८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव चटारोबीच परराष्ट्रमन्त्री विदेश भ्रमणमा

काठमाडौं- देशभित्र स्थानीय तह निर्वाचनको चटारो हुँदा परराष्ट्रमन्त्री प्रकाशशरण महत सिंगापुर र भारत घुम्न निस्केका छन्। निर्वाचन आचार संहितामा गोष्ठी सेमिनारमा सहभागी हुनैका लागि विदेश भ्रमण नगर्न भनिएको भए पनि उनी सम्मेलनमा सहभागी हुन बुधबार विदेश प्रस्थान गरेका हुन्।

'निर्वाचन आयोगले सुरुमा नजान भनेको थियो, धेरै कर गरेपछि सिंगापुर र भारत भ्रमणमा जान सहमति दिइएको हो'

पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको जिम्मेवारी समालेका बितेको नौ महिनामा उनको यो छैटौं भारत भ्रमण हो। सिंगापुरमा भने उनी पहिलो पटक गएका हुन्। परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकका अनुसार मन्त्री महत बिहीबार सिंगापुरमा एक कार्यक्रममा सहभागी भई शुक्रबार भारतको नयाँदिल्ली आइपुग्नेछन्। नयाँदिल्लीमा एक कार्यक्रममा सहभागी बनी उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

'परराष्ट्रमन्त्रीज्यू थाइल्यान्डस्थित नेपाली दूतावास र सिंगापुरस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासद्वारा बिहीबार सिंगापुरमा आयोजना गरिएको नेपाली पर्यटन, व्यापार तथा लगानीसम्बन्धी सम्मेलनमा सहभागिताका लागि त्यसतर्फ  जानुभएको हो,' पाठकले भने, 'सिंगापुरका विदेश मामिला एवं मानव संसाधनसम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ।'

निर्वाचन आचार संहितामा देशको प्रतिनिधित्व नगरी नहुने कार्यक्रम भएमात्र सहमति लिई विदेश भ्रमणमा जानसक्ने व्यवस्था भए पनि मन्त्री महत भने निर्वाचनको मुखमा सामान्य कार्यक्रममा सहभागी हुन सिंगापुर र भारततर्फ लागेका हुन्। मन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले भने परराष्ट्र मन्त्री, परराष्ट्र सचिव र परराष्ट्रका कर्मचारीलाई विदेश भ्रमण निर्वाचन आचार संहिता नलाग्ने बताए। निर्वाचन आयोगले मन्त्री महत आयोगसँग सहमति लिएरै सिंगापुर र भारततर्फ लागेको बतायो।

'निर्वाचन आयोगले सुरुमा नजान भनेको थियो। धेरै कर गरेपछि सिंगापुर र भारत भ्रमणमा जान सहमति दिइएको हो,' निर्वाचन आयोग उच्च स्रोतले भन्यो। परराष्ट्र मन्त्रालय स्रोतले पनि यस्ता सामान्य कार्यक्रममा देशको प्रतिनिधित्व गरेर परराष्ट्रमन्त्री जान नहुने बतायो। परराष्ट्र स्रोतले भन्यो, 'पहिलो त परराष्ट्रमन्त्रीजस्तो मान्छे जस्तो पायो त्यस्तो कार्यक्रममा जान हुँदैन। मन्त्री भइसकेपछि एउटै देशमा जेजस्तो निम्तो आए पनि स्विकारेर बारम्बार गइराख्न पनि हुँदैन। परराष्ट्रमन्त्री जाने कायक्रम घुमघामभन्दा फरक हुनुपर्छ।'

पाठकका अनुसार मन्त्री महत भारतको नयाँदिल्लीमा आयोजना हुने राजदूतको सम्मेलनमा सहभागी  हुनेछन्। सम्मेलन शुक्रबार हुँदैछ। सम्मेलनमा नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूत पनि सहभागी हुनेछन्। दुईदिने उक्त सम्मेलनको परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्ने उनले बताए। सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवर्द्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शंकरदास बैरागीसहित नेपाल र भारतका विज्ञको प्रस्तुति रहनेछ।

महत परराष्ट्रमन्त्री भएपछि सामान्य सभा सम्मेलनमा हिँडेको यो पहिलो पटक भने होइन। उनी यसअघि परराष्ट्रमन्त्रीको हैसियतमा थुपै्र पटक गैरआवासीय नेपाली (एनआरएन) ले आयोजना गरेका कार्यक्रममा सहभागी हुन विभिन्न देश पुगेका छन्। उनी अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, मलेसियालगायतका देशमा एनआरएनले आयोजना गरेको कार्यक्रमा सहभागी हुन पुगेका थिए।

प्रकाशित: २१ वैशाख २०७४ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App