८ वैशाख २०८१ शनिबार
कला

मन चोर्दै उपत्यकाका काष्ठकला

काठमाडौं- छिमेकी मुलुक चीनकी फैजा काठमाडौंको वसन्तपुर दरबार घुम्दै गर्दा त्यहाँका काष्ठकलाबाट मोहित भइन्। उनीसँगै रहेका दुई साथी पनि दरबारभित्रका मन्दिरमा काष्ठकला हेर्दै दिनभर घुमिरहे। 'दरबार नै राम्रो छ', भूकम्पले चिरिएका भित्ता देखाउँदै फैजाले भनिन्, 'यो बनेपछि झन् सुन्दर देखिनेछ।'

बेजोड सुन्दरता र अदुभूत आकर्षणका कारण नेपाली काष्ठकलाले विदेशी पर्यटकलाई मोहित बनाउँदै आएको छ। काष्ठकला कुँदिएका उपत्यकाका दरबार हेरेर  नेपाली पनि लट्ठ पर्छन्।

ललितपुरको पाटनस्थित दरबार स्क्वायरमा आउने विदेशी पाहुनालाई यहाँका काष्ठकला अनौठा लाग्छन्। डच पर्यटक सिम्मी जहाँ सुन्दर काष्ठकला देख्थिन्, त्यही ठाउँमा फोटोको पोज दिइहाल्थिन्। उनी मात्र हैन, कोरियाका पाहुनालाई पनि पाटन संग्रहालयभित्रका टुँडाल र झ्यालका बुट्टाले उत्तिकै तान्यो। उनीहरुले घरी दलिनमा टाँसिएर फोटो खिचे त घरी माथिल्लो तलाको बुट्टे झ्यालमा बसेर तस्बिर लिए।

विदेशी पाहुना मात्र हैन, अन्य सहरका नेपाली पनि उपत्यकाका दरबार र मन्दिरमा कुँदिएका काष्ठकलाबाट आकर्षित हुन्छन्। 'पाटन भनेकै काष्ठकलाको नमूना हो,' पाटनमा नेवा छे आर्ट ग्यालरी चलाइरहेकी कलाकार सरिता डंगोल भन्छिन्, 'जति पनि मन्दिर र दरबार छन्, त्यहाँ काष्ठको अनुपम कला पाइन्छ।'

उपत्यकाको काष्ठकला करिब पाँच सय वर्ष पुरानो रहेको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन्। 'दरबार र मन्दिरका सबै कला मल्लकालको काष्ठकला हो,' उनले भने। उनका अनुसार सबभन्दा पुरानो काष्ठकला पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको काष्ठकला हो। 'काष्ठकलासँग कलात्मक सुन्दरता मात्र हैन मानिसको जनजीविका पनि जोडिएको हुन्छ,' जोशीले भने, 'उतिबेला मान्छेको सँख्या निकै कम थियो, त्यसैले पनि मन्दिरका टुँडालमा देवीदेवताका यौनचित्र राखेर मानिसलाई बढी सन्तान जन्माउन प्रेरित गरिन्थ्यो।' बस्तीमा हुने मन्दिरमा यौन समागमका चित्र बनाएमा चट्याङ पर्दैन भन्ने धार्मिक विश्वास भएकाले पनि मानिसका अस्तित्व यस्ता चित्रले दर्शाउने गरेको जोशीले बताए।

काष्ठकलाका झ्याल एक झ्याल, तीन झ्याल, पञ्च झ्याल र पचपन्न झ्यालले दरबारका रुपमा प्रसिद्ध छ। भक्तपुरमा राजा भूपतिन्द्र मल्लले बनाएको पचपन्न झ्याले दरबारका झ्याल नटले मात्र जोडिएका छन्। पाटनका पुराना राजाले बनाएका दरबारभन्दा सिद्धिनरसिंह मल्लका पालामा बनेकाले बढी चर्चा पायो।

वसन्तपुर दरबार क्षेत्रमा जयस्थिति मल्ल कालका कला महत्वपूर्ण मानिए। 'तर ती चित्र बनाउने कलाकार भने गुमनाम रहे', जोशीले भने 'राजाले बनाउन लगाएकाले उनी नै निर्माता भए। भक्तपुरकै सदाशिव चोकका तान्त्रिक मूर्तीहरू काठका अमूल्य गहना नै हुन्।'

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले पनि अहिलेका नेपाली पुस्तामा काष्ठकला लोकप्रिय बन्दै गएको बताए। 'नेपालमा मात्र हैन, विदेशमै पनि नेपालको काष्ठकलाको माग अत्याधिक छ' शाक्यले भने, 'नयाँ बनेका घर वा होटलका लागि काठका कला नै पहिलो माग बनेको छ।'

उनका अनुसार पोखरा, लुम्बिनी, चितवनमा खुलेको तारे होटलले झ्याल, ढोका र बुट्टाहरू बढी प्रयोग गरेका छन्। 'भूकम्पले भत्केका पुरानो पाटी, बिहार, दरबार, मन्दिरका लागि बढी यति धेरै माग छ कि काष्ठकला बनाउने कालिगढ नै अपुग भएको छ,' उनले भने, 'निर्यातले वैदेशिक मुद्रा मात्र हैन, नेपालको पहिचानका सांस्कृतिक सम्पदाको जगेर्ना गर्न सघाइरहेको छ। नेपालका काष्ठकला अमेरिका, जापान, जर्मनी, फ्रान्स, इटली, भारतलगायतका देशमा बढी निर्यात भइरहेको छ।'

प्रकाशित: २१ वैशाख २०७४ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App