७ वैशाख २०८१ शुक्रबार
खेल

मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक

मड्रिड- क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडका लागि फेरि एक पटक खलनायक साबित हुँदा स्पेनिस डर्बीका रूपमा सम्पन्न सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडले मंगलबार राति ३–० को प्रभावशाली नतिजा निकालेको छ।

रोनाल्डोले मड्रिड डर्बीमा ह्याटि्रक गर्दै रियाललाई जुन ३ मा कार्डिफमा हुने फाइनलको बाटोमा डोर्‍याए। अब सहरी प्रतिद्वन्द्वी एट्लेटिकोले रियाललाई फाइनल पुग्नबाट रोक्नका लागि दोस्रो लेगमा नाटकीय नतिजा ल्याउनुपर्नेछ। कासेमिरोको डिफ्लेक्टेड क्रसलाई गोलमा परिणत गर्दै पोर्चुगाली सुपरस्टारले १०औं मिनेटमा रियालको खाता खोलेका थिए। अन्तिम २० मिनेटमा दुई गोल थप्दै रोनाल्डोले फेरि एक पटक एट्लेटिकोको च्याम्पियन्स लिग महत्वाकांक्षामा धक्का पुर्‍याए। पछिल्ला तीन सिजनको च्याम्पियन्स लिगमा पनि एट्लेटिको रियालसँगै निराश भएको थियो।

'गोल मैले गरेँ, तर पूरा टिमको प्रदर्शन उच्चस्तरीय थियो। सुरुदेखि अन्तिमसम्म हामीले मैदानको हरेक क्षेत्रमा नियन्त्रण राख्यौं। सबै खेलाडीले उत्तिकै प्रतिबद्ध प्रदर्शन गरे,' घरेलु सान्टियागो बेर्नाबेउ मैदानमा पाएको जितपछि रोनाल्डोले भने, 'पक्कै पनि हामीले राम्रो अग्रता लिएका छौं। च्याम्पियन्स लिगमा तीन गोलको अग्रता भनेको सानो होइन, तर अझै हामी फाइनल पुगिसकेका भने छैनौं। एट्लेटिको अत्यन्तै राम्रो टोली हो। लगातार सेमिफाइनल पुग्नुले उनीहरूको स्तर प्रमाणित गर्छ। हामी अब अर्को बुधबारका लागि केन्द्रित हुनु जरुरी छ।'

एट्लेटिकोले अर्को हप्ता घरेलु भिसेन्टे काल्डेरोन मैदानमा रियाललाई दोस्रो लेगका लागि आतिथ्य प्रदान गर्नेछ। एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले आफ्ना खेलाडीलाई मंगलबारको नतिजा बिर्सिएर अर्को हप्ताका लागि तयार रहन सुझाएका छन्। अर्को हप्ता काल्डेरोनमा जादुमय नतिजा ल्याउनुपर्नेमा जोड दिँदै सिमोनले खेलाडीहरूलाई त्यसैमा केन्द्रित हुन निर्देशन दिए।

'हामीले आजको खेल र नतिजा बिर्सिनुपर्छ। त्यसो भयो भने मात्र हामी दोस्रो लेगका लागि राम्ररी तयारी गर्न सक्छौं,' अर्जेन्टिनी प्रशिक्षक सिमोनले भने, 'तीन गोलले पछि परेपछि हामी फाइनल पुग्नु असम्भवजस्तै लाग्न सक्छ। तर फुटबलमा त्यो सम्भव छ। अपेक्षा नगरिएको उपलब्धि हासिल गर्न सक्यो भने मात्र त्यसको मजा लिन सकिन्छ। आशाको थोरै मात्र सम्भावना रहेसम्म हामी आफ्नो तर्फबाट शतप्रतिशत प्रयास गर्नेछौं।'

