coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस-माओवादी तालमेल गृहकार्य

काठमाडौं- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा तालमेलको गृहकार्यमा जुटेका छन्। निर्वाचन आयोगले बिहीबार उम्मेदवारी फिर्ता लिने समय तोकेपछि दुई दलका नेता केही स्थानमा चुनावी तालमेलको कसरतमा जुटेका हुन्।

महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा तालमेलका लागि दुवै पार्टीका नेता बुधबार रातिसम्म सक्रिय छन्। माओवादी अधयक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटार पुगेर कांग्रेस नेताहरू निर्वाचनमा तालमेलका विषयमा छलफलमा जुटेका छन्।

तालमेलका लागि कांग्रेसबाट रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ। 

प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकाल्दै दुवै पार्टीले उम्मेदवारी फिर्ताको समयअघि केही ठाउँमा तालमेल गर्ने समझदारी बनाएको एक नेताले जानकारी दिए। दुई दलबीच सहमति जुटेका स्थानमा एकअर्काेले उम्मेदवारी फिर्ता लिनेगरी दुवै दल आन्तरिक छलफलमा जुटेका छन्।

दुवै पार्टीले स्थानीय तह निर्वाचनमा सत्ता साझेदारसँग तालमेललाई प्राथमिकतामा राखेर छलफल भइरहेको स्वीकारेेका छन्। पहिलो चरणको निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिएको दाबी गर्दै कांग्रेस नेता रमेश लेखकले सत्तासाझेदार माओवादीसँग तालमेलको प्रयास भइरहेको जनाकारी दिए।

'अहिले खासगरी माओवादी केन्›सँग केही ठाउँमा एलायन्स भएका छन्,' पार्टी केन्›ीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा लेखकले भने, 'पार्टीको स्थानीय संयन्त्रले आवश्यकता अनुसार निर्णय गर्नसक्ने हाम्रो नीति छ। त्यसअनुसार पार्टीका स्थानीय निकायहरूले निर्णय गरिरहेका छन्।'

तालमेलका विषयमा आन्तरिक छलफल भइरहेको जानकारी दिँदै उनले भने, 'यसमा पार्टी क्रियाशील छ।'

माओवादी प्रवक्ता पम्फा भुषालले कांग्रेससँग चुनावी तलमेल विषयमा छलफल भइरहेको बताइन्। सरकारमा रहेका दलहरूसँगको तालमेललाई पार्टीले प्राथमिकता राखेको बताउँदै भुषालले नागरिकसँग भनिन्, 'सत्ता गठबन्धन पार्टीसँग पहिलो प्राथमिकता हुनु स्वाभाविक हो तर स्थानीय आवश्यकता अनुसार निर्णय लिन हामीले मातहतका निकायलाई अधिकार दिएका छौं।'

तालमेलका लागि कांग्रेसबाट रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ।

प्रतिपक्षी एमाले र राप्रपाबीच काठमाडौं, ललितपुर, मकवानपुरसहितका जिल्लामा चुनावी तालमेल भएको छ। यसले गणतन्त्र, संघीयताको पक्ष र विपक्षमा नयाँ राजनीतिक धु्रवीकरणको संकेत गरेको कांग्रेस र माओवादीका केही नेताको विश्लेषण छ। 

विभिन्न पदमा कांग्रेस निर्विरोध

कांग्रेसले विभिन्न पदमा पार्टीका उम्मेदवार निर्विरोध भएको दाबी गरेको छ। वैशाख ३१ मा हुने पहिलो चरणको निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्ताक्रममा केही स्थानमा कांग्रेसबाट मात्र उम्मेदवारी परेकाले निर्विरोध भएका हुन्।

मनाङको नारफु गाउँपालिका अध्यक्षमा मिङमाछिरिङ लामा, म्याग्दीको रघुगंगा गाउँपालिका–३ को वडाअध्यक्षमा एकबहादुर गर्बुजा, कुइनेमंगले गाउँपालिका–८ को वडा सदस्यमा खबहादुर छन्त्याल, प्रीति गर्बुजा र यामकुमारी गोतामे घर्ती निर्विरोध भएको कांग्रेसले जनाएको छ। त्यस्तै, गोरखाको चुम्नप्री गाउँपालिकाको १ को वडाअध्यक्षमा वीरबहादुर लामा, वडानम्बर–३ को अध्यक्षमा पेम्बा रितार र वडा नम्बर ५ को अध्यक्षमा सोपाग्याल्तेन लामा गुरुङ, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ को अध्यक्षमा मा सुनीता सुनार निर्विरोध भएको पनि सो पार्टीले जनाएको छ।

हुम्ला नाम्खा गाउँपालिका –६ वडाको दलित महिला सदस्यबाहेक वडा अध्यक्षमा पाल्जोर तामाङ, खुला सदस्यमा कुन्जोक ओब्जांग तामाङ र करजिन लामा र महिला सदस्य छिरिङयोकी तामाङसहित कांग्रेस प्यानल निर्विरोध भएको छ। त्यस्तै खार्पुनाथ गाउँपालिका वडा १ को महिला सदस्यमा मोती बुढा निर्विरोध भएकी छिन्।

नयाँ र पुरानाको मिश्रण 

कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नयाँ र पुराना अनुहारलाई नगर र गाउँपालिका प्रमुखमा अघि सारेको छ। यसअघि स्थानीय निकायको नेतृत्व समालिसकेका नेतालाई पुनः गाउँपालिका र नगरपालिकाको उम्मेदवारमा अघि सारिएको हो। काठमाडौं, ललितपुर, धादिङसहितका जिल्लामा कांग्रेसले यसअघि स्थानीय निकायमा नेतृत्व गरेका केहीलाई यसपटक पनि उम्मेदवार बनाएको छ।

काठमाडौंका दस नगरपालिकामध्ये नागार्जुनमा मेयरमा उम्मेदवारी दिएका मोहन बस्नेत, गोकर्णेश्वर नगरपालिका मेयरमा उम्मेदवारी दिएका सन्तोष चालिसे, दक्षिणकाली नगरपालिका मेयरमा उम्मेदवार बनेका मोहनबहादुर बस्नेतले  यसअघि स्थानीय निकायको नेतृत्व समालिसकेका छन्। कीर्तिपुर नगरपालिमा मेयरका उम्मेदवार राजकुमार नकर्मी संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार थिए। ललितपुर महानगरपालिकामा मेयरका उम्मेदवार  चिरिकाजी महर्जनले यसअघि दुई पटकसम्म वडाको नेतृत्व समालिसकेका  छन्।

बागीलाई कारबाही

कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएकालाई फिर्ता लिन आग्रह गरेको हो।

निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै कांग्रेसले अस्वीकार गरे कारबाही गर्ने चेतावनी दिएको छ। 'तोकिएको मिति र समयभित्र मनोनयन फिर्ता नलिए बागी उम्मेदवार र निजका प्रस्तावक र समर्थकसमेतलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) ख अनुसार पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा निर्णयअनुसार जानकारी गराइन्छ,' विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ वैशाख २०७४ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App