकले बताएका छन् ।

म्यार्दीपुल बगाए सँगै मनाङबासीमा जिल्लामा आवश्यक पर्ने खाद्यन्न लगायतका अन्य सामानको अभाव झेल्नु पर्ने त्रास बढेको मनाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठले बताए । १५–२० दिनमा यातायात सेवा सुचारु भएन भने सामान अभाव हुने उनको भनाई छ । उनका अनुसार यसवर्ष बैशाख देखि नै वर्षा सुरु भएकाले यातायात सेवा निकै जोखिमपूर्ण बन्दै आएको र मध्यवर्खामा आईपुग्दा सो समस्या झनै बढेको थियो । म्यार्दीखोला, म्यार्दीभीर, तिमाङ ओरालो नजिकै स्याल्क्यु छहरा र लमजुङ तर्फ स्याँगे, जगतको उकालो, श्रीचौर लगायतका क्षेत्रमा सडकको अवस्था निकै जोखिमपूर्ण रहेको श्रेष्ठले बताए।

 

प्रकाशित: १ श्रावण २०७३ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App