२०१४ को फाइनलमा एट्लेटिकोलाई पराजित गर्नुअघि रियालले बराबरीका लागि इन्जुरी समयसम्म कुर्नुपरेको थियो। लगत्तैको वर्ष क्वार्टरफाइनलमा पनि अन्तिम समयमा गोल गर्दै सहरी प्रतिद्वन्द्वीलाई निराश पारेको रियालले गत वर्ष फाइनलमा पनि पेनाल्टी सुटआउटमा एट्लेटिकोमाथि नै जित दर्ता गराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

यसपालि पनि रियालले एट्लेटिकोको चुनौती मंगलबारै थप कमजोर बनाउन सक्थ्यो। तर सात मिनेटमै ड्यानी कार्भाहलको प्रहार जोगाएर गोलकिपर यान ओब्लाकले एट्लेटिकोको आधार भत्किन दिएनन्। कार्भाहलको प्रहार ओब्लाकले फर्काउँदा रिबाउन्डमा करिम बेन्जेमाले गरेको प्रहार पनि उनलाई छिचोल्न सफल भएन। तर त्यसको तीन मिनेटपछि कर्नरबाट आएको बल एट्लेटिकोका रक्षकहरूले राम्ररी क्लियर गर्न नसक्दा कासेमिरोले त्यसको फाइदा उठाए। कासेमिरोको क्रसलाई रोनाल्डोले कडा हेडमार्फत गोल गरेपछि घरेलु दर्शकसामु रियाल खेलमा अघि बढ्यो।

स्लोभेनियाका गोलकिपर ओब्लाकले त्यसपछि पनि एट्लेटिकोको पोस्टमा प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिइरहे। पहिलो हाफमै राफेल भारानेको कडा हेड तथा इस्कोको प्रहार बचाएर उनले एट्लेटिकोको पुनरागमन सम्भावना जीवित राखेका थिए।

मैदानको अर्को कुनामा रियालका गोलकिपर केलोर नाभासले पनि महत्वपूर्ण अवे गोल खानबाट टोलीलाई जोगाए। केभिन गामेरियोको चलाखीपूर्ण सटलाई उनले बहादुरीपूर्वक जोगाएका थिए।

तथापि रियालको संगठित प्रदर्शनका कारण एट्लेटिकोका गोलकिपर ओब्लाक मंगलबारको खेलमा सबभन्दा व्यस्त खेलाडी बनेका थिए। उनले लुका मोडरिच, बेन्जेमा र रोनाल्डोका अन्य प्रहार पनि जोगाएर भ्रमणकारी ४ हजार समर्थकलाई खुसी दिइरहे। तर अन्तिम समयमा रोनाल्डोले दुई गोल गरेर एट्लेटिकोको आशा चकनाचूर पारे। विपक्षी रक्षक फिलिप लुइजको कुर्कुच्चामा लागेर फर्केको बललाई गोलमा परिणत गरेर रोनाल्डोले ७३औं मिनेटमा रियालको अग्रता दोब्बर पारे। चार पटकका विश्व वर्ष खेलाडी लुकास भाजक्वेजको पासमा समय सकिन चार मिनेट बाँकी रहँदा नजिकबाट गोल गर्दै रोनाल्डोले जारी सिजनमा एट्लेटिकोविरुद्ध दोस्रो ह्याटि्रक पूरा गरे।

प्रभावशाली जित दर्ता गराएको रियालका लागि मंगलबार राइट ब्याक ड्यानी कार्भाहल पहिलो हाफमै घाइते हुनु भने खराब खवर थियो। मांसपेशीमा समस्या आएपछि नाचो फर्नान्डेडबाट स्थानान्तरण गरिएका कार्भाहलले दोस्रो लेग गुमाउने सम्भावना रहेको बताइएको छ। तथापि रियालका प्रशिक्षक जिनेदिन जिदानले यसबारे बोल्ने समय आइनसकेको बताए।

