७ वैशाख २०८१ शुक्रबार
राजनीति

नवमी मनाउन गृहमन्त्री जनकपुरमा

बिहीबार गृहनगर जनकपुर विमानस्थलमा निधी । तस्बिर : सुरेश यादव

जनकपुर – प्रधानमन्त्री समक्ष बुझाएको राजीनामा फिर्ता लिने बित्तिकै गृहजिल्ला धनुषा आएका गृहमन्त्री विमलेन्द्र निधीले पार्टी सभापति र प्रधानमन्त्रीको आग्रहमा बिहीबार पुनःसरकारको जिम्मेवारी सम्हालेको बताएका छन् । 

‘प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्तावप्रति असहमति जनाउँदै र त्यो प्रस्ताव आइजीपी नियुक्तिसँग सम्बन्धित भएको कारण मैले गृहमन्त्रीको हैसियतले नैतिकताको आधारमा राजीनामा गरेको थिएँ’ बिहीबार बिहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निधीले भने, ‘आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी सभापति शेरबहादुर देउवाजीसँग छलफलपछि उहाँहरुको आग्रहमा आजै बिहान साढे नौ बजे राजीनामा फिर्ता लिएको छु।’

उनले उपप्रधान तथा गृहमन्त्रीको हैसियतमा जनकपुरको जानकी नवमी उत्सवमा सहभागी हुन आएको बताए । ‘म अहिले मधेशको मुद्दा सम्बोधन, संविधान संशोधन र स्थानीय तहको निर्वाचन सफल गराउन पार्टीको सदस्य र मन्त्री परिषद्को सदस्यको हैसियतले भूमिका निर्वाह गर्छु’ उनले भने । 

निधीले आफैँ जिम्मेवार रहेको मन्त्रालयसँग सम्बन्धित विषयसँग जोडेर महाअभियोगको प्रस्ताव आउँदा पनि पार्टी र सरकारले समान्य सल्लाह पनि नगरेपछि राजीनामा दिँदा मधेशी दलका महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले समर्थन जनाएको बताउँदै उनले थपे, ‘उहाँहरूले मेरो दृढताप्रति ऐक्यवद्धता जनाउँदै अहिलेको अवस्थामा गृहमन्त्रीकै रुपमा हेर्न चाहेको र राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो ।’

निधीले महाअभियोग प्रस्ताव फिर्ता र संविधान संशोधन लगायत विषयमा छलफल चलिरहेको बताए । उनले मधेशको मुद्दा सम्बोधन गरी सबै पक्षलाई समेटेर निर्वाचन सफल गराउन माओवादी केन्द्र, काँग्रेस र सरकारले घनिभूत रुपमा छलफल गरिरहेको बताए । 

‘मन्त्रीपरिषद्को वरियताक्रम सम्बन्धी विवाद टुंगियो कि ?’ नागरिकको जिज्ञासामा उपप्रधानमन्त्री निधीले भने, ‘अहिले त्यो भन्दा पनि मुख्य विषय निर्वाचन, संविधान संशोधन र मधेशको मुद्दा हो । यसको लागि तत्काल ती कुरामा ध्यान दिएको छैन।’

निधी बिहीबारै राजधानी फर्किने कार्यक्रम छ । 

 

प्रकाशित: २१ वैशाख २०७४ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App