coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पर्वतका दुवै नगरपालिकामा काँग्रेस एमालेकै प्रतिष्पर्धा

पर्वत- पर्वतका दुई वटै नगरपालिकामा काँग्रेस र एमालेकै उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ। २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ मा एक हजार दुई सयले पराजित र क्षेत्र नम्बर २ जितेको माओवादी केन्द्र मत सुरक्षित राख्नेमै सीमित देखिएको छ।

कुश्मा नगरपालिकाको प्रमुखमा काँग्रेसका रामचन्द्र जोशी, एमालेका मेघनाथ सुवेदी र माओवादी केन्द्रका शंकर गिरीले उम्मेदवारी दर्ता गरेका छन्। नेबिसंघका पूर्वकेन्द्रीय सदस्य जोशी काँग्रेसभित्रका उदयमान नेता हुन। एमालेका पूर्वउपसचिव सुवेदी कसैलाई नपिराएका र कार्यकर्तामा भिजेका नेता हुन। माओवादी केन्द्रका केन्द्रीय सदस्य गिरी युवा नेता हुन्। यद्यपि कमजोर संगठनका कारण प्रमुख दुई दलको तुलनामा केन्द्र प्रतिष्पर्धामा देखिदैन।

कुश्मा नगरपालिका काँग्रेसको गढ मानिदै आएपनि पछिल्लो पटकको स्थानीय तह निर्धारण आयोगले एमालेका गढ मानिएका साबिकका ठुलीपोखरी, खौलालाकुरी र आर्थरडाडाखर्क गाविस मिसिएपछि कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। १४ वटा वडा रहेको कुश्मा नगरपालिकामध्ये साविकका पाङ, खुर्कोट, शिवालय, चुवा, कटुवाचौपारी गाविसमा काँग्रेसको मत बढी मानिन्छ।

एमालेबाट कु्श्मा नगरपालिकामा मेयरका उम्मेदवार मेघनाथ सुवेदी ।

एमालेको पिपलटारी, पकुवा, ठुलीपोखरी, खौलालाकुरीमा बढी मतदाता रहेका छन्। दुर्लुङ र आर्थरडाडाखर्कमा काँग्रेस र एमालेबिच तिब्र प्रतिष्पर्धा मानिन्छ। स्थानीय तह निर्धारणका बेला तीन वटा साविकका गाविस थपेका कारण आफुले जित्ने दाबी एमालेले गरेको छ । सबैभन्दा बढी मतदाता आफ्नो गढ मानिएको क्षेत्रमा भएका कारण सहज रुपमा जित्ने काँग्रेसको दाबी छ।

कुश्मा नगरपालिका क्षेत्र नम्बर १ मा पर्छ । पर्वत क्षेत्र नम्बर १ मा २०५१, २०५६, २०६४ र २०७० मा लगातार काँग्रेसले जित्दै आएको छ। तर, क्षेत्र नम्बर १ संगठनको हिसाबले एमाले मजबुत मानिन्छ। यसले पनि कुश्मा नगरपालिकामा काँग्रेस र एमाले मध्ये कुन उम्मेदवार बिजयी हुन्छन अहिले भन्न सकिने अवस्था नभएको ती दलनिकट नेता कार्यकर्ता स्वीकार्छन।

काँग्रेसका जोशीले कुश्माको समृद्धिका लागि पर्यटन, जलबिद्युत, कृषिमा आधुनिकिकरण तथा आयआर्जनमा जोड दिएका छन्। उनले युवादेखि बृद्धबृद्धासम्ममा कार्यक्रमहरु प्रस्तुत गरेका छन्। एमालेका सुवेदीले पर्यटनसँगै रोजगारमुलकक्षेत्रमा लगानी बढाउने प्रतिबद्धता प्रस्तुत गरेका छन्। पाँच वर्षभित्र नगरपालिकामा पक्की सडक बनाउने उनको योजना छ। उनले ज्योतिश अध्यान केन्द्र बनाउने सम्मका योजना छन्।

कांग्रेसबाट कु्श्मा नगरपालिकामा मेयरका उम्मेदवार रामचन्द्र जोशी ।

उपप्रमुखमा काँग्रेसले सिता काफ्ले लामिछाने, एमालेले मुगा पोखरेल र माओबादी केन्द्रले तारा रिजाललाई उठाएको छ। १७ वटा मतदानस्थल रहेको कुश्मा नगरपालिकामा २३ हजार चार सय ४५ जना मतदाता रहेका छन्।

यसैगरी फलेबास नगरपालिकामा पनि काँग्रेस र एमालेबीच नै प्रतिष्पर्धा छ। फलेबासमा काँग्रेसबाट गंगाधर तिवारी, एमालेबाट पदमपाणी शर्मा र माओबादी केन्द्रबाट मोती शर्मा रेग्मी प्रमुखमा लडेका छन्। काँग्रेसका महासमिति सदस्य तिवारी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पर्वत २ बाट टिकटको दाबेदार थिए।

एमालेका शर्मा पार्टीका जिल्ला सचिव हुन । उनी पनि एमालेबाट २०६४ र २०७० मा पर्वत २ बाट संविधानसभा निर्वाचनमा टिकटको दाबी गरेका थिए। दुबै उम्मेदवार आ–आफ्ना कार्यकर्तामा बढि रुचाइएका नेता हुन।

११ वटा वडा रहेको फलेवास नगरपालिकामा साविकका थापाठाना, भंगरा, शंकरपोखरी, मुडिकुवा, पाङराङ गाविस काँग्रेस बलियो मानिन्छ। खानीगाउँ, लिमिठाना, ठानामौला एमाले बलियो छ। देबिस्थान, कुर्घा, कार्कीनेटा दुबै पार्टीको उस्तै मतदाता छन्।

यो नगरपालिकामध्ये सबैभन्दा बढी मतदाता शंकरपोखरीमा रहेका छन् । तिवारी शंकरपोखरी र शर्माको कार्कीनेटा घर हो । १४ वटा मतदानस्थल रहेको यो नगरपालिकामा कुल मतदाता संख्या १९ हजार दुई सय २४ जना रहेका छन्।

 

प्रकाशित: २० वैशाख २०७४ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App