coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दिल्लीको प्लेअफ सम्भावना कायम

नयाँ दिल्ली- दिल्ली डियरडेभिल्सले मंगलबार साबिक विजेता सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिगको प्लेअफ खेल्ने सम्भावना कायम राखेको छ।

मंगलबारको जितसँगै दिल्लीले पाँच खेलसम्मको जितविहीन यात्राको अन्त्य गरेको छ। प्रतियोगितामा तेस्रो जित निकालेको दिल्ली अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लिएको छ। दिल्लीले ९ खेलबाट ६ अंक जोड्दा हैदराबादले ११ खेलबाट १३ अंक जोड्दै तेस्रो स्थानमा यथावत् रहेको छ। मुम्बई इन्डियन्स शीर्ष स्थानमा रहँदा कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा छ।

युवराज सिंहको आक्रामक ब्याटिङ गर्दै ४१ बलमा अविजित ७० रन जोडेपछि टस हारेर ब्याटिङ निम्त्याइएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो।

हैदराबादका कप्तान वार्नरले २१ बलमा ४ चौका र १ छक्कासहित ३० रन बनाए। उनले शिखर धवनसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे। १७ बल खेलेका धवनले ४ चौका र १ छक्कासहित २८ रन जोडे।

कप्तान वार्नरलाई बोल्ड गरेका मोहम्मद सामीले २४ रन बनाएका केन विलियम्सनलाई क्रिस मोरिसमार्फत क्याच गराए। त्यसपछि युवराजले मोसिस हेनरिक्ससँग चौथो विकेटका लागि ९३ रनको अविजित साझेदारी गरेपछि ९२–३ को अवस्थामा रहेको हैदराबादले १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

२९ रनको स्थितिमा युवराज क्याच हुनबाट जोगिएका थिए। १७औं ओभरमा क्रिस मोरिसको बलमा युवराजको क्याच मिडविकेटमा रहेका सन्जु सामसनले छुटाएका थिए। त्यति बेला हैदराबाद १२९–३ को अवस्थामा थियो। त्यसपछि बायाँहाते युवराज आक्रामक बनेपछि अन्तिम तीन ओभरमा हैदराबादले ५२ रन जोडेको थियो। जसमा ५९ रन दिएका दक्षिण अफ्रिकाको तीव्र गतिका बलर कागिसो रावडाले दुई ओभरमै ३९ रन दिएका थिए।

‘युवराजको त्यो क्याच भएको भए तिनीहरूले त्यति ठूलो स्कोर बनाउने थिएनन्,’ नियमित कप्तान जाहिर खानको अनुपस्थितिमा दिल्लीको कप्तानी सम्हालेका करुण नायरले भने, ‘हाम्रो टोलीमा युवा खेलाडी छन् र त्यसैअनुरूपको प्रदर्शन गर्नुपर्छ भनेर हामी निडर भएर क्रिजमा उत्रियौं। सफल पनि भयौं।’

१ सय ८६ रनको लक्ष्य दिल्लीले ४ विकेट गुमाएर पाँच बलअघि पूरा गरेको थियो। दिल्लीका लागि कोरी एन्डरसनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४१ रनको योगदान गरे। उनले मोरिससँग पाँचौं विकेटका लागि ४१ रनको अविजित साझेदारी गरेका थिए। मोरिस १५ रनमा अविजित रहे। त्यसअघि ओपनर सामसनले १९ बलमा २४ रन जोडे भने कप्तान नायरले २० बलमा ५ चौका र २ छक्कासहित ३९ रन बनाए।

 सामसन र नायरले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। ऋषभ पन्तले पनि २० बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए। श्रेयस इयारले २४ बलमा ३३ रन जोडे।

हैदराबादका मोहम्मद सिरजले २ विकेट लिँदा भुवनेश्वर कुमार र सिद्धार्थ कौलको नाममा १/१ विकेट रह्यो।

‘सुरुआतको विकेट हेर्दा हामीले बनाएको १ सय ८६ रनको योगफल जितका लागि पर्याप्त हुन्छ भन्ने सोचेका थियौं,’ हैदराबादका कप्तान डेविड वार्नरले भने, ‘उनीहरूले साच्चिकै उत्कृष्ट प्रदर्शन गरे। असाधारण।’

प्रकाशित: २१ वैशाख २०७४ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App