coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जितबाट नहौसिन क्लोपको निर्देशन

वाटफोर्ड – लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा परेर सिजनको अन्त्य गर्ने लक्ष्यप्राप्तिका लागि अन्तिमसम्म खेलमा केन्द्रित हुन आफ्ना खेलाडीलाई निर्देशन दिएका छन् । 

इम्रे क्यानको गोलमा सोमबार वाटफोर्डमा १–० को जित हासिल गर्दै तेस्रो स्थानमा पकड बलियो पारेपछि खेलाडीलाई धेरै नहौसिन सचेत बनाउँदै क्लोपले यस्तो बताएका हुन् । सोमबारको जितपछि क्लोपको लिभरपुल निकट प्रतिद्वन्द्व्री म्यानचेस्टर सिटीलाई तीन अंकले पछि छोड्न सफल भएको थियो । सिटी चौथो स्थानमा भए पनि टोलीले लिभरपुलभन्दा एक खेल कम खेलेको छ । 

३५ खेल खेलिसकेको लिभरपुलले बाँकी खेलमा साउथह्याम्पटन, वेस्ट ह्याम र मिडिल्सब्रोमाथि विजय हासिल गर्न सके आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का हुनेछ । तर क्लोपले अझै धेरै चुनौती कायम रहेको बताउँदै ढुक्क नहुन खेलाडीलाई सचेत पारेका हुन् । 

‘हामी अझै आफ्नो लक्ष्यमा केन्द्रित हुनु जरुरी छ । अरूको नतिजा र अंकतालिका बिर्सेर प्रत्येक तीन खेललाई हामीले छुट्टाछुट्टै रूपमा लिँदै फाइनल जसरी खेल्नुपर्छ,’ जर्मन प्रशिक्षक क्लोपले भने, ‘सिजन नसकिएसम्म हामीमाथि दबाब छ । हामी केही उपलब्धिका लागि प्रतिस्पर्धा गरिरकेका छौं, त्यसैले यो सकारात्मक दबाब हो । त्यसैले हामीले बाँकी खेलमा शतप्रतिशत अंकका लागि आफूले सक्नेजति सबथोक गर्नुपर्नेछ । किनकि त्यो सजिलो छैन ।’

साउथह्याम्पटनले जारी सिजनमा अत्यन्तै राम्रो फुटबल खेलिरहेको बताउँदै उनले थपे, ‘हामीले साउथह्याम्पटनसँग सहजै तीन अंक लिनेछौं भनेर कसैले सोच्छ भने उसले साउथह्याम्पटनको खेल यो सिजनमा हेरेको छैन भन्ने बुझ्नुपर्छ । उनीहरू अत्यन्तै बलियो अर्को टोली हुन् । आजको तीन अंक अब हामीसँग कसैले खोस्न सक्दैन । तर अब हामीले आइतबार साउथह्याम्पटनविरुद्ध हुने खेलका लागि आफूलाई पूर्ण रूपमा तयार राख्नुपर्छ ।’

क्यानले पहिलो हाफको इन्जुरी समयमा उत्कृष्ट भलीमा गोल गर्दै लिभरपुलको तीन अंक पक्का गरेका थिए । लुकास लेइभाको पासमा क्यानले प्रहार गरेको भली घरेलु टोली वाट्फोर्डका गोलकिपर हिउरेल्हो गोमेजलाई कुनै मौका नदिई गोलमा परिणत भएको थियो । 

पछिल्लो १२ महिनादेखि पिडुँलाको चोटबाट मुक्ति पाउन संघर्षरत जर्मन मिडफिल्डर क्यानका लागि यो विशेष गोल थियो, जसको क्लोपले उच्च प्रशंसा गरे । ‘यो गोलबाट उनले सहज महसुुस गर्न सकेनन् भने त्यहाँ केही समस्या छ भनेर बुझ्नुपर्छ । यो अत्यन्तै राम्रो महत्वपूर्ण गोल थियो,’ क्यानबारे क्लोपको भनाइ थियो, ‘उनी एउटा राम्रो खेलाडी हुन् । त्यसैले पिडँुलाको समस्या भए पनि हामीले उनलाई कतै जान दिएनौं । उनलाई यो समयमा खेलाउनु पनि गलत हो भनेर आलोचना भएका थिए, तर हामीलाई उनको आवश्यकता थियो र उनी पनि यसका लागि तयार भए ।’

क्यान शारीरिक र मानसिक रूपमा शतप्रतिशत फिट भइसकेको बताउँदै क्लोपले आगामी दिनमा पनि उनीबाट यस्तै गोलको अपेक्षा गरेको बताए । 
प्लेमेकर फिलिप कौटिन्हो खुट्टाको चोटका कारण १३औं मिनेटमै मैदान छोड्न बाध्य हुँदा लिभरपुलले धक्का बेहोर्नुपरेको थियो । कौटिन्होले मैदान छोडेपछि चोटका कारण एक महिनादेखि आराममा रहेका एडम लालानाले पुनरागमनको मौका पाएका थिए । वाट्फोर्डका एड्रियान मारियाप्पासँग जुध्दा ब्राजिली खेलाडी कौटिन्होलाई लागेको चोटबारे क्लोपले विस्तृत जानकारी गराउन चाहेनन् । तर त्यो पीडादायी भएको उनले बताए । 

हारपछि प्रिमियर लिग अंकतालिकाको १३औं स्थानमा कायम रहेको वाट्फोर्डका प्रशिक्षक वाल्टर माजारीले अन्तिम नतिजाले खेलको अवस्थाबारे साँचो नबोलेको प्रतिक्रिया दिए । ‘लिभरपुलका पछिल्ला खेल हेर्ने हो भने उनीहरूले सधैं ५ वा ६ राम्रा अवसर सिर्जना गर्थे । आज उनीहरूले त्यसो गर्न सकेनन् । हामीले दुईवटा राम्रा मौका सिर्जना गरेका थियौं,’ इटालियन प्रशिक्षक माजारीले भने, ‘समग्रमा आजको खेल निकै राम्रो र प्रतिस्पर्धात्मक थियो । सामान्यतया मलाई भाग्यको कुरा गर्न मन लाग्दैन । तर आज हामीलाई भाग्यले नराम्ररी ठग्यो ।’

प्रकाशित: २० वैशाख २०७४ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App