coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सुवेदीप्रति श्रद्धाका शब्द

बाटो पार गर्दै गरेका बेला मोटरसाइकलले ठक्कर दिएपछि निधन भएका पद्मराज सुवेदी भोजपुरमा ७९ वर्षअघि जन्मेका थिए। दिव्यराज र टेककुमारीका ६ मध्ये माहिलो छोराका रूपमा जन्मेका उनी सम्पन्न परिवारका थिए। दिव्यराज राणाकालमा राइटरको जागिर खाएर पछि भारदारी सभाको सदस्य पनि भएका थिए। टेककुमारी भने अबाल ब्रह्मचारी षडानन्द अधिकारीका दाजुकी छोरी थिइन्। यसरी बाुबु आमा दुवै शिक्षित परिवारका भएकाले उनको प्रारम्भिक शिक्षादीक्षा षडानन्द संस्कृत प्रधान पाठशाला दिंगला (हाल षडानन्द उच्चमावि) मा भयो।

सुवेदी जिन्दगीभर ऐन/नियम मानेर बसे तर उनकै मृत्युको कारण भने ऐन/नियम उल्लङ्घन बन्न पुग्यो।

पद्मराज २०२२ सालमा लोक सेवा आयोगको परीक्षा पास गरेर शाखा अधिकृत भएका थिए । २०२९ सालमा उपसचिव भएका उनी २०३६ सालमा लोक सेवाले लिएको ४ पद सहसचिवको परीक्षामा प्रथम भएका थिए। जतिबेला कान्तिपुर पब्लिकेसन्स र नेपाल रिपब्लिक मिडियाका पूर्वअध्यक्ष हेमराज ज्ञवाल्ाी दोस्रो भएका थिए। २०३८ सालमा पोखरामा भएको सुनीता/नमीता काण्डमा पद्मराज प्रजिअका रूपमा कार्यरत थिए। उक्त घटनाको जाँचबुझ समितिको प्रतिवेदनअनुसार प्रजिअ सुवेदी  र प्रहरी इन्सपेक्टर बाबुराम पुनबाहेक अञ्चलाधीशदेखि तलका सबैको जागिर गएको थियो।

पद्मराजलाई धेरैले चिन्ने अर्को कारण पनि छ, त्यो हो– २०४३ सालतिर हालको अनामनगरको नामाकरण उनैले गरेका थिए। सरकारले अनामनगरको जग्गा अधिकरणका लागि गोरखापत्रमा सूचनासमेत जारी गरेको थियो जसलाई सहअञ्चलाधीशमा कार्यरत रहेका बेला सुवेदीले खारेज गराएका थिए। त्यतिबेला हालको अनामनगर बस्ती धानखेत थियो जुन खेतबीच पद्मराज र सीताराम खनालको घरमात्र टुक्रुक्क थियो।

सुवेदी २०४७ माघमा सचिव भएका थिए। गोंगबुको नयाँ बसपार्क सम्पन्न गर्नमा उनको ठूलो योगदान छ। २०४९ कात्तिक २१ गते उनलाई अवकाश दिइयो जतिबेला गिरिजाप्रसाद कोइरालाको सरकारले २० वर्ष पुगेकालाई पर्चा खडा गरेर हटाउने प्रावधान लागु गरेको थियो। यसरी प्रतिशोधपूर्वक नहटाएको भए सुवेदी ३० वर्ष सेवा अवधि नपुगेका र ५८ वर्ष उमेर पनि नपुगेका सचिवमध्येबाट सबैभन्दा वरिष्ठका आधारमा मुख्य सचिव नै हुन्थे। कुनै अभियोग लगाएर स्पस्टीकरणको मौका नदिई अपारदर्शी र अप्रजातान्त्रिक तरिकाले मानव अधिकार उल्लंघन गरेर प्रतिशोधपूर्वक कर्मचारी बर्खास्त गर्न यस्तो प्रक्रिया अपनाइन्छ। हेमराज ज्ञवाली पनि २०४५ सालमा प्रधानमन्त्री मरीचमान सिंह सरकारको यस्तै प्रतिशोधको सिकार भएका थिए।

यसरी हटाइएकाहरू सर्वोच्च अदालत गएकामा सबैले मुद्दा जिते तर सुवेदी भने रिटमा गएनन्। अहिले भने यसरी पर्चा खडा गरेर अवकाश दिने गैरअप्रजातान्त्रिक चलन अन्त्य भएको छ। अरु पुनर्बहाली भए पनि पद्मराज भने कत्ति पनि विचलित र दुःखी भएनन्। बरु उनी समाजसेवामा लागे। अबालब्रह्मचारी षडानन्द प्रतिष्ठानको सदस्य भएर जन्मस्थल र कर्मस्थलको सेवामा सक्रिय रहे। श्रीमतीसहित २ छोरा र १ छोरी रहेका सुवेदी जिन्दगीभर ऐन/नियम मानेर बसे तर उनकै मृत्युको कारण भने ऐन/नियम उल्लङ्घन नै बन्न पुग्यो। सुवेदी दुर्घटना हुने दिन पनि ट्राफिक नियम पालना गरेर जेब्राक्रसबाटै बाटो पार गरिरहेका थिए। तर नियम पालना गर्ने यिनै इमानदार व्यक्ति उल्लंघनको सिकार बने।

अर्थशास्त्री ग्रेसमको मुद्रा नीतिअनुसार खराब नोट वा मुद्रालाई असल नोट वा मुद्राले विस्थापित गरेको हुन्छ। त्यसको उल्टो नेपालको राजनीति र प्रशासनमा भने असल राजनीतिज्ञ र असल राष्ट्रसेवकलाई  खराब राजनीतिज्ञ र खराब प्रशासकले विस्थापित गरेको पाइन्छ। जसको ज्वलन्त उदाहरण भर्खर दिवंगत पद्मराज सुवेदी हुन्। इमानदार र असल राष्ट्रसेवकलाई पर्चा खडा गरेर अवकाश दिने, दिनभर अवकाश प्राप्त अन्य कर्मचारीलाई पत्र बुझाउन लगाएर ५ बजेपछि घरमा गएर तिनैलाई अवकास थमाउने, पत्र बुझ्नुअगाडि नै सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने, पत्रै बुझ्न नपाई सुविधामा दिइने सवारी साधन खोस्ने जस्ता सबै कुकृत्युको सिकार सुवेदी पनि भए। आफूलाई प्रजातान्त्रिक र बिपीको सच्चा अुनयायी पार्टी दाबी गर्ने नेपाली कांग्रेस अग्रस्थानमा रहेको यस्तो शैलीको जति विरोध गरे पनि कम हुन्छ।

जे होस्, मुलुकले एउटा सच्चा इमानदार व्यक्ति गुमाएको छ। उनी र उनीजस्तै व्यक्तिहरूमाथि जे जस्तो व्यवहार भए पनि अबचाहिँ नदोहोरिए त्यसैमा चित्त बुझाउन सकिन्थ्यो। यति भन्दै दिवगंत पूर्वसचिव पद्रमराज सुवेदीको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु।

प्रकाशित: २१ वैशाख २०७४ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App