coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाभियोग अल्झनले संसद स्थगित

काठमाडौं- प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्मा प्रस्तुत गर्ने विषयमा सत्तापक्ष र विपक्षीबीच कुरा नमिल्दा बिहीबार संसद् बैठक बस्न सकेन। बैठक शुक्रबारलाई सरिएको छ। महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएपछि प्रधानन्यायाधीश कार्की निलम्बनमा छिन्।

प्रतिपक्ष एमालेले कार्कीविरुद्ध निराधार आरोप लगाउँदै राजनीतिक प्रतिशोधका आधारमा ल्याइएको महाभियोग फिर्ता नलिएसम्म सदन अवरोध गर्ने चेतावनी दिएपछि सभामुख ओनसरी घतीले थप छलफल गर्न संसद् बैठक शुक्रबार १० बजेसम्मका लागि सारेकी हुन्।

उनले बिहान सत्तापक्ष र विपक्षी एमालेका शीर्ष नेतासँग संसद् बैठक चलाउन सहमतिको प्रयास गरेकी थिइन्। सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुभास नेम्बाङ र माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठ सहभागी थिए।

उक्त छलफलमा पनि ओलीले प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिएर सदन चलाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए। सो छलफललगत्तै  संसद् भवन बानेश्वरमा बसेको कार्यव्यवस्थाको बैठकमा पनि एमाले गठबन्धनका नेताले महाभियोग फिर्ता लिएमात्र सदन चल्न दिने बताएका थिए। सरकारले जुनसुकै अवस्थामा पनि सदनमा छलफलका लागि महाभियोग प्रस्ताव पेस गर्ने रणनीति बनाए पनि एमाले, राप्रपा र संघीय समाजवादीलगायत दलको सर्मथन नभएपछि सत्तापक्षका नेताले थप छलफल गर्ने भन्दै एक दिन संसद् बैठक सार्न सभामुखलाई आग्रह गरेका थिए।

एमाले उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पनि आफ्नो अडान कायम रहने बताएका छन्। 'हामी आफ्नो अडानमा स्पष्ट छौं', गौतमले भने, 'महाभियोग फिर्ता नलिएसम्म जतिसुकै दिन भए पनि सदन अवरुद्ध नै रहन्छ।'

एमाले संसदीय दलका उपनेता नेम्बाङले पनि महाभियोग कुनै गम्भीर विषयमा नभई अन्य नियतबाट आएकाले सदनमा पेस हुन नदिने बताए । 'प्रधानन्यायाधीशको कार्यकाल एक महिना बाँकी रहेको समयमा र कुनै मुद्दामा आफूअनुकूल आदेश नआउने अनुमानका भरमा महाभियोग लगाइन्छ भने कसरी सदन चल्न दिने', उनले भने, 'पारित हुनका लागि दुईतिहाइ बहुमत आवश्यक हुन्छ तर यो संख्या पुग्दैन भन्ने थाहा हुँदाहुँदै किन दर्ता गरियो? त्यसैले यसलाई रोक्नुपर्ने देखिन्छ।'

तर नेपाली कांग्रेसका सांसद मिनबहादुर विकले भने महाभियोग प्रस्ताव शुक्रबार सदनमा पेस हुने बताए। 'सदनमा पेस गर्नकै लागि दर्ता गरिएको हो, केही दिन त विपक्षी सहमतिमा आउँछन् कि भनेर पहल भइरहेको हो', उनले भने, 'अब सहमतिमा आए वा नआए पनि सदनमा पेस हुन्छ।'

महाभियोग प्रस्तावमा शुक्रबार नै छलफल चलाउने गरी दुई चरणमा संसद् बैठक चलाउने तयारीमा सभामुख थिइन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रका २५९ सांसदले प्र्रधानन्यायाधीश कार्कीविरुद्ध पदको दुरुपयोग गरी कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै महाभियोग दर्ता गराएका हुन्। नेपाली कांग्रेसका सांसद विश्वकर्माक प्रस्तावक र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक रहेको महाभियोग प्रस्ताव आइतबार संसद् सचिवालयमा दर्ता गराइएको हो।

प्रधानन्यायाधीशविरुद्ध दर्ता महाभियोगको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा व्यापक विरोध भइरहेको छ। एमाले, राप्रपा, संघीय समाजावदी फोरम नेपाल, फोरम लोकतान्त्रिक र अन्य साना दल विपक्षमा भए पनि सत्ता गठबन्धनका नेपाली कांग्रेस र माओवादी केन्द्र भने जसरी पनि महाभियोगलाई सदनमा प्रवेश गराउने तयारीमा छन्। प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रियामा प्रधानन्यायाधीश कार्कीले हस्तक्षेप गरेको विषय सही थियो भन्ने देखाउन पनि उनीहरू महाभियोग सदनमा पेस गर्न चाहन्छन्। यस विषयमा सहमति जुटाउन सभामुखले शीर्ष नेताहरूबीच वार्ताको पहल गर्ने भएकी छिन्।

प्रकाशित: २२ वैशाख २०७४ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App