१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले मतदान नगर्ने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएकी छिन्। संविधानको संरक्षक र सबैको साझा राष्ट्रपति भएकाले कुनै दल विशेषका उम्मेदवारलाई मतदान गर्न उचित नठानेर उनले यो प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जानकारी प्रेस सल्लाहकार माधव शर्माले दिए। राष्ट्रपति भण्डारी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३, चपलीबाट मतदाता छिन्।

'संविधानको रक्षा गर्ने जिम्मेवारी र दायित्व तथा सबै पार्टीको साझा व्यक्ति भएकाले उहाँ (राष्ट्रपति) बाट मतदान नगर्ने निर्णय भएको हो', शर्माले भने, 'मतदानमा सहभागी हुँदा कुनै एक पार्टीका उम्मेदवारलाई मत दिनुपर्छ, सबैको साझा राष्ट्रपतिले यसो गर्दा विवाद आउन सक्छ, विवाद नआओस् भन्ने उहाँको चाहना हो।' पहिलो राष्ट्रपति रामवरण यादवले पनि दोस्रो संविधानसभा निर्वाचनमा मतदान गरेका थिएनन्।

पछिल्ला दिनमा राष्ट्रपति भण्डारीले विभिन्न दलका नेतालाई शीतलनिवास बोलाएर चुनावबारे चासो राख्दै आएकी छिन। उनले चुनावमा बाधा आउने गतिविधि नगर्न पनि दलका नेताहरूलाई आग्रह गर्दै आएकी छिन्। राष्ट्रपति भण्डारीसँग बिहीबार सभामुख ओनसारी घर्तीले शीतलनिवास पुगेर भेट गरिन्। भेटमा वैशाख ३१ ग्ाते हुने स्थानीय तहको निर्वाचन र प्रधानन्यायीश सुशील कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावबारे छलफल भएको सभामुखको कार्यालयले जनाएको छ। भेटमा सभामुखले महाभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अघि बढ्ने बताएकी थिइन्। 

राष्ट्रपतिले शुक्रबार राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई शीतलनिवास बोलाएको सो दलका नेता मनीष सुमनले जानकारी दिए।

प्रकाशित: २२ वैशाख २०७४ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App