चिकित्सक तथा फिजियोथेरापिस्टले राम्ररी परीक्षण गरेपछि मात्र उनको अवस्थाबारे यकिन जानकारी हुने बताउँदै जिदानले भने, 'हामीले आज घरेलु मैदानमा सोचेजस्तै खेल्यौं र नतिजा पनि सोचेजस्तै भयो। कार्भाहल घाइते हुनु हाम्रा लागि एक मात्र दुःखको कुरा हो। उनी हाम्रो टोलीका महत्वपूर्ण सदस्य हुन्। दोस्रो लेगमा हामीलाई उनको आवश्यकता छ। तर उनी खेल्न सक्ने वा नसक्ने विषयमा केही समयपछि मात्र प्रस्ट जानकारी पाइन्छ।'

रोनाल्डो जादुगर, उत्कृष्ट टिम

जिदानले मंगलबारको जितमा श्रेय सम्पूर्ण टिमलाई दिए पनि रोनाल्डोको विशेष प्रशंसा गरेका छन्।

रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमानी सातौं ह्याटि्रकसँग बराबरी गरेपछि रियालले फाइनल पुग्ने सम्भावना बलियो पारेको थियो। 'क्रिस्टियानो (रोनाल्डो) एउटा अत्यन्तै प्रभावकारी गोलस्कोरर हुन्। उनी विशेष छन्,' खेलपछि जिदानले भने, 'सबै खेलाडीको प्रदर्शन आज सोचेजस्तै थियो। एउटा खेलाडी बाहिरिन्छ, उसलाई स्थानान्तरण गर्नेले पनि उत्तिकै स्तरीय प्रदर्शन गर्छ। यस्तो टिम प्रदर्शनले प्रशिक्षकलाई धेरै खुसी प्रदान गर्छ। खेलअघि हामीलाई आफ्नो आवश्यकता र जिम्मेवारी थाहा थियो, त्यहीअनुसार हामी मैदानमा प्रस्तुत भयौं।'

जिदानले पछिल्लो समयको उच्च फर्मलाई निरन्तरता दिएका स्पेनिस अन्तर्राष्ट्रिय प्लेमेकर इस्कोको पनि खुलेर प्रशंसा गरे। 'इस्कोले नम्बर १० पोजिसनमा उत्कृष्ट खेले। त्यसपछि लुकास भाज्क्वेज र मार्को एसेन्सियोले पनि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेपछि उत्कृष्ट प्रदर्शन गरे,' जिदानले भने, 'रक्षापंक्तिमा पनि मेरा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। आज म सबैको मिहिनेतबाट अत्यन्तै खुसी छु। कसैले आजको खेल र नतिजा हेर्‍यो भने हामीले कति स्तरीय फुटबल खेल्यौं भनेर आफै अनुमान लगाउनेछ।'

च्याम्पियन्स लिग र घरेलु स्पेनिस ला लिगामा अझै उपाधिका लागि धेरै महत्वपूर्ण समय आउन बाँकी रहेको बताउँदै जिदानले खेलाडीहरूलाई ध्यान अन्यत्र नमोड्न सचेत बनाएका छन्। सिजनको अन्त्यसम्म मंगलबारको प्रदर्शनलाई निरन्तरता दिन सके दुवै उपाधि जित्ने उनले विश्वास व्यक्त गरे।

'म अत्यन्तै भाग्यशाली प्रशिक्षक हुँ, किनकी मसँग यस्ता खेलाडीहरुको समूह छ,' जिदानले भने, 'हामीसँग विश्वकै उत्कृष्ट खेलाडीहरु छन्। त्यसैले हामीले फुटबलमा आफ्नै खालको शैली र स्तर निर्धारण गरेका छौं। त्यसलाई निरन्तरता दिनु हाम्रो चुनौती हो।'

अब सहरी प्रतिद्वन्द्वी एट्लेटिकोले रियाललाई फाइनल पुग्नबाट रोक्नका लागि दोस्रो लेगमा नाटकीय नतिजा ल्याउनुपर्नेछ।

प्रकाशित: २१ वैशाख २०७४ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App