६ वैशाख २०८१ बिहीबार
कला

करिश्मा मानन्धरलाई आठ अभियोग

करिश्मा मानन्धर चौध वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट तीन दशकअघि अभिनयमा प्रवेश गरेकी अभिनेत्री हुन्, करिश्मा मानन्धर । ‘ट्रक ड्राइभर’, ‘ढुकढुकी’, ‘बाबुसाहेब’ उनका रुचाइएका फिल्म हुन् । उनी अभिनीत फिल्म ‘हिरोज’ प्रदर्शनको तयारीमा छ । भर्खरै उनले राजनीतिमा प्रवेश गरेकी छिन् । उनीबारे नेपाली फिल्म जगत्मा सुनिने कुराका आधारमा अनिल यादवले उनलाई आठ अभियोग लगाएका छन्, जसको सफाइ उनले यसरी दिएकी छिन् ।

१ तपाईं अभिनय क्षमताभन्दा सुन्दरताले टिकेको कलाकार हो ।

यो अभियोग हो । यसलाई मैले स्वीकार गर्नुपर्छ भन्ने छैन । सुन्दरतालाई जुन अभियोगका रूपमा भनिएको छ, यो नै आफैँमा एउटा तारिफ हो । अभिनयमा मैले ३० वर्षदेखि काम गरिरहेको छु । यो अवधिमा मैले कहिले पनि शतप्रतिशत मेहनत नगरेको छैन । हुन सक्ला, मैले दर्शकको अपेक्षालाई भेट्न सकेको छैन । हुन सक्ला, दर्शकहरू मेरो अभिनयभन्दा पनि सुन्दरतामा बढी केन्द्रित हुनुभयो होला । सुन्दरताकै कारण अभिनय छोपिएको हुन सक्छ । अहिले नयाँ पुस्ताले गरिरहेको सरल जनजीवनको शैलीमा अभिनय मैले त्यो बेला गर्थें । त्यो समयमा त्यो अभिनय फिट थिएन । त्यसकारण मैले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइनँ । त्यो बेलामा चाहिँ रोनाधोना नै रुचाइन्थ्यो । यो मेरो बुझाई हो ।

२ भर्खरै तपाईं नयाँ शक्ति नेपालमा प्रवेश गर्नुभयो । राजनीतिक चेतनाले प्रेरित भएर होइन, सेलिब्रिटी भएर कमाएको चर्चालाई उपयोग गर्नुभयो । तपाईं मन्त्री हुने लोभले राजनीतिमा आउनुभएको हो ।   

मैले मन्त्री बन्न आएको होइन भन्दा मैले झुटो बोलेको हुन्छ । किनकि, जुनसुकै क्षेत्रमा पनि मान्छे शिखर चुम्ने लक्ष्यका साथ नै लाग्छ । रह्यो चर्चाको कुरा, यदि मैले सेलिब्रिटी भएको चर्चालाई उपयोग गर्न चाहन्थें भने अरू नै कुनै पार्टीमा लाग्थेँ, बिजनेस गर्थें या अर्कै ढंगले अघि बढ्थेँ । विभिन्न देश घुम्ने क्रममा मैले धेरै कुरा सिकेँ । राजनीतिप्रति धेरैको वितृष्णा पाएँ । नेपाली नागरिक भएपछि देशप्रति सचेत हुनुपर्छ भन्ने भावनाले नै म राजनीतिमा आएको हुँ । हामीकहाँ राजनीति गर्ने जुन पुरानो शैली छ, त्यो हुनुहुन्न भन्ने मेरो मान्यता हो । नयाँ शतिm पार्टी चाहिँ नयाँ ढंगले अघि बढ्न लागेको हुनाले मेरो एक्यबद्धता यसमा भएको हो ।

३ तपाईं असाध्यै महत्वाकांक्षी मान्छे हो । आफ्नो महŒवाकांक्षा पूरा गर्न तपाईं जस्तोसुकै कदम चाल्न पनि पछि पर्नुहुन्न ।

