८ वैशाख २०८१ शनिबार
समाज

हिँड्नभन्दा नाच्न सजिलो

बसुन्धरास्थित एक्टिभ एकडेमीमा कक्षा १२ मा अध्यनरत् दृष्टिबिहिन सञ्चिता पाण्डेयलाई नेपालटारस्थित घरबाट कलेज  आउजाउ गर्न निकै असजिलो लाग्छ। बाटोमा रहेका खाल्डाखुल्डी, भिडभाडयुक्त बसको यात्राले आफूलाई खुम्चाएको उनी सुनाउँछिन्।

जन्मजात दृष्टिबिहिन सञ्चिता असारको पहिलो साता  राजधानीमा आयोजित एक कार्यक्रमा भने धित फुकाएर नाचिन्। दृष्टिबिहिनको क्षेत्रमा काम गर्दे आएको 'ब्लाइन्ड रक्स' नामक संस्थाले आयोजना गरेको नृत्य प्रशिक्षणमा उनी 'पारि त्यो डाँडामा हेर घामलाग्यो घमाइलो' नामक गीतको बोलमा कम्मर मर्काउँदै रमाइन्।

'पहिलोपटक खुलेर नाच्न पाउँदा निक्कै रमाएको छु,' उनले हास्दै भनिन्, 'मलाई त हिँड्नभन्दा नाच्नै सजिलो लागेको छ।' नृत्यले आफ्नो जीवनलाई तरंगित बनाइदिएको उनले सुनाई। सेतो छडी छाडेर निर्धक्क नाच्नुको बेग्लै मज्जा रहेको उनको अनुभव छ। 'आकाशमा पुगेजस्तो भयो,' उनले भनिन्, 'एकछिन त आँखा देख्दिन भन्ने पनि बिसर्ंे।'

विवाह, पार्टी, चाडपर्वमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा कुनामा बस्दै आएका दृष्टिबिहिनको आत्मविश्वास बढाउने उद्देश्यले आयोजना गरेको यस प्रशिक्षण कार्यक्रममा उनीजस्तै एक दर्जनभन्दा बढी दृष्टिबिहिनले निर्धक्क नाचे।

उनीहरुले सेतो छडीको सहाराले ब्याम्बो डान्स गरे।  वान टु थ्री फोर भन्दै स्टेप सिके। बडी वार्म अप गरे। बडी ल्याङ्ग्वेजमा आएको परिवर्तनले उनीहरु झनै जीवन्त देखिए। हात समाउँदै ताली ठोक्दै उनीहरुले विभिन्न तालमा नाचे।

'पहिला पहिला त नाच्न सकिन्न जस्तो ल्ाग्थ्यो,' दृष्टिबिहिन सरोज भट्टराईले भने, 'नाच्न थालेपछि सकिन्छ भन्ने आत्मविश्वास पलायो।' धित मरुन्जेल नाचेका उनी त्यसपछि खुलेर हासेका थिए। 'यति रमाइलो कहिल्यै लागेको थिएन,' उनले भने, 'हामी फेरिफेरि पनि नाँच्न चाहन्छौं।'

उनले यसो भन्दै गर्दा कक्षा १२ मा अध्यनरत् सम्झना रिजालले विद्यालय तहमा नाचेको अनुभव सुनाइन्। कक्षाका विभिन्न प्रतियोगितामा विजेता समेत भएकी रिजालले नाच्न थालेपछि आफ्नो शरीरमा स्फुर्ति आएको सुनाइन्। 'यो हामीहरुको एक्सरसाइज पनि हो,' उनले भनिन्, 'यसले हामीलाई जीवन्त बनाउँछ।'

नृत्यकै विषयमा अध्ययन गर्दै गरेकी दृष्टिबिहिन सृष्टि केसीले उनीहरुले विभन्न स्टेप र अनुहारका हाउभाउको बारेमा सम्झाउँदै नचाइन्। उनले आँखा र अनुहारको हाउभाउमा ध्यान दिनुपर्ने सुनाइन्। स्टेजमा गीत गाउँदा समेत नृत्य सहयोगी हुने उनको बुझाइ छ।

उनले नाच्नु अगाडि  स्टेजका स्थिति र क्षेत्रफलको अनुमान गर्नुपर्ने  र दर्शक कता बसेको थाहा पाउनु पर्ने, आफ्नो अनुभव बाँडिन्। त्यसो नगर्दा दर्शकतर्फ हेरेर नाँच्न नसकिने उनले सुनाइन्।

'स्टेजमा गएपछि दर्शकले हामी दृष्टिबिहिन भएकोमा हैन कलाकार भएको ध्यान दिन्छन्,' उनले बताइन्, 'त्यसैले हामीले आवाजको माध्यमबाट सबै कुराको ख्याल राख्नुपर्छ।' आयोजक ब्लाइन्ड रक्सकी प्रमुख दृष्टिबिहिन सृष्टि केसीले नृत्यले आत्मविश्वास बढाउने सुनाइन्।

कार्यक्रममा निक्कै बेर नाचेपछि थाकेका युवराज लामाले  फिजिकल्ली खुम्चिएकालाई यस्ता क्रियाकलापले फैलाउने काम गरेको सुनाए। 'नाच्दा रिल्याक्स फिल भयो,' उनले भने, 'एउटा बेग्लै रमाइलो भएको छ।'

कार्यक्रम नियाल्दै गरेका अभिनेत्री बेनिशा हमालले नृत्यप्रति उनीहरुले देखाएको रुचि निक्कै उत्साहवर्द्धक रहेको सुनाइन्। 'नृत्य र नृत्यले उनीहरुमा दिएको खुसीले म दंग छु,' उनले भनिन्, 'उनीहरुले देखाएको उत्साहले समाजका सबैलाई हिम्मत  दिनेछ।'

प्रकाशित: १ श्रावण २०७३ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App