८ वैशाख २०८१ शनिबार
राजनीति

साढे तीन गुना बढी उम्मेदवार

काठमाडौं- वैशाख ३१ गते दुई सय ८३ स्थानीय तहमा हुने पहिलो चरणको निर्वाचनमा १३ हजार पाँच सय ५६ पदका लागि ४५ हजारभन्दा बढीको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगले बुधबार राति उपलब्ध गराएको विवरणअनुसार प्रदेश ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि ४४ हजार ४१ जनाको उम्मेदवारी परेको छ। 'बुधबार साँझसम्म ४४ हजार ४१ जनाको विवरण प्राप्त भएको छ, केही विवरण आउने क्रममा छ भने केही आउन बाँकी छ, यसरी ४५ हजारभन्दा बढीको उम्मेदवारी परेको देखिन्छ।'

'बुधबार साँझसम्म ४४ हजार ४१ जनाको विवरण प्राप्त भएको छ, केही विवरण आउने क्रममा छ भने केही आउन बाँकी छ, यसरी ४५ हजारभन्दा बढीको उम्मेदवारी परेको देखिन्छ।'

आयोग स्रोतका अनुसार २० भन्दा बढी स्थानीय तहको विवरण आउन बाँकी छ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले दाबीविरोध, नाम फिर्ता र  उम्मेदवारलाई चुनाव चिह्न दिएपछि  यकिन विवरण प्राप्त हुने जानकारी उनले दिए। 'कसैको दाबीविरोध छ, एउटैको दोहोरो परेको छ, कतिपय ठाउँमा सम्पर्क हुन नसकेर विवरण आउन सकेको छैन,' सचिव मैनालीले भने, 'अन्तिम संख्याचाहिँ शुक्रबार चुनाव चिह्न दिएपछि मात्रै थाहा हुन्छ।'

दलहरूबीच तालमेल भएका कारण धेरै ठाउँमा उम्मेदवारी घटेको मैनालीले जानकारी दिए।

काठमाडौंमा सबैभन्दा बढी ४७ दल दर्ता भए पनि मेयरमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंका १० नगरपालिकामा भने आवश्यकभन्दा पाँचगुणा बढी उम्मेदवारी परेको छ।

मनोनयन दर्ता गरेका उम्मेदवारउपर बुधबार उजुरी दिन सक्ने कार्यतालिका थियो। बुधबार दिउँसो १ बजेसम्म प्राप्त भएका उजुरीउपर जाँच गरी निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ र आयोगले उम्मेदवारलाई नाम फिर्ता लिने समय दिनेछ। आयोग कार्यतालिकाअनुसार बिहीबार दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

निर्वाचन कार्यालयले शुक्रबार बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। सोही दिन ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न दिइनेछ। आयोगका सचिव मैनालीले चुनाव चिह्न दिएपछि मात्रै उम्मेदवारीको संख्या यकिन हुने जानकारी दिए।

वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा निर्वाचन हुँदैछ। काठमाडौं, ललितपुर, भरतपुर र पोखरा गरी चार महानगरपालिका, हेटौंंडा उपमहानगरपालिका, ९२ नगरपालिकाका मेयर–उपमेयर तथा एक सय ८६ नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष रसदस्यहरू निर्वाचित हुनेछन्। महानगरका एक सय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीन सय ६५ गरी दुई हजार पाँच सय ९८ वडाध्यक्षका लागि मनोनयन दर्ता भएको छ। आयोगका अनुसार कुल दुई हजार पाँच सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार तीन सय ९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ। प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको दुई ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मतदान गर्नेछन् भने पहिलो चरणको निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ।

आचारसंहिता अनुगमन गर्न उच्चस्तरीय समिति

निर्वाचन आयोगले बुधबारदेखि आचारसंहिता लगायत निर्वाचन अवस्थाबारे अनुगमन गर्न तीनवटै प्रदेशमा अनुगमन समिति र टोली खटाएको छ। आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिताबारे अध्ययन गर्न निर्वाचन आयुक्तको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति र सचिव तथा सहसचिवको नेतृत्वमा अनुगमन टोली खटाएको हो। उच्चस्तरीय अनुगमन समितिले तीनवटै प्रदेशको समग्र स्थितिको अध्ययन गर्नेछ। प्रदेश र ३ मा इला शर्मा र नरेन्द्र दाहाल, प्रदेश ४ मा ईश्वरीप्रसाद पौडेल र प्रदेश ६ मा सुधीरकुमार शाह अनुगमनका लागि खटिएका छन्।

सचिव नेतृत्वको टोली विभिन्न जिल्ला पुगेर आचारसंहिता पालनाको अवस्था अनुगमन गर्नेछ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार उम्मेदवारले वैशाख ३० गते बिहान ७ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन्। 'मतदान हुनु २४ घन्टाअगाडि मौन अवधि सुरु हुने भएकाले त्यतिबेला राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन्,' आयुक्त दाहालले भने, 'उम्मेदवारले सभ्य र शिष्ट ढंगले वैशाख ३० गते विहान ७ बजेसम्म आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउनेछन्।' मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।

प्रकाशित: २१ वैशाख २०७४ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App