मलाई सस्तो किसिमको प्रचारबाजी मन पर्दैन । म दुई दिनका लागि चर्चित हुन चाहन्नँ । तर, महŒवाकांक्षी चाहिँ हो म । बिख नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन । कुनै मानिसको एउटा कार्यदिशा र गन्तव्य छैन भने त्यो मेरो विचारमा बेकारको मान्छे हो । गन्तव्यविहीन मान्छे त बोरिङ मान्छे हुन्छ । त्यसैले यो २१ औँ शताब्दीमा कुनै न कुनै महत्वाकांक्षा राख्नु गलत कुरा होइन मेरो विचारमा । तर, सही चिजका लागि राख्नुपर्छ, गलत ढंगले गलत कुराका लागि होइन । यदि म महात्वाकांक्षा राख्ने मान्छे नै भएको भए म उहिल्यै युके पुगिसकेको हुन्थेँ । ससुराको ठूलो रेस्टुरेन्छ छ त्यहाँ । त्यही चलाएर बस्थेँ होला । तर, मैले त्यसो गरिनँ । किनकि, म अभिनयमै रमाउन चाहेँ । देशकै लागि केही गरुँ भन्ने भावना थियो ममा ।

४ तपाईंले जिन्दगीभर एउटै खालको चरित्र निर्वाह गर्नुभयो । राम्री युवती, लभर गर्ल, रुञ्चे आदि । महिला उत्थान वा सशक्तीकरणमा सघाउने खालको एउटै पनि भूमिका निर्वाह गर्नुभएन ।

हाम्रो समाज पुरुषप्रधान हो । फिल्म बनाउने र लेख्ने मान्छेहरू पनि यहाँ बढी पुरुष नै छन् । त्यसैले उनीहरूले देखेको नारी पात्र नै मैले निर्वाह गर्नुपर्ने मेरो बाध्यता हो । मैले ६० लाख लगाएर आफ्नो लागि मात्र भूमिका लेखेर खेल्ने कुरा पनि भएन । तर, मैले केही वर्षअघि ‘मायाज बार’मा बार गर्लको भूमिका निर्वाह गरेको थियो । बार गर्ल भए पनि त्यो समाजविरुद्ध बोल्ने महिला पात्र नै थियो । त्यस्तै, भर्खरै मैले ‘हिरोज’ फिल्ममा काम गरेको छु जुन रिलिजको तयारीमा छ । त्यहाँ म नै प्रमुख पात्रका रूपमा छु । त्यो फिल्मले महिला सशक्तीकरणमा केही सघाउँला भन्ने मलाई लाग्छ । कुनै पनि नारी पात्रले तीन बल्ड्याङ खाएर डिस्यु गरेर हान्दै फाइट गर्दैन । त्यो चाहिँ सिनेमा मात्र सीमित हुन्छ । म चाहिँ वास्तविक समाजमा उदाहरणीय काम गरिरहेका महिलाहरूको चरित्र निर्वाह गर्न रुचाउँछु ।
 

५ तपाईंको मदिरा प्रेम डरलाग्दो छ ।

नेपाली समाजमा मदिरा नखाने त कमै होलान् । मैले मदिरा नपिएको भए अहिलेको सफलता जुन छ, त्यो हासिल गर्न सक्दैन थिएँ । रमाइलो कुरा चाहिँ के छ भने मेरो रमाइलो गर्ने शैली बडो अचम्मको छ । म हरेक दिन मदिरा पिउँदिनँ । दिन तोकिएको हुन्छ । मेरो आफ्नै साथी सर्कल छ । मदिरा पिउने दिन साथीहरूलाई बोलाएर रमाइलो गर्छु । अर्को कुरा, मदिरामा पनि म बियरबाहेक अरू कुनै ड्रिंक्स पिउँदिनँ ।

६ तपाईं असाध्यै घमण्डी हुनुहुन्छ । सार्वजनिक कार्यक्रममा पुरानो परिचित मान्छेलाई पनि तपाईं नचिनेजस्तो गर्नुहुन्छ ।

कहिलेकाहीँ त्यस्तो हुन पनि सक्ला । सबै मान्छेलाई हामीले त्यसरी नै ट्रिट गर्छौं भन्ने पनि छैन । कोही कसैसँग नबोल्दैमा घमण्डी भनेर कसरी परिभाषित गर्ने ? बाटोमा हिँड्दा पनि कोही मलाई हाँसिरहेको हुन्छ । त्यस्तो अवस्थामा कहिलेकाहीँ ‘आर यू लाफिङ एट मी’ भनेर पनि म सोध्छु । मलाई गरिने व्यवहारका आधारमा म उसलाई व्यवहार गर्छु । त्यसैले म आफूले आफूलाई घमण्डी ठान्दिनँ । किनकि, मेरो साथीहरूलाई थाहा छ, म उनीहरूका लागि कति समय दिन्छु, कस्तो व्यवहार गर्छु भन्ने कुरा । त्यसैले खासमा म एकदम सिम्पल मान्छे हुँ । नचिन्नेहरूले घमण्डी भन्ने गर्छन् ।

७ तपाईंको अंग्रेजी खासै गतिलो छैन । तर, ठाउँ कुठाउँ अंग्रेजी जानेको देखाउन खोज्नुहुन्छ र हाँसोको पात्र बन्नुहुन्छ ।

कोही हाँस्छन् भने मलाई आपत्ति छैन । अंग्रेजी मेरो भाषा होइन, त्यसैले जति सिकेको छु त्यति बोल्छु । म यसमा एकदमै विज्ञ छु भन्न चाहन्न । तर, ममा अंग्रेजीभन्दा नेपाली शब्द अलि कम छ भन्ने चाहिँ लाग्छ । किनकि, मलाई अंग्रेजी चाहिँ सजिलो लाग्छ । अर्को कुरा, म अमेरिका बसेर आएको मान्छे हुँ, त्यसैले मसँग ब्रिटिस एक्सन छैन । ब्रिटिसले बोल्ने अंग्रेजी म कतिपय बुझ्दिनँ । पार्टीको कार्यक्रम सञ्चालन गर्दाको जुन कुरा छ , त्यसमा चाहिँ अरू कसैले चलाएको भए पनि कमजोरी हुन्थ्यो होला । प्रोटोकल मिलाउनुपर्ने थियो त्यहाँ । प्रोटोकलमा हल्का शब्द प्रयोग गर्नुहुन्छ कि हुँदैन भन्नेमा म एकदम सचेत भए । त्यो सचेतनाले गर्दा गडबड धेरै भयो । तयारीको कमी पनि भयो ममा ।
८ तपाईंलाई असफलताले छिट्टो निरुत्साहित बनाउँछ । फिल्म‘बाबुसाहेब’ फ्लप भएपछि तपाईं अमेरिका हानिनुभयो र फर्केपछि दर्शकले तपाईंलाई पहिलेजस्तो प्रेम गरेनन् ।  

म त्यो व्यक्ति हो जो हरेक असफलतामा पनि सफलता खोज्छु । मेरो घर भत्कियो भने पनि ‘थ्यांक यू, मेरो घर भत्कियो, अब म नयाँ घर बनाउँछु’ भनेर सोच्ने व्यक्ति हो म । चौध वर्षको उमेरमा मैले अभिनय थालेँ जतिबेला मैले दुनियाँलाई कत्ति पनि बुझेको थिइनँ । लामो समय काम गरेपछि ममा इन्पुट नभएर आउटपुट मात्र पनि भयो । त्यही बेलामा म दुनियाँलाई बुझ्न जरुरी छ भनेर अमेरिका पुगेको हुँ । त्यसले मलाई फाइदा पु¥याएको पनि छ । धेरै कुरा जान्ने मौका मिलेको छ । त्यसैले म असफलतामा आत्तिने मान्छे हो भन्नमा एकरत्ति पनि सहमत छैन । अर्को कुरा, यो फिल्म क्षेत्र भनेको नयाँ आउने र पुरानो जाने क्षेत्र हो । जसलाई दर्शकले होइन, मैले आफैँ महसुस गरेँ । त्यसैले पछि आएर दर्शकले मलाई त्यही रूपमा स्विकार्नु भन्नेमा म दुःखी छैन । किनकि, मैले पछि आएर अर्कै भूमिका गर्न थालेँ, दर्शकले पुरानै करिश्मा खोज्नुभयो । तर, परिवर्तित समयले त्यसो गर्न दिएन । र, यति भन्दैमा दर्शकको मनबाट मेरो लागि माया हट्यो भन्ने कुरा म मान्दिनँ । किनकि, आज पनि म देशको कुनाकुना जाँदा ‘हाम्रो करिश्मा’ भनेको धेरै सुन्छु ।

 

प्रकाशित: १ श्रावण २०७३